काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेको १५ वर्ष पुग्यो । त्यसलाई संस्थागत गर्नेगरी संविधान आएको आठ वर्ष पूरा भएको छ ।
संविधान कार्यान्वयन गर्ने गरी चुनाव भएको पनि छ वर्ष भइसकेको छ । तर, संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने नेताहरू भने पञ्चायतविरुद्ध आन्दोलन गरी आएका र ०४८ सालपछि संसदीय राजनीतिमा उदाएका नेताहरू नै हाबी छन् ।
०६२/०६३ मा प्रमुख दलका नेताहरूले आफूहरूले ०४८ देखि अनेकन जिम्मेवारीमा रहँदा कतिपय गल्तीहरू गरेको र ती गल्ती भविष्यमा नदोहोर्याउने प्रतिबद्धता जनाएपछि आन्दोलनमा नागरिकको साथ मिलेको थियो ।
तर, त्यसपछिका चुनावबाट सरकार बनाउने र सरकारबाट आफ्नो स्वार्थ पूरा गर्ने शृङ्खला भने उनीहरूले छोडेका छैनन् । त्यही कारण नागरिकबाट प्रमुख तीन दलका नेताहरूविरुद्ध मात्र होइन समग्र दलहरूमाथि नै चर्को असन्तुष्टि प्रकट भइरहेको छ ।
०६२/६३ को जनआन्दोलनपछि १२ पटक सरकार हेरफेर भइसक्यो । तर, न त राजनीतिक खेलाडीहरूले नागरिकसँग गरेको त्यो वाचा सम्झिरहेका छन् न त राष्ट्रको हितमा काम भइरहेका छ भनेर आशा नै जगाउन सकेका छन् । त्यहीकारण नागरिकममा प्रमुख दलप्रति असन्तोष बढिरहेको छ ।
यस्तो असन्तोष नागरिकमा मात्र सीमित छैन । स्वयम् दलहरूभित्रै पनि नेतृत्वप्रति चरम असन्तोष बढेको छ । तर, दलभित्रको असन्तोष प्रमुख नेताहरूले शक्तिको आडमा दबाउने काम गरिरहेका छन् । पार्टीभित्र त्यस्ता असन्तोषका आवाज बहुमतले दबाइरहेको छ भने केही बाहिर आएका आवाजलाई पनि भरौटेहरूका तर्कले स्थापित हुन दिइरहेको छैन ।
असन्तोषका आवाजलाई पार्टी नेतृत्व निकटका नेताहरू भने पूर्वाग्रह र गलत नियतका अभिव्यक्तिका रुपमा अर्थ्याएर नेतृत्व ठीक रहेको दलिल पेश गरिरहेका छन् । एमालेमा नेतृत्वको बचाउमा लाग्ने नेताहरूको बाहुल्यता छ ।
उनीहरू कुनै राजनीतिक पहिचान र संगठन नभएका दुर्गा प्रसाईं जस्ताले थालेका आन्दोलनको प्रतिकारमा आन्दोलन निकाल्नेदेखि केपी शर्मा ओलीको नेतृत्व अझै १० वर्ष आवश्यक रहेको अभिव्यक्ति सार्वजनिक रुपमै दिइरहेकै छन् ।
उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुव्वा गुरुङले त प्रदेश महाधिवेशनकै क्रममा अझै दुई अधिवेशन वा दश वर्ष केपी शर्मा ओलीका नेतृत्वमै एमाले अघि बढ्ने घोषणा गरेका छन् । उनीहरूले रणनीतिक रुपमा आफूलाई सुरक्षित गर्न त्यसो भनेको कतिपयको बुझाईलाई पौडेल स्वयम् भने स्वीकार गर्दैनन् ।
उपमहासचिव गुरुङ पनि ओलीको विकल्पमा नेतृत्व नै तयार नभएको तर्क गर्दै ओलीको विकल्पमा नेतृत्व गर्ने नेता देखाइदिन आग्रह गर्र्छन् । एमालेको प्रदेश महाधिवेशनमा भएको ओली समूहविरुद्ध संघर्ष देखियो । त्यसलाई एमालेकै कतिपय नेताहरू भने ओलीविरुद्ध भइरहेको ‘भूमिगत संघर्ष’का रुपमा बुझिरहेका छन् ।
उनीहरू ओलीविरुद्ध कसको आड भरोसामा नेताहरू उभिइरहेका छन् भन्ने बताउन चाहँदैनन् । तर, उनीहरू सीपी मैनालीले नेतृत्व हाक्न नसकेपछि ०३५ देखि ०३९ सम्म पार्टीभित्रै उनको नेतृत्व असफल भएको देखाउन अघोषित संघर्ष चलेको सम्झँदै ओलीविरुद्ध पनि त्यस्तै भइरहेको बताउँछन् ।
“समय आएपछि ओलीविरुद्ध को लागिरहेको छ, त्यो सार्वजनिक हुन्छ नै, मलाई भन्न नलगाउनुस्,” एमालेका एक नेता भन्छन्, “त्यतिखेर ओलीलाई साथ दिएकाहरू ओलीविरुद्ध उभिनेछन् ।”
एमालेकै अर्का नेता भने आफ्नो निर्वाचन क्षेत्रको वडा समेत जिताउन सक्ने हैसियत नभएकाहरूको घेरामा ओली रहेको जिकिर गर्छन् । अर्काले बजाएका संगीतमा ओलीको भिडियो राख्ने, अरुले गाएको गीतमा नक्कल गर्ने जस्ता विषय नेताका लागि शोभनीय नभएको उनको बुझाई छ ।
जग भएको नेता प्रवेश ग¥यो भने आफ्नो ‘स्पेस’ हुँदैन भन्ने ठानेर अरुलाई ओलीकहाँ प्रवेश निषेध गरेको ठान्नेहरू पनि एमालेमा बढ्दै गएका छन् । ‘‘कमरेड ओली पनि अन्तिम राजा ज्ञानेन्द्रजस्तो उनीहरूले भनेका कुराहरूलाई सत्य मानेर हिँडिरहनुभएको छ,” ती नेताले बाह्रखरीसँग भने, “उहाँ अरुले बजाइदिएको संगीतमा कपी गर्नुहुन्छ । अरुले गाएको गीतमा नक्कल गर्दै भिडियो बनाउनु हुन्छ ।”
उनी त्यो भन्दा पनि गलत काम पनि ओलीबाट भइरहेका दावी गर्छन् । “नेताले त विचौलिया र फटाहाहरूलाई विधिवत् रुपमा निरुत्साहित गर्दै समाजको कमजोर पक्षलाई माथि उढाउनुपर्ने होइन र ?,” ती नेताले बाह्रखरीसँग भने, “तर, उहाँ सडकमा मकै पोल्दै गरेकी महिलासँग एक घोगा किनेर हजार रुपैयाँ दिनुहुन्छ । गरिबलाई लत्ताकपडा किन्न सहयोग गर्नुहुन्छ । तर, घरमा कस्ता मान्छेको प्रवेश हुन्छ र उनीहरूलाई प्रवेश दिइनु हुन्छ या हुँदैन भन्ने तर्क कसैले गर्यो भने उहाँका भरौटेहरू त्यसलाई नै प्रवेश निषेध गरिदिन्छन् ।”
कांंग्रेस ०४८ का गृहमन्त्री र ०५२ देखिका प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा छ । कांग्रेसमा छैटौ पटक देउवालाई प्रधानमन्त्री बनाउने र नेतृत्व फेर्नेहरूबीच संघर्ष चलिरहेको छ ।
नेतृत्व फेर्ने पक्षले कांग्रेसप्रति नागरिकमा आशा फर्काउन देउवाको बर्हिगमनको तर्क अघि सारेको छ । तर, देउवाका निकटवर्तीहरू देउवाको विकल्प देखिरहेका छैनन् ।
सभापति देउवाको केन्द्रीय समितिमा प्रचण्ड बहुमत छ । उनीसँग निकट हुँदा थप लाभ लिन पाइने लोभले उनको पक्षमा लागेका छन् । तिनीहरू देउवालाई ०८३ सम्म पार्टी सभापति बनाउने, प्रचण्डपछि प्रधानमन्त्री बनाएर लाभ लिने र ०८४ सालको निर्वाचनको टिकटसमेत देउवाबाटै लिने दाउमा छन् ।
उनीहरू प्रधानमन्त्रीका रुपमा देउवाको भूमिका अझ बढी हुने भएकाले आफ्नो पक्षको अस्तित्वका लागि देउवाको उपस्थिति अनविार्य ठानिरहेको स्वयं देउवा पक्षका नेताहरू नै अनौपचारिक रुपमा बताउने गर्छन् ।
“मलाई ०८२ भित्र कांग्रेसको महाधिवेशन हुन्छ भन्ने विश्वास लाग्दैन । किनभने विगतमा पनि सार्वजनिक रुपमा चाँडो महाधिवेशन गर्नुपर्छ भन्ने पदाधिकारीहरूभित्र त्यस्तो देखिँदैनथ्यो,” देउवा निकट ती कांग्रेस नेताले बाह्रखरीसँग भने, “यतिखेर त विशिष्ठ अवस्था छ । देउवा पार्टी सभापति भएर प्रधानमन्त्री बन्नुहुन्छ । प्रधानमन्त्रीमै रहेर महाधिवेशन गराउनुहुन्छ । सके अनुकूल नेतृत्व पनि ल्याउनु हुन्छ, नसकेपनि ०८४ को चुनावको टिकटमा उहाँ नै हाबी हुने निश्चित छ ।”
ती नेताका अनुसार, यही बुझाईका कारण अधिकांश देउवालाई खुशी पार्ने काममा लागिरहेका छन् । संस्थापनइतर पक्षले पनि यही बुझेर ०८२ भित्रै नेतृत्व परिवर्तन गर्न सके मात्र आफनो पकडमा पार्टी रहने भएकाले मेहनत गरिरहेको छ ।
“महामन्त्रीहरूले ‘अर्ली’ महाधिवेशन भन्दै हिँडेको देखेर तपाईं भ्रममा नपर्नुस् कि उहाँहरू ‘अर्ली’ महाधिवेशनको पक्षमा हुनुहुन्छ । उहाँहरू अर्ली महाधिवेशन गरेर बन्ने के हो ? त्यही महामन्त्री वा उपसभापतिको उम्मेदवार होइन ?,” प्रश्न गर्दै ती नेताले भने, “उहाँहरूले बोलिरहेको कुरा सभापतिविरुद्ध छु भनी देखाउने र कार्यकतामाझ लोकप्रिय बन्ने मात्रै हो ।”
ती नेताले समयमै महाधिवेशन गर्ने भनाईमा प्रशन उठाए पनि महामन्त्री गगन थापा भने सार्वजनिक रुपमा ०८२ सालभित्रै महाधिवेशन गर्ने र नेतृत्व परिवर्तनसँगै नीतिगत सुधार पनि गर्ने बताइरहेका छन् । थापाले नेपाली कांग्रेसले केन्द्रबाट उमेदवारलाई टिकट दिने अभ्यास अन्त्य गर्दै कार्यकर्ताले नै उमेदवार छान्ने प्रस्ताव अघि सारेका छन् ।
“नेपाली कांग्रेसको विधानमा जुन संसदीय समिति भन्ने व्यवस्था छ त्यसलाई हटाऔं । प्युठानको नेपाली कांग्रेसको सांसदको उमेदवार को हुने, प्युठानका हजारौ साथिहरुले जसलाई छान्छ त्यो हुने, किन गर्न नसक्ने यो ? बुटवलको मेयर को हुने, बुटवलका कांग्रेसका साथिमहरु बस्नुहुन्छ, छान्नुहुन्छ, जसलाई छान्नुहुन्छ त्यो हुने,” थापाले लुम्बिनी प्रदेश महाधिवेशनको उद्घाटनमा भने, “गर्दै गर्दै जाने, ०८२ सालमा महाधिवेशन गर्ने र महाधिवेशनबाट नयाँ व्यवस्था लिएर जाने । ०८२ सम्म जसले जहाँ पाएको छ त्यहाँको जिम्मेवारी प्रभावकारी बनाउने । वडाध्यक्षले वडाको काम राम्रोसँग गर्ने। प्रदेशको मन्त्रीले प्रदेशमा काम गर्ने सांसदले संसद्मा काम गन । जसले जहाँ पाएको त्यहाँको जिम्मेवारीमा काम गर्ने र कांग्रेस भएकोमा गर्व गर्नसक्ने बनाउने ।”
उनले त्यति काम गरेमा कांग्रेसलाई पुरानो पार्टी भन्ने नयाँ पुस्ता नहुने र कांग्रेसले आफ्नो नभएर देशको भविश्यमा मात्र चिन्ता गर्दा पुग्ने बताए । तर, त्यसो गर्न गणतन्त्रको मुकुट छोप्ने नेताहरुले भने मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।
उनको बुझाईमा सभापतिमा अघिल्लो पटक दोस्रो चरणमा पराजित भएका डा. शेखर कोइरालाको इच्छा भने ०८२ मै महाधिवेशन होस् भन्ने भए पनि उनले मुख खोलेर सभापति देउवालाई चिढ्याउने काम गरिरहेका छैनन् ।
उनले यस्तो यथार्थ बुझेकैले आफू पनि महाधिवेशनको सन्दर्भ उठाएर लोकप्रिय होइन्छ भन्ने बुझाईमा नरहेको बताए ।
“देउवाको विरुद्धमा महाधिवेशन गर्नुपर्छ, सभापतिबाट हट्नुपर्छ वा प्रधानमन्त्री बन्नु हुँदैन भनेर मैले आफ्नो खुट्टामा आफँैले बन्चरो हानौँ ?,” ती नेताले भने, “यो कुरा बुझेर वा देउवाबाट पाउने अन्तिम पटक हो भनेर बुझेर कांग्रेसको ठूलो तप्काले अझै देउवालाई नै खुशी बनाउने प्रयास गर्छ । त्यो तप्का देउवाबाटै ०८४ को चुनावमा पनि टिकट लिएर सुरक्षित हुन्छ ।”
कांगेसका नेता चन्द्र भण्डारी यतिखेर देखिएका विरोधले व्यवस्थाकै विकल्प खोजेको वा नेतृत्व पूर्णतः असफल भएको दुवै मान्न तयार छैनन् ।
उनको बुझाईमा, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा आउने आवाज मसिनो भएको छ, त्यसले व्यवस्थाको विकल्प खोजिएका वा खोज्ने हैसियत बनाएको छैन । पार्टीका शीर्ष नेताहरूका विरुद्धको मत पनि धेरै बलियो बन्न छैन । नेताहरूले गलत गरेका कारण परिवर्तन भने संस्थागत हुनुको साटो गलत बाटोतिर लागेको छ ।’’
दलहरूका लागि नेतृत्व महत्वपूर्ण हुन्छ कि व्यवस्था ?
उनी व्यवस्थाको प्रतिनिधित्व नै नेताले गर्ने भएकाले व्यवस्था र नेतृत्वमा अझ नेतृत्व बढी महत्वपूर्ण हुने बताउँछन् । उनको बुझाईमा “व्यवस्था र नेतृत्व कसलाई जोगाउने भन्ने प्रश्न आइसकेको अवस्था छैन । केही आवाज सुनिएपनि त्यो परिवर्तन गर्नैपर्ने अवस्थासम्म पुगेको भन्ने मिल्ने अवस्था छैन । तर, सबै पार्टीका नेताहरूले संविधान र गणतन्त्रको सम्मान गर्न सकेका छैनन् ।’’
नेताहरूमा दम्भ बढेको कारण व्यवस्थाविरुद्ध र नेतृत्व विरुद्धका आवाज सुन्न बाध्य भएको उनको भनाई छ । “समानुपातिक प्रतिनिधित्व त जसको आवाज छैन, जसको संसदमा पुग्ने पहुँच छैन, तिनका लागि हो । तर, नेताहरूले त्यसको दुरुपयोग गरेर कस्ता मान्छेलाई समानुपातिकबाट ल्याउँदैछन देख्नुभएकै छ,” भण्डारीले भने, “समानुपातिक पटक पटक दोहोरिन होइन र जात वा लिंग वा क्षेत्रका आधारमा सम्भ्रान्तहरूलाई प्रतिनिधित्वका लागि ल्याइएको व्यवस्था पनि होइन ।”
कांग्रेसका पुराना नेता तथा विश्लेषक होमनाथ दाहाल कम्युनिष्ट पार्टीको विशेषता नै नेतृत्वको ‘देवत्वकरण’ गर्ने र ‘शक्ति केन्द्रीकृत’ गर्ने भएको भन्दै पछिल्लो समय कांग्रेसमा पनि त्यही रोग सल्किएको बताउँछन् ।
दाहाल त कम्युनिष्ट पार्टीहरूमा नेतृत्व र संगठन प्राथमिक हुने तर, लोकतन्त्रमा विश्वास गर्ने दलको नागरिक र राष्ट्रप्रति विश्वास हुनुपर्ने भन्दै कांग्रेसको अहिलेको अवस्थाले चिन्ता बढाएको बताउँछन् ।
“दुनियाँका कम्युनिष्ट पार्टीहरू नेतृत्वको अधिनायकत्वमै शत्तिशाली भएर समाप्त पनि भएका छन् । उनीहरू लोकतान्त्रिक पद्धतिमा चलेको र त्यो व्यवस्थाले देशलाई राम्रो गर्छ भन्ने बहस मैले सुनेको÷पढेको छैन,” दाहालले बाह्रखरीसँग भने ।
उनी नेपाली कांग्रेसमा देखिएको अवस्थाले देशको भविश्यलाई चिन्तामा धकेलिदिएको बताए । “कांग्रेसले त देश र जनताको विश्वास बचाएर लोकतन्त्रको अभ्यास गर्ने हो । उसले आफूलाई कम्युष्टि पार्टीसँग तुलना गर्ने वा पार्टी संगठन वा नेता विशेषको चिन्ता बोकेर हिँड्ने हुँदै होइन,” दाहालले भने ।
उनी लोकतान्त्रिक शक्ति भनेको कांग्रेस मात्र भएको उल्लेख गर्दै लोकतान्त्रिक शक्ति कमजोर भयो भने त्यसले लोकतन्त्रलाई संकटमा पार्ने बताउँछन् । दाहालले भने, “यी संकट आउन नदिन कांग्रेसीहरू जिम्मेवार बन्न आवश्यक छ ।”
विश्लेषक डा. विष्णु दाहालले भने व्यवस्था र नेतृत्व सँगसँगै आउने विषय भएको भन्दै अहिलेका नेताहरूको व्यक्तित्वले नेतृत्वको भाव बोक्न नसक्ने बताए ।
“समाजविज्ञानमा व्यवस्था भनेको एजेन्सी हो । नेतृत्व भनेको डेलिभरी दिने एजेण्ट हो । नेता गतिलो भयो भने मात्र व्यवस्थाको गरिमा र त्यसप्रतिको नागरिक विश्वास बढेर जाने हो,” डा. दाहालले बाह्रखरीसँग भने, “तर, यो व्यवस्थामा जे पनि गर्न पाउनुपर्छ भन्ने सोच नेताहरूमा देखिँदा व्यवस्था बदनाम बनिरहेको छ ।” उनको बुझाईमा, कुनै पनि व्यवस्था आफैँमा राम्रो वा नराम्रो हुँदैन । तुलनात्मक रुपमा राम्रो व्यवस्थालाई नेताहरूले बदनाम गरेका हुन् । नेतालाई कार्यकर्ताले नै धम्क्याउन थाले भने या त नेता विस्थापित हुन्छन् या त सुध्रिन्छन् ।”