
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलखण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।
काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बस गए राति (असार ५) बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख एवं प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए ।
विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेका बेला एक्कासि आएको बाढीले बगाएको उनले बताए । “नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो,” प्रहरी निरीक्षक तिमिल्सेनाले भने, “तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।”
बसमा तीन शिशुसहित ३८ यात्रु थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले बताए । यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन । रातभरि परेको पानीका कारण उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।
दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन् । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरेका छन् । रासस