site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखराविरुद्ध काठमाडौंको पुनरागमन जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा पोखरा थन्डर्सले सुरुआती अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग २–१ को हार बेहोरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले १–० को अग्रता बनाए पनि अन्तिम १० मिनेट सम्हालिन नसक्दा तीन अंक गुमाएको हो । काठमाडौंको पुनरागमन जितमा एन्गुने जुनियर र सोखरुखले गोल गरे । पोखराका लागि आयुश घलानले गोल गरेका थिए ।

५९औँ मिनेटमा आयुश घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । स्टेफन आनोरले करिब २५ यार्ड परबाट गरेका प्रहार काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बचाएका थिए । तर, अन्जलले नियन्त्रणमा लिन नसक्दा सोही रिबाउन्डमा ६ यार्ड बक्सबाट आयुशले गोल गरे ।

तर, ८३औँ मिनेटमा एन्गुने जुनियरले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काएका थिए । दीपेश गुरुङको पासलाई नियन्त्रणमा लिँदै जुनियरले पेनाल्टी बक्सको लाइनबाट गरेको प्रहार बारमा लागेर गोल भएको थियो ।

यस्तै, इन्जुरी समयमा सोखरुखले गोल गर्दै काठमाडौंलाई २–१ को अग्रतामा राखेका थिए । टोजिडिनोभ कोमिवोनले डिफेन्स लाइनबाट निकालेको बल नियन्त्रणमा लिँदै सोखरुखले राइट साइडबाट ‘फस्र्ट टच’ गोल गरेका थिए ।

सोखरुखको यही गोल निर्णायक बन्दा काठमाडौंले तीन अंक सुनिश्चित गर्दै तालिकाको शीर्ष चारमा स्थान पक्का गर्यो ।

त्यसअघि खेलमा दुवै टिमले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको १४औँ मिनेटमा पोखराका मोसेस त्वमको प्रहारले पोस्टको दिशा लिन सकेन । आयुश घलानले दिएको बल लेफ्ट साइडबाट अघि बढाउँदै १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार काठमाडौंका कप्तान अञ्जन राईबाट ‘डिफ्लेक्ट’ हुँदा सेकेन्ड बार नजिकैबाट बाहिरियो ।

२९औँ मिनेटमा काठमाडौंका सोखरुखले १८ यार्ड बक्सबाहिरबाट गरेको फ्रिकिकलाई पोखराका गोलकिपर प्रिसो एन्जांगाले बचाएका थिए ।

३४औँ मिनेटमा काठमाडौंका आन्द्रेस नियाले गोललाइनबाट बल क्लियर गर्दै टिमको खतरा टारे । आयुश घलानले निकालेको थ्रु बललाई त्वमको ‘आउट साइड’ प्रहार सेकेन्ड बारको गोललाइनतर्फ अघि बढे पनि नियाले त्यसलाई क्लियर गरेपछि पोखराले अग्रता बनाउन सकेन । सोही कर्नरमा त्वमले गरेको हेडर काठमाडौंका राजिव लोप्चनले पुनः गोललाइनबाट क्लियर गरेपछि पोखराले अग्रताको अर्को अवसर गुमायो ।

८२औँैं मिनेटमा पोखराका मोसेस त्वमको प्रहार काठमाडौंका गोलकिपर अन्जलले मुश्किलले बचाए । जोए आइडुले मध्यभागबाट निकालेको बल नियन्त्रणमा लिएर काउन्टरमा अघि बढाउँदै पेनाल्टी बक्सबाट गरेको प्रहार अन्जलले विफल बनाएका थिए ।

जितसँगै पाँच खेलबाट आठ अंक जोडेको काठमाडौं तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अंक जोडेको पोखरा तालिकाको तेस्रो स्थानमा यथावत् छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro