site stats
बाह्रखरी :: Baahrakhari
विचार
'स्नेक प्लान्ट'प्रति नेपालमा बढ्दो आकर्षण

'स्नेक प्लान्ट' अर्थात् नेपालीमा 'सर्प बिरुवा' नेपालमा लोकप्रिय हुँदै गएको छ । घरघरमा र कार्यालयहरूमा समेत 'मनी प्लान्ट' (पोथोज) जस्तै यो स्नेक प्लान्ट पनि जनजीब्रोमा बसिसकेको छ ।  सर्पजस्तै देखिने हुँदा यसको नाउँ स्नेक प्लान्ट राखिएको हो । यसको वैज्ञानिक नाउँ 'सान्सेभिएरिया ट्राइफासियाटा' हो । यसलाई सासुको जिब्रो (मदर इन ल टङ्) प्लान्ट, सेन्ट जर्जको तरवार, भाइपर्स बोस्ट्रिङ हेम्प भनेर पनि पुकारिन्छ । यसलाई आजकाल 'बेडरुम प्लान्ट' पनि भन्न थालिएको छ । एकपटक रोपेपछि वर्षौसम्म आकर्षक रहने यसको विशेषता हो । 

स्नेक  प्लान्टको उत्पत्ति अफ्रिकामा भएको हो । उष्णकटिबन्धीय पश्चिम अफ्रिका यसको रैथाने क्षेत्रका रूपमा परिचित छ । विशेषगरी पूर्वी र दक्षिणी अफ्रिकामा यसको विकास भएपछि क्रमशः यो विश्वव्यापी हुन गयो । विश्वका विभिन्न वनस्पति समूहले यसलाई विविधताकासाथ नयाँ नयाँ रूप र स्वररूपमा ल्याएका कारण अहिले यो प्लान्ट सङ्कलकहरूका लागि नयाँ आकर्षक बन्न गएको हो । 

तरबार आकारको हरियो र पहेँलो पात नै यस बिरुवाका विशेषता हुन् । पहेँलो किनारा भएको लौरेन्टी र साधारण हरियो हन्नी दुईबाहेक पनि यसका धेरै प्रजाति छन् ।  यो स्नेक प्लान्ट बढीमा चारफिट अग्लोसम्म हुने गर्छ । पैंतीस लाख वर्षअघि सर्वप्रथम यो प्लान्ट अफ्रिकामा अस्तित्वमा भएको वानस्पतिविद्हरूको कथन छ । अफ्रिकाको सुख्खा क्षेत्रमा पनि यी बिरुवा बाँच्ने गरेका छन् । यसबाट पुष्टि हुन्छ यो बिरुवा सुख्खा क्षेत्रमा पनि सजिलै हुर्काउन सकिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समयको अन्तरालसँगै यो बिरुवा अहिले विश्वका कुनाकुनासम्म पुगिसकेको छ ।  अपेक्षाकृत अन्य बिरुवाको तुलनामा यो बिरुवा ढिलो बढ्छ र छिप्पिन वा परिपक्व हुन झन्डै तीनदेखि पाँच वर्षसम्म लाग्छ । अफ्रिका महादेशबाट उत्पत्ति भएको यो बिरुवामा वनस्पतिशास्त्रीहरूले विभिन्न अनुसन्धान गरी टिस्युकल्चरको माध्यमबाट विभिन्न प्रजातिहरूमा द्रूत गतिमा विकसित गरी यसलाई विश्वव्यापी बनाउन सहयोग गरेका छन् । 

प्रकार
विश्वमा वनस्पतिविद्हरूले यस बिरुवालाई विभिन्न ७० प्रजातिमा विकसित गर्न सफल भएका छन् । तीमध्ये लौरेन्टी, गोल्डेन फ्रेम, गोल्डन हनी (वर्ड नेस्ट स्नेक प्लान्ट), ट्युस्टेड सिस्टर, ब्ल्यक गोल्ड, रोबुस्टा, फ्युचर सुर्पवा, ब्ल्यक ड्य्रागन, ब्ल्याक ज्याक, मुनसाइन, ओसन स्टार, ह्विटिने, बोनसेल, जेड लोट्स, सिल्भर क्विन आदि धेरै चल्तीमा रहेका प्रजाति हुन् । 

गर्मी स्थानमा यो बिरुवा घरबाहिर रोप्दा यसको झ्याङ बाक्लो झाडीमा परिणत भएर रैथाने प्रजातिका बिरुवालाई असर गर्ने हुनाले यसलाई विनाशकारी बिरुवाको रूपमा पनि हेर्ने गरिएको छ । अमेरिकाको दक्षिणपूर्वी राज्य फ्लोरिडा र अस्ट्रेलियाका केही स्थानमा स्नेक प्लान्टलाई विनाशकारी समूहमा राखिएको छ । फ्लोरिडा विश्वविद्यालयले स्नेक प्लान्टलाई जोखिम प्रजातिमा सूचीकृत गरेको छ । यसको बीज चरा र बस्तुभाउले खाई अन्य स्थानमा बिस्ट्याउँदा त्यहाँ पनि उम्रिन्छ । यसलाई समयमै व्यवस्थापन गर्ने भनेको यसका बोटहरू झाँगिएका ठाउँमा नचाहिने बिरुवा भए त्यहाँबाट तुरुन्तै हटाइदिनु उत्तम मानिन्छ ।

1plant-1750303427.jpg

अक्सिजन उत्सर्जन
हावा शुद्धीकरणमा यो प्लान्ट प्रभावकारी ठानिएको छ । हावामा रहेका विषाक्त पदार्थ हटाउने हुनाले यो प्लान्ट राखेको स्थान थप स्वस्थ हुन्छ भन्ने भनाइ छ । यो बिरुवाले २४ सै घन्टा अक्सिजन उत्सर्जन गर्छ । यसले हावामा हुने फार्मेल्डिहायड, बेन्जिन, जाइलिनो र कार्बन मोनोअक्साइड जस्ता बिखालु ग्यास सोसेर वातावरणलाई स्वच्छ बनाउनुका साथै हावासमेत शुद्ध बनाउँछ । 

यसलाई कम हेरचाह चाहिन्छ । अक्सिजन दिने हुनाले विश्वमा यस प्रजातिमा पर्ने सबै बिरुवा अत्यन्त उपयोगी मानिन्छन् । सबैभन्दा बढी अक्सिजन दिने कारणले गर्दा 'स्नेक प्लान्ट'लाई मानिसले शयन कक्षमा राख्ने गरिएको पाइन्छ । हावाको गुणस्तर सुधार गर्न र अक्सिजनको स्तर बढाउन मद्दत गर्ने हुनाले यो बिरुवाको महत्त्व बढ्न गएको हो  ।  

आधुनिक सौन्दर्य 
यी प्लान्टहरूको हातैले कोरेकाजस्ता देखिने कोमल चिल्ला पातहरुले घरको प्रवेशद्वार, घरका कोठाहरू वा शयनकक्षलाई आकर्षक बनाउँछन् । यिनको तरबारजस्ता ठाडा पातहरू र तिनमा रहेका अद्भुत रंगहरूको विविधता र ढाँचाले चाहे घरको भित्री कोठा होस् वा घर बाहिर आधुनिक डिजाइनको झल्को दिन सहयोग गर्छन् । 

उपहार
नेपालमा हुने व्यापारिक कार्यक्रम वा केही सांस्कृतिक कार्यक्रमहरूका बीच वा कुनै व्यवसाय उद्घाटन वा महत्त्वपूर्ण कार्यक्रममा दीर्घ जीवन वा समृद्धिका लागि यो स्नेक प्लान्टलाई उपहारको रूपमा उपहार प्रदान गर्ने चलन क्रमिक रूपमा विकास हुँदैगएको पाइन्छ ।

एलर्जी भगाउँछ  
विषाक्त र प्रदूषक पदार्थहरू अवशोषित गरेर तिनीहरूबाट मानिसमा हुने एलर्जी कम गर्न मद्दत गर्छ र सफा वातावरण सिर्जना गर्छ ।

कीरा प्रतिरोधी 
स्नेक प्लान्टका बिरुवा प्राकृतिक रूपमै किरा प्रतिरोधी हुन्छन् । यसैले घरलाई सजावटका लागि उत्तम मानिन्छ ।

तापक्रम सहनशीलता
तापक्रमको उतारचढावमा पनि यी स्नेक प्लान्टहरू टिक्न सक्छन् भने यिनले वर्षैभर सौन्दर्य प्रदान गरिरहेका 
हुन्छन् ।

वास्तुमा स्नेक प्लान्ट  
नेपालमा नयाँ घर निर्माण गर्दा वास्तुशास्त्र अनुसार बनाउने प्रचलन बढ्दो छ । वास्तुशास्त्रमा विश्वास राख्ने घरधनीहरूका लागि स्नेक प्लान्टको महत्त्व दिनप्रतिदिन बढ्दो छ । घरको कुन कुन स्थानमा राख्दा वास्तुशास्त्रको दृष्टिकोणले लाभदायी हुन्छ भनेर बिरुवाप्रेमीहरूमा जिज्ञासा हुनु स्वाभाविकै हो । वास्तुशास्त्रविद्हरूले यो बिरुवा घरको कुन स्थानमा राख्दा लाभदायक हुन्छ भनेर किटान गरेका छन् । स्नेक प्लान्ट घरको विशेष क्षेत्रमा राख्दा सकारात्मक ऊर्जा, स्वास्थ्य तथा समृद्धिका लागि हितकर छ भन्ने उनीहरुको मान्यता छ । 

विशेषगरी पूर्व, दक्षिणपूर्व वा दक्षिण दिशा र घरको मूल प्रवेशद्वारको नजिक स्नेक प्लान्ट राख्न वास्तुविद्हरूले सिफारिस गरेका छन् । वायु शुद्धीकरण गुण र कम हेरचाह गरे हुनाले वास्तुअनुरूप घरको लागि यस बिरुवालाई उपयुक्त मानिएकोले यसको माग बढ्दो छ । पूर्व दिशामा स्नेक प्लान्ट राख्नाले सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै कल्याण हुन्छ भनिएको छ । दक्षिणपूर्व दिशा धन र समृद्धिसँग सम्बन्धित भएकाले यो बिरुवा दक्षिणपूर्व दिशामा राख्दा धन र समृद्धि प्राप्तिमा सहयोग पुग्ने विश्वास गरिन्छ । यसैगरी दक्षिण दिशा स्थिरता र शक्तिसँग जोडिएको छ र यस बिरुवाका ठाडा पात यी गुणको प्रतीक मानिन्छन् । 

प्रवेशद्वार नजिक स्नेक प्लान्ट राख्नाले स्वागतयोग्य र सकारात्मक वातावरण सिर्जना गर्न मद्दत गर्नसक्छ । शयनकक्षहरूमा स्नेक प्लान्ट राख्दा यसले हावा शुद्ध पार्नुका साथै आरामदायी निन्द्रालाई बढावा दिन्छ । साथै शान्ति र सद्भाव समेत बढाउँछ । उत्तरपूर्व  दिशा वास्तुअनुसार पानीको तत्त्व र धनका स्वामी कुवेरसँग सम्बन्धित हुनाले आर्थिक समृद्धि आकर्षित हुने विश्वास गरिएको छ । ठाडो तरबारजस्ता स्नेक प्लान्टका पातहरूले नकारात्मक ऊर्जालाई टाढा राख्ने र सद्भाव बढाउने काम गर्छ भन्ने मानिन्छ । 

नकारात्मक विचार हटाउन, मुड राम्रो बनाउन, मानसिक स्वास्थ्यलाई राम्रो बनाउन यस बिरुवाले सहयोग गर्ने यसका विज्ञहरु बताउँछन् । यो बिरुवा प्राकृतिक 'ह्युमिडिफायर' पनि हो जुन् घरको सुख्खा वातावरणका लागि अति उपयुक्त हुन्छ । यो बिरुवाले ओसिलोपन दिएर शरीरको छाला र घाँटीलाई सुख्खा हुनबाट जोगाउँछ । शयन कक्षमा यो बिरुवा राख्दा मानिसको निद्रा तालिकामा प्रचुर सुधार आएको भनाइ छ ।

नासा र स्नेक प्लान्ट
प्रारम्भमा स्नेक प्लान्ट अक्सिजन उत्सर्जन गर्ने बिरुवाको समूहमा परेपछि अमेरिकी राष्ट्रिय उड्डयन तथा अन्तरीक्ष प्रशासन (नासा) ले स्नेक प्लान्टलाई चन्द्रमामा राख्न सकिने सङ्केत गरेको थियो । यसपछि विश्वमा यस बिरुवाप्रति सर्वसाधारणको चासो ह्वात्तै बढेको हो । चन्द्रमामा मानववस्ती बसाल्ने क्रममा हावा नछिर्ने बन्द कोठाभित्र मानव जीवन बचाउन यो बिरुवा कति महत्त्वपूर्ण हुन्छ भन्ने अध्ययन तथा अनुसन्धान गर्न नासाले चासो राखेको हो । नासाले अमेरिकाकै ल्यान्डस्केपिङ बिजनेस सेन्टरसँगको सहकार्यमा भित्री वायु प्रदूषण समाधान गर्न घरभित्र बोट बिरुवाको प्रयोगलाई प्रवर्धन गर्ने अभ्यासका क्रममा  एक दर्जन बिरुवाको अध्ययन, अनुसन्धान र परीक्षण गरेको थियो । यस अध्ययनमा घरभित्रको वायुमा बेन्जिन, ट्राइक्लोरोइथिलिन र फार्र्मल्डिहाइडजस्ता विषाक्त पदार्थको उपस्थिति देखियो । यिनलाई अन्य बिरुवाको तुलनामा स्नेक प्लान्टले बढी शोषित गरेको पाइयो ।

सुख्खा वातावरणमा पानी संरक्षण गर्ने यस बिरुवाको विशेषता रहेको छ । रातको समयमा यो बिरुवाका पातमा स्टोमाटा खुल्ने क्षमता भएकाले वाष्पीकरणमार्फत पानी नगुमाई प्रकाश संश्लेषण गर्न तथा ग्यासहरू आदानप्रदान गर्न सक्छ । यसैले स्नेक प्लान्टलाई कोठाभित्र राख्न सबैभन्दा प्रभावकारी हुने मानिएको छ । तर सिल गरिएको कोठामा मानव बाँच्नका लागि यिनीहरूमात्र पर्याप्त छैनन् भनी सो सेन्टरको अनुसन्धान निचोडले खण्डित गरेकाले नासाका वैज्ञानिकहरू चन्द्रमामा यो बिरुवा लैजान असमर्थ भए ।

शयन कक्षमा राख्दाका फाइदा 
राति अक्सिजन उत्पादन गर्ने र हावा शुद्ध गर्ने स्नेक प्लान्टको क्षमताले तिनलाई शयन कक्षका लागि अन्य इन्डोर प्लान्टका तुलनामा उत्तम विकल्पका रूपमा हेर्ने गरिएको छ । निन्द्राको गुणस्तर सुधार गर्ने र एलर्जी कम गर्ने बिरुवाका रूपमा पनि यस बिरुवालाई लिइएको पाइन्छ ।

हावा शुद्ध गर्ने बोटको वर्गीकरण समूहमा यो बिरुवा पर्छ । यसले बेन्जिन, फार्मल्डिहाइड, ट्राइक्लोरोइथिलिन, जाइलिन र टोल्युइन जस्ता विशाक्त यौगिक हटाउने क्षमता राख्छ । यसका पातमा भएका सूक्ष्म छिद्रहरू जसलाई स्टोमाटा भनिन्छ रातमा मात्र खुल्छन् जसबाट सूर्यको तापमा वाष्पोत्सर्जनमार्फत पानीको क्षति सीमित हुन्छ । 

स्नेक प्लान्ट कसरी फुलाउने 
फुल्न थालेपछि यसका फूलमा मीठो भेनिलाको सुगन्धले घरलाई बास्नादार बनाउँछ । स्नेक प्लान्ट फुल्ने कारक तत्त्वलाई यसरी प्रस्तुत गर्न सकिन्छ - 
क.    परिपक्वता 
फूल फुल्न परिपक्व हुनुअघि सामान्यतया यस बिरुवाले निश्चित स्तर पार गर्नुपर्छ । सामान्यतः कम्तीमा तीनदेखि पाँच वर्ष पुगेका बिरुवामात्र फुल्ने क्षमता राख्छन् । यसका विभिन्न प्रजातिमध्ये सान्सेभिएरिया ट्राइफासियाटा हनी र सान्सेभिएरिया सिलिन्ड्रि बढी फुल्ने समूहमा गनिएका छन् । बसन्त ऋतु वा गर्मीको सुरुमा यी बिरुवामा फूल फुल्ने सम्भावना बढी हुन्छ । यस प्रजातिमा पर्ने बिरुवा फूल फुलाउने आफ्नै तालिका अनुसार चल्छन् भन्ने गरिन्छ । त्यसैले फुलेन भनेर निराश हुनु पर्दैन । यो बिरुवा बर्सेनि भने फुल्दैन । उचित प्रकाश, तापक्रम र हेरचाहमै यस बिरुवामा फूल फुल्ने क्षमता बढ्छ ।

ख.    सिँचाई 
स्नेक प्लान्टलाई कम पानी चाहिन्छ । यो पानीविना धेरै सातासम्म सजिलै बाँच्न सक्छ । दुई साता अर्थात् १४ दिनमा एकपटक पानी दिए पुग्छ । पानी धेरै भयो भने जरा कुहिएर यो बिरुवा मर्ने जोखिम हुन्छ । तर जाडो र सुख्खा मौसममा भने पानी दिने सन्तुलन मिलाउन सक्नुपर्छ ।

धेरै पानी हानिकारक हुने भएकाले पानी हाल्ने समयमा गमलाको पानी सुकेको हुनु उचित हुन्छ । यसलाई पानी चाहियो कि चाहिएको छैन भन्ने जाँच्ने सामान्य तरिका हो हातको चोर औँला यो बिरुवा रोपेको गमलामा गाड्ने र सुख्खा छ भने पानी दिनुपर्ने समय हो । जाडो महिनामा यी बिरुवालाई कम पानी दिई जरा कुहिनबाट बचाउनु पर्छ । प्रकाश वा उज्यालोको अवस्था हेरी सिँचाइमा तालमेल मिलाउन सक्नु बुद्धिमानी ठहर्छ । यस्तो तारतम्य मिलाउन सकिएन भने जरा कुहिएर बिरुवा नष्ट हुन्छ । सक्रिय  मौसम (वसन्त र गर्मी) को समयमा स्नेक प्लान्टलाई प्रत्येक दुई सातामा पानी दिनु उपयुक्त हुन्छ । निष्क्रिय अर्थात् जाडो र पतझडको याममा माटो ओसिलो भए महिनामा एक वा कमपटक पानी दिए पुग्छ । 

2plant-1750303427.jpg
 

पानी दिने सबैभन्दा राम्रो समय माटो पूर्णरूपमा सुख्खा हुँदा हो । गमलामा पानी जाने वा हावा छिर्ने प्वाल हुनुपर्छ । बिरुवाको पात पहेँलो वा खैरो हुनु, ओइलाउनु वा बिरुवा नरम लाग्नु पानी धेरै भएको संकेत हुन् । स्नेक प्लान्ट रोपिएको गमलामा पानीको राम्रो निकास छ भने प्लान्टको जरा कुहिँदैन । जरा सड्नबाट रोक्न पानी दिने समयमा बिरुवा रोपिएको गमलाको माटोलाई पूरै सुक्न दिनुपर्छ । 

ग.    पर्याप्त प्रकाश 
यो बिरुवालाई उज्यालो तर अप्रत्यक्ष प्रकाश चाहिन्छ । यसलाई सोझै तातो घाममा राख्नुहुँदैन । यसको बोटलाई न्यानो र ओसिलो वातावरण मन पर्छ भने यसले चिसो तापक्रम सहन सक्छ । सूर्यको प्रत्यक्ष प्रकाश परेमा यसका पातहरू डढ्न सक्छन् । प्रकाशको उचित व्यवस्थापन गर्नाले फूल फुल्ने सम्भावना बढाउन सकिन्छ । यसैले आफ्ना यस्ता बिरुवालाई उत्तरमुखी झ्यालको नजिक वा सूर्यको प्रकाश छानिएर आउने स्थानमा राख्नुपर्छ । यो बिरुवामा देखिने किरा वा ढुसी (फङ्गस) लाई माटोमा निमको झोल हालेर भगाउन सकिन्छ ।

घ.    तापक्रम 
यस बिरुवाले न्यानो तापक्रम मन पराउँछ । घरभित्रको नियमित तापक्रम ५० डिग्री फरेनहाइट वा १० डिग्री सेल्सियसभन्दा कम नहुने स्थिर तापक्रम कायम गर्नुपर्छ ।

ङ.    माटो 
राम्रोसँग पानी निकास हुने हल्का बलौटे मलिलो माटोको समिश्रण यस बिरुवाका लागि उपयुक्त हुन्छ । माटोमा कम्पोस्ट र बालुवा मिसाएर बिरुवामैत्री बनाउन सकिन्छ ।
    
च.    गमलाको आकार 
यस बिरुवाको जरा फैलिन आवश्यक हुने हुँदा बिरुवाका संख्या हेरी अलि मध्यम गमला व्यवस्थापन गर्नु उपयुक्त हुन्छ ।

छ.    मल 
यस बिरुवालाई धेरै मल आवश्यक पर्दैन बारमेबार दिइरहनु पनि पर्दैन । घरमा बनाइएको बोट बिरुवाका प्राङ्गारिक मल नै उत्तम मानिन्छ । सन्तुलित रासायनिक झोल मल पनि प्रयोग गर्न सकिन्छ । वसन्त ऋतु वा गर्मी मौसम र हिउँद यस बिरुवाको बढ्ने समय भएकाले यस समयमा बिरुवालाई प्रत्येक ३—४ महिनामा एकपटक भर्मिकम्पोस्ट, गोबर मल र निमजस्ता सन्तुलित मल दिनु आवश्यक हुन्छ । धेरै मल भयो भने पनि यो बिरुवा भएको गमलमा जराहरु कुहिन सक्छ र नयाँ टुसा पलाउन पनि बाधा पुग्छ ।

ज.    सही बिरुवा छनोट
विश्वमा विभिन्न प्रजातिका स्नेक प्लान्ट चलनचल्तीमा छन् । आफूलाई मनपर्ने बिरुवा छनोट गरी      आफ्नो घरको सौन्दर्य बढाउन सकिन्छ ।

झ.    रिपटिङ्गबाट बच्ने 
बिरुवालाई जस्तो यस बिरुवालाई गमला परिवर्तन गरिरहनु पर्दैन । गमलामा यसका जराहरु गाँजिएको देखिएमा मात्र रिपटिङ्ग गर्नुपर्छ ।

ञ.    बिरुवा उत्पादन वा कलमी
नेपालमा हालसम्म जराबाट आउने टुसालाई छुट्याई नयाँ बिरुवा बनाउने र कलमीबाट बिरुवा बनाउने दुई विधिमात्रै कार्यान्वयनमा छन् । यस बिरुवाको वरिपरिबाट नयाँ टुसा देखिन थालेपछि सो बिरुवा रोपिएको गमलाले नधान्ने अवस्था आउँछ । यसले गमलाको मूल बिरुवालाई पनि पोषणतत्त्व नपुग्ने हुँदा बिरुवा जिङरिङ्ग देखिन सक्छ । यस अवस्थामा बिरुवाका जरासहितका टुसा स्यानिटाइज गरिएको प्लान्ट कटरले छुट्याई अर्को गमलामा रोप्नुपर्छ । यस बिरुवाको नयाँ टुसा जतिरु छुट्यायो त्यति नै पुरानो बोट र नयाँ टुसाबाट बढ्ने बिरुवाबाट समयसँगै त्यति नै मात्रामा नयाँ टुसा उम्रने सम्भावना बढी हुन्छ । 

स्नेक प्लान्टलाई ऊर्जा प्रदान गर्न पुराना र परिपक्व भएका पातलाई समय समयमा काटिरहनु पर्छ । पात काट्दा गमलामा रहेका बिरुवाको एकैचोटि सबै पात काट्नु भने हुँदैन । कलमीका लागि पात काट्दा भरसक क्षतिग्रस्त वा पहेँला पात छनोट गर्न सक्नुपर्छ । सामान्यतः यो बिरुवाको कलमी गर्ने समय वसन्त ऋतु प्रारम्भ हुनेबित्तिक्कै हो ।

यस बिरुवाको छिप्पिएको पातलाई कलमीको रूपमा काटी सिसाको गिलासमा पानीमा डुबाएर केही साता राख्दा जरा पलाउन थाल्छ र रोप्न लायक भएपछि रोप्नु पर्छ । सिधा र 'भी' आकारमा काटिएको गरी दुईथरी कलमी चलनचल्तीमा छन् । कमलो पात कलमीमा राख्दा धेरैजसो कुहिने गर्छ ।

हुनत कसैकसैले माटोमा पनि यसको कलमी रोप्ने गरेका छन् । माटोमा कलमी कुहिने डर धेरै हुने हुँदा सिसाको गिलास वा सिसीमा तलपट्टि १० प्रतिशत मसिनो सफा बालुवा राख्ने । त्यसभन्दा माथिको ३० प्रतिशत भाग सफा ढुँगाको गिटीमा टेक्नेगरी तयार गरिएको कलमी अडाउने । भाँडोको २० प्रतिशत भाग खाली रहने गरी २० प्रतिशत पानी राख्ने । यसरी पानीमा कलमी राख्दा जरा राम्रोसँग विकसित हुने गरेको फूलप्रेमीहरूको अनुभव छ । 

टिस्यु कल्चर प्रविधि 

विदेशमा बिरुवा उत्पादक कम्पनीहरूले टिस्यु कल्चर प्रविधिबाट प्रयोगशालामै स्नेक प्लान्ट उत्पादन गर्ने गरेका छन् । विदेशमा वानस्पतिक क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले लामो समयको प्रयासपछि यस्ता बिरुवामा नयाँनयाँ प्रकार र रंगका संयोजनमा उत्पादन गरिरहेका हुन् । नेपाल भित्रिने यस्ता बिरुवा प्रायः विदेशबाटै आउने हुनाले यिनीको मूल्य चर्को गरेको हो । 

विश्वव्यापीरूपमा टिस्युकल्चर प्रविधिमार्फत यो स्नेक प्लान्ट उत्पादन गरिएको पाइन्छ । नेपालमा चलनचल्तीमा रहेको पात कटिङ्ग (कलमी) र ससाना टुसा विभाजनमार्फत उत्पादनजस्ता परम्परागत विधि अभ्यासमा छन् । विदेशमा टिस्यु कल्चरमा रोगमुक्त बिरुवा उत्पादन, एकैपटक धेरै संख्यामा बिरुवा उत्पादन तथा हाइब्रिड प्रजाति सिर्जना गर्ने व्यापक सम्भावना हुन्छ । 

टिस्यु कल्चर बिरुवाको गुणस्तर सुधार गर्न, आनुवंशिक विविधता संरक्षण गर्न र इच्छित विशेषता एवं नयाँ प्रजाति विकास गर्न प्रयोग गरिएको पाइन्छ । नेपालमा सरकारी क्षेत्रको वनस्पति विभाग भएपनि उसले स्नेक प्लान्ट प्रजातिका बिरुवा टिस्युकल्चर विधिमार्फत हालसम्म उत्पादन गरिएको छैन ।

नेपालमा वनस्पति एवं फलफूल तथा कृषि क्षेत्रका लागि टिस्युकल्चर सम्बद्ध काम गर्ने सरकारी संस्थामा वनस्पति विभागको गोदावरी ललितपुरमा, कृषि विभागको गोदावरी ललितपुरमा, निजी क्षेत्रमा कलपास बायोटेक (काभ्रेको धुलिखेल), फिकस बायोटेक (काठमाडौंको बुढानीलकण्ठ) र झापा (गौरादह), अन्नपूर्ण रिसर्च सेन्टर (काठमाडौं), नेपाल एग्रो बायोटेक एन्ड रिसर्च सेन्टर (ललितपुर, कुमारीपाटी) मा रहे पनि यिनले हालसम्म स्नेक प्लान्ट उत्पादनमा हात हालेका छैनन् ।

मूल्य 
काठमाडौंमा स्नेक प्लान्टको मूल्य यसका प्राप्य र अप्राप्य जातलाई हेरी विभिन्न नर्सरी र बिरुवा उत्पादकले सामान्यतः रु. ५०० देखि २००० सम्म कायम गरेका छन् । विश्वमा उत्पादन गरिएका यी विरुवाहरू प्रायः सबै नेपालमा विदेशबाट आयात गरिएका हुन् ।

स्थानीय नर्सरी वा व्यवसायीले यस्ता बिरुवा आयात गरी तिनलाई करिब तीनदेखि पाँच वर्षको अन्तरालसम्ममा परिपक्व बनाई तिनैको पातको कलमी बनाई बिरुवा उत्पादन गरेर विक्री गर्ने गरेका छन् । नेपालमा यसको माग बढ्दो भएकाले निजी क्षेत्रमा रहेका टिस्यु कल्चर गर्ने कम्पनीहरूले यसको उत्पादन तथा प्रचारप्रसारमा जोड दिनु उचित हुनेछ ।     
(कार्यक्रम निर्देशक, मिडिया प्वाइन्ट)
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्