काठमाडौं । मैदान पूरै भावविह्वल थियो । कुनै ठूलो दुर्घटनामा आफ्नो सबैभन्दा नजिकको साथी गुमाएजस्तै ।
कप र अन्य चिजहरू छरपस्ट थिए, प्यारापिटमा प्लास्टिकका कुर्सीहरू च्यातिएका थिए, अनौठो रूपमा त्यहाँ शौचालय सिट पनि थिए । खेलको अन्तिम सीटी बजाएको आधा घण्टा भइसकेको थियो । मैदान सयौँ वस्तुहरूले भरिएको थियो । ती सबै गहिरो चोट र क्रोधका सूचक थिए ।
यो दृश्य हो, साओ पाउलोस्थित ब्राजिलियन क्लब सान्तोस एफसीको घरेलु मैदान स्टाडियो उर्बानो काल्डेरिया (बेल्मिरो रंगशाला)को । त्यस समयसम्म धेरै समर्थकले मैदान छोडिसकेका थिए । त्यसमध्ये कोही घर लागे, कोही प्रहरीसँग झगडा गर्नतर्फ । सडक जलिरहेको कार र अश्रुग्यासको धुवाँले भरिएको थियो । मैदानमा रहेकाहरू भने एकै नारा लगाइरहेका थिए ।
‘टाइम सेम भर्गोन्हा’ उनीहरूको नारा यो थियो, अर्थात ‘लाज नभएको टिम ।’
ब्राजिलियन फुटबलमा यो दृश्य अनौठो होइन । फुटबलले ल्याउने तरंग त्यहाँको दैनिक जीवनी नै बनेको छ । तर, यो केही फरक आवाज थियो ।
बेल्मिरो रंगशालामा उपस्थित दर्शक एक हारको मात्र साक्षी बनेका थिएनन्, एक ऐतिहासिक घटनाको प्रत्यक्षदर्शी पनि थिए ।
उनीहरूको टोली सान्तोस एफसी स्थापना भएको १११ वर्षे इतिहासमै पहिलो पटक शीर्ष डिभिजन लिगबाट रेलिगेसनमा पर्यो । अर्थात शताब्दी लामो इतिहास बोकेको सान्तोस दोस्रो डिभिजनमा घटुवा भयो ।
यो तरंगले ल्याएको झट्का मैदानमा मात्र सीमित थिएन, साओ पाउलो प्रान्तको समुन्द्र नजिकको सहरभरी यसलाई महसुस गर्न सकिन्थ्यो । साओ पाउलोको यो त्यही सहर हो, जसको नाममा क्लब स्थापना भएको थियो । सान्तोस ब्राजिलकै सबैभन्दा ठूलो क्लबमध्येमा पर्ने टिम होइन । तर, उनीहरू सबैभन्दा ठूलो इतिहास बोकेको क्लबमध्येको एक हो । ब्राजिलमै सबैभन्दा मन पराइने क्लबमध्येको एक । यसको श्रेय फुटबलले पाएको महान् खेलाडी पेलेलाई पनि जान्छ । जसले सान्तोसकै खेलाडीको रूपमा ब्राजिलबाट तीन विश्वकपको उपाधि चुमे ।
“मैले यस्तो हुन्छ भन्ने कहिल्यै सोचेको थिइन,” खेल जीवनपछि चर्चित कोलमिस्ट बनेका ब्राजिलका पूर्वफरवार्ड वाल्टर कासाग्रान्डेले लेखेका छन्, “यो फुटबल मन पराउने सबैका लागि ठूलो झट्का हो । विश्वभरी नै सबैको मनमा सान्तोसले राम्रो स्थान बनाएको छ ।”
पेलेका पूर्वसहकर्मी तथा सान्तोसका चर्चित खेलाडीमध्येका एक पेपेले यो घटनालाई विश्वासै गर्न सकेनन् । “अविश्वसनीय । म सोच्थे, हामीलाई फुटबलका भगवानले बचाउनेछन्,” उनले इन्स्टाग्राममा आफ्नो भावना यसरी पोखेका छन् ।
सान्तोसको गीतमा एक पंक्ति छ । जसले क्लबलाई पछ्याउने समर्थकहरूका लागि सान्तोस के हो भन्ने देखाउँछ ।
“यो मेरो हाँसो, आँशु र भावनाको कारण हो,” गीत यसरी अघि बढ्छ, “खम्बामा रहेको झन्डाले यसको इतिहास देखाउँछ, उत्कृष्ट विगत र वर्तमान ।”
सान्तोसको उत्कृष्ट विगतमा पक्कै पनि कुनै विवाद छैन । सन् १९५० दशक र विशेषगरी १९६० को दशकमा सान्तोस ब्राजिलकै सर्वशक्तिशाली क्लब थियो । १९६१ देखि १९६५ सम्म सान्तोसले लगातार पाँच पटक राष्ट्रिय च्याम्पियनसिप, दुई पटक कोपा लिबेर्टाडोरेस, दुई पटक इन्टरकन्टिनेन्टल कप र चार पटक स्टेट च्याम्पियनसिपको उपाधि जितेको थियो ।
अचम्मै लाग्ने सफलताको लय घर र घरबाहिर पनि उस्तै थियो । केही वर्षसम्म उनीहरूले प्रदर्शनी खेलका लागि विश्व भ्रमण गरे । एसियादेखि युरोप र अमेरिकी महाद्धिप । सान्तोस ब्राजिलका निम्ति पनि भ्रमण गरिराख्ने प्रचार थियो । दर्शकका निम्ति मैदानमा ‘जग्लिङ’ गर्ने खेलाडीहरू खुसीका राजदूतजस्तै थिए ।
सान्तोस नै ब्राजिलियन टिमको पूरक थियो । टिममा पेले थिए, उनीसँगै पेपे, जिटो, कौटिन्हो, क्लोडोल्डो, कार्लोस अल्र्बेटो, माउरो रामोस पनि थिए । सन् १९६२ को विश्वकप ब्राजिलले जित्दाका २२ खेलाडीमध्ये सात खेलाडी बेल्मिरो रंगशालाका थिए । अन्य क्लबका समर्थकहरू सान्तोसको प्रशंसामात्र नभई उनीहरूप्रति कृतज्ञ समेत थिए ।
पेलेको सुन्दर कार्यकालपछि भने सान्तोसको सफलता दशकौसम्म रोकियो । सन् १९६८ पछि उनीहरूले दुई राष्ट्रिय उपाधि र एक पटक कोपा लिबर्टाडोरेसको उपाधि जितेका छन् । पछिल्लो समय नेइमार, रोड्रिगो र रोबिन्होजस्ता प्रतिभावान खेलाडी उत्पादन गरे पनि सान्तोसले सन् १९६० को दशकको सफलतालाई दोहोर्याउन भने सकेन । समर्थकको गुनासो पनि यही थियो ।
यी सबै निराशहरू बुधबार अपराह्न छरपस्ट भए । जब फोर्टालेजासँग २–१ को हारपछि सान्तोसको दर्जा दोस्रो श्रेणीमा झर्यो । “यो विश्व फुटबलकै सम्पदाविरुद्धको अपराध हो,” कासाग्रान्डेले आफ्नो आक्रोश यसरी पोखे ।
क्लब अध्यक्ष एन्ड्रेस रुएडाले २०२१ को सुरुआतमा पदभार ग्रहण गरेदेखि, सान्तोस अव्यवस्थित सोच, छोटो अवधिवाद र अनियमित नीतिको पर्यायवाची बनेको छ ।
सन् २०२१ र २०२२ मा मिड–टेबल फिनिशले ती असफलताका कारकको मुख छोपेको थियो । तर, यस सिजनको नतिजाले उनीहरूको अव्यवस्थितता र अनियमिततालाई उदांगो पारिदियो । ब्राजिलियन सिरी ‘ए’ को एकै सिजनमा सान्तोसले चार फरक प्रशिक्षक परिवर्तन गरेको थियो । त्यसमध्येका सबै पछिल्लो पटकको भन्दा निक्कै फरक थिए ।
“यो निकै कमजोर टोली हो,” सान्तोसका हरेक गतिविधिलाई समेट्ने ब्राजिलियन सञ्चारकर्मी ब्रुनो लिमाले भने, “केही समयका लागि उनीहरूको स्तर निकै तल्लो थियो । उनीहरूले खराब खेलाडीमा धेरै पैसा खर्च गरे । रुएडालाई क्लब कसरी चलाउने भन्ने सामान्य ज्ञान समेत छैन । उनी फुटबल बुझ्दैनन् ।”
उनको आरोप केही हदसम्म जायज पनि छ । सिजनको सुरुआती १८ खेलमा सान्तोसले १९ अंकमात्र जोडेको थियो । सहायक प्रशिक्षकबाट अन्तरिम प्रशिक्षकमा बढुवा भएका मार्सेलो फर्नान्डेजले यसलाई सुधार्ने प्रयास नगरेका होइनन् । तर, फ्लुमिनेन्स र एथलेटिको परानान्सेसँगको फराकिलो पराजयसँगै अन्तिम खेलमा फोर्टालेजाविरुद्ध ठक्कर खाँदा सान्तोस महत्त्वपूर्ण क्षणमा इन्धन सकिएको सवारीजस्तो देखिन्थ्यो ।
“हामी आफ्नो उत्कृष्ट दिनेछौँ,” बुधबारको खेलअघि फर्नान्डेजले भनेका थिए, “सान्तोस तल झर्दैन ।” रेलिगेसनबाट जोगिन अन्तिम खेलको नतिजा कुरिरहेका भास्को डा गामा र बहियसँग अंकको अग्रता रहँदा पनि सान्तोसले फर्नान्डेजको प्रतिक्रियालाई वास्तविक बनाउन सकेन । र, अन्तिममा डा गामा र बहियसँग पछि पर्दै सान्तोस १७औँ स्थानमा रहेर रेलिगेसनमा पर्यो । ब्राजिलियन सिरी ‘ए’ मा १७औँदेखि २०औँसम्मका टिम घटुवा हुने प्रावधान छ ।
रुएडाको कार्यकाल सान्तोसको इतिहासमै अप्रत्यासित रह्यो । उनको कार्यकाल शनिबार समाप्त भएको छ । यसले क्लबका समर्थकलाई केही सान्त्वना पक्कै दिनेछ । साओ पाउलो र फ्लामेंगोबाहेक ब्राजिलका सबै शीर्ष क्लबहरू घटुवा भएका छन्, जसमा सान्तोस नयाँ अनुभव लिने टिम बन्दैछ । र, यस शताब्दीमा घटुवा भएका सबै क्लबले राम्रैसँग पुनरागमन समेत गरेका छन् ।
सान्तोसले तत्कालै शीर्ष लिगमा पुनरागमन गर्ला ? यसको जवाफ तत्कालै असम्भव छ । सान्तोसमा निराशाका लागि धेरै कुराहरू छन् । त्यसमध्येको एक हो, क्लबको आर्थिक स्थिति । सान्तोस अहिले ७०० मिलियन ब्राजिलियन रेएस (१४२ मिलियन अमेरिकी डलर) ऋणमा छ । अहिले दोस्रो डिभिजनमा झर्दा क्लबको आर्थिक स्थितिमा सुधार हुने छाँटकाँट देखिँदैन । र, अर्को उनीहरूको एकेडेमी हो । लामो समयसम्म आरामको कम्बल (सिरक) बनेको यो एकेडेमी अहिले चिन्ताको विषय बनेको छ ।
“क्लबको युवा प्रणाली लयमा छैन,” लिमा भन्छन्, “क्लब आधुनिकरण भएको छैन । एकेडेमीलाई ब्राजिलको अन्य क्लबहरूले उछिनेको छ । जुन क्लबले युवामा लगानी गर्छन् उसैले राम्रो खेलाडी पाउँछ । सान्तोसमा अहिले चम्किन सक्ने कुनै युवा खेलाडी नै छैनन्, जसरी विगतमा हुने गर्दथे ।”
ब्राजिलको सिरी ‘बी’ खास व्यवस्थित छैन । सान्तोसका खेलाडीले अब आठ महिना यही बिताउनेछन् । जहाँ कुनै रौनक छैन । छ त केवल धराप मात्रै । सान्तोसलाई अहिले यही स्थितिले कुरिरहेको छ । त्यसैकारण क्लब रेलिगेसनमा पर्दा सान्तोस सहरमा कारहरू जलिरहेका थिए । त्यसैकारण समर्थकका आँखा आँशुले भरिए ।
“यसमा एउटामात्रै कुराले सान्त्वना दिइरहेछ,” ब्राजिलियन कोलमिस्ट जुका के फोउरी लेख्छन्, “र, त्यो हो, सान्तोसको यो अवस्था हेर्न पेले अहिले हामीमाझ छैनन् ।”