काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले तदारुकता नदेखाएको आरोप लगाएका छन् ।
शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भने पनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताए । उनले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउन सकिने भन्दै ओलीले सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए ।
सरकारले सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने ल्याकत राख्नुपर्ने बताए । उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा राख्न नसक्ने कुरा देशप्रतिको बेइमानी भएको टिप्पणी गरे ।
“एयरपोर्ट आफ्नै जमिनमा बनेको हो, आफ्नै जमिनबाट उडाउने र ल्यान्ड गर्ने हो । के समस्या छ ?,” उनले भने ।
अध्यक्ष ओलीले विकासमा कुनै पनि नेपाली भू–भाग पछि पर्नु नहुने धारणा राखे ।