
काठमाडौं । इजरायल र इरानबीचको युद्ध कति लामो चल्ने भन्ने कुरा इजरायलको मिसाइल इन्टरसेप्टरको भण्डार र इरानको लामो दूरीका मिसाइलहरूको स्टकले निर्धारण गर्ने भएको छ । इरानको सम्भावित गेम चेन्जिङ परमाणु कार्यक्रमको भविष्यमा अमेरिकी हस्तक्षेपबाहेक यी दुई कुरा प्रमुख कारकको रुपमा रहनेछन् ।
गत हप्तादेखि इरानले इजरायलमाथि आक्रमण गरेपछि, इजरायलले आफ्नो विश्वस्तरीय वायु रक्षाप्रणाली आइरन डोम, एरो डिफेन्सको प्रयोग गरेर धेरै इरानी ब्यालिस्टिक मिसाइल इन्टरसेप्ट गरिसकेको छ । यसले इजरायली वायुसेनालाई इरानमाथि प्रहार गर्न अतिरिक्त समय दिएको छ ।
तर, युद्ध लम्बिदै जाँदा अहिले इजरायलले आफ्ना इन्टरसेप्टरहरूको उत्पादनको तुलनामा यसको प्रयोग धेरै गरिरहेको छ । आठजना वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूले इजरायलको वायुरक्षा प्रणालीमा इन्टरसेप्टरहरू कम हुने आशंका देखिएको छ ।
इन्टरसेप्टरहरूको प्रयोग घटाउने योजना
इजरायलले अहिले जनघनत्व धेरै भएका क्षेत्र हाइफा, तेल अवीव, परमाणु सुविधा र तेल शुद्धिकरण केन्द्रलाई प्राथमिकता दिइएको छ ।
नेगेभ मरुभूमिजस्ता सामान्य खाली भूभागमा आक्रमण भएमा इन्टरसेप्टरहरू कम प्रयोग गर्ने नीति लिइएको छ ।
इजरायलको पूर्ववायु रक्षा कमान्डर ब्रिगेडियर जनरल रान कोचाभ भन्छन्, “इन्टरसेप्टरहरू चामलको दानाजस्तो असीमित संख्यामा छैनन् । यसको सीमित भण्डार छ । यदि, कुनै मिसाइल हाइफाको तेलकुवामा खस्न लागेको छ भने त्यसलाई रोक्नु नेगेभ मरुभूमिमा खस्ने मिसाइलभन्दा महत्वपूर्ण छ । यो चुनौतीपूर्ण छ, तर हामी यो समाधान गर्न सक्षम छौँ ।”
यदि, इरानले आफ्नो मिसाइल भण्डार समाप्त हुनुअघि नै इजरायलको इन्टरसेप्टर स्टक सकियो भने इजरायलले ठूलो क्षति व्यहोर्नुपर्नेछ ।
त्यसैले अमेरिका वा अन्य मित्र राष्ट्रहरूबाट अतिरिक्त इन्टरसेप्टर आपूर्ति नै युद्धको अवधि निर्धारण गर्ने अर्को महत्वपूर्ण कारक हुनसक्छ ।
इजरायली सेनाको प्रतिक्रिया : इन्टरसेप्टर सीमित भए पनि तयारी पूर्ण
इजरायली सेनाले आफ्नो इन्टरसेप्टर भण्डारको सीमितताको बारेमा सोधिएको प्रश्नमा भनेको छ, “हामी कुनै पनि परिदृश्यको लागि तयार छौँ । र, इजरायली नागरिकलाई हुने खतरालाई नष्ट गर्न रक्षात्मक र आक्रामकरूपमा सञ्चालन गरिरहेका छौँ ।”
इरानको मिसाइल भण्डार अब कति बाँकी छ ?
युद्ध सुरु हुँदा इरानसँग लगभग दुई हजार ब्यालिस्टिक मिसाइल थिए । इजरायली अधिकारीहरूको अनुमान अनुसार, यसको एक तिहाईदेखि आधासम्म मिसाइल अब प्रयोग भइसकेका छन् ।
केही इजरायलमाथि प्रहार गरिएको छ भने केही इजरायली आक्रमणले इरानी भण्डारण केन्द्रहरू नष्ट गरेको छ । सम्भवतः आफ्नो गोला–बारूद सकिने डरले अहिले इरानले धेरै कम मिसाइल प्रहार गरिरहेको छ । संयुक्त राष्ट्रसंघमा इरानी मिसनले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
इजरायलको इन्टरसेप्टर कति खर्च भयो ?
बुधबारसम्ममा इरानले लगभग ४०० मिसाइल प्रहार गरिसकेको छ । ४० वटा इजरायली वायुरक्षा प्रणालीबाट बच्न सफल भएर इजरायलको आवासीय क्षेत्रमा खसे ।
३६० वटा मिसाइलहरू इन्टरसेप्टरबाट नष्ट गरियो । केही खाली भूभाग/समुद्रमा खसे । केही मिसाइलहरूमा इन्टरसेप्टर प्रयोग भएको हुनसक्छ । तर, जम्मा कति खर्च भयो भन्ने स्पष्ट छैन ।
यस्तो गोप्य जानकारी सार्वजनिक गर्दा इरानलाई सैन्य लाभ हुनसक्ने भएकाले कुनै पनि इजरायली अधिकारीले बाँकी इन्टरसेप्टर संख्या खुलाउन चाहका छैनन् ।
यसको उत्तरले इजरायलको दीर्घकालीन युद्ध चलाउने क्षमतालाई प्रभावित गर्नेछ । युद्धको प्रकृति निम्न कारकहरूले तय हुनेछ । पहिलो, अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरी इरानको फोर्डो परमाणु केन्द्रमा संयुक्त आक्रमण गर्ने निर्णय गर्छन् वा गर्दैनन् । दोस्रो, इरानले आफ्नो युरेनियम विकास गर्ने कार्यक्रम त्याग्ने निर्णय गर्छ वा गर्दैन । तर, युद्धको अन्त्य भने दुवै देश आफ्नो अर्थतन्त्रमा हुने दीर्घकालीन प्रभाव सहन सक्छन् वा सक्दैनन् र बढ्दो नागरिक हताहतले राष्ट्रिय मनोबलमा पार्ने असरमा कति गम्भीर हुन्छन् त्यसमा निर्भर हुनेछ ।
इजरायलको वायुरक्षा प्रणाली : ७ तहका ढाल
इजरायलले कम्तिमा सात प्रकारका वायुरक्षा प्रणाली प्रयोग गर्छ, जसमा धेरैजसो स्वचालित छन् । पहिलो हो रडार प्रणाली । यसले आक्रमण हुने मिसाइल पत्ता लगाउँछ र अधिकारीहरूलाई इन्टरसेप्सन गर्न सुझाव दिन्छ । दोस्रो छोटो दूरीको आक्रमण रहेको छ, यसले प्रतिक्रिया गर्न केही सेकेन्ड मात्र समय लगाउँछ । अर्को लामो दूरीको आक्रमण जसले, केही मिनेटको अवसर दिन्छ । कहिलेकाहीँ स्वचालित प्रणालीले सुझाव दिँदैन, त्यसैले अधिकारीहरूले आफैँ निर्णय गर्नुपर्छ ।
अन्य विभिन्न रक्षा प्रणालीहरूमा एक एरो सिस्टम रहेको छ । यसले लामो दूरीका मिसाइलहरू अधिक उचाइमा नष्ट गर्छ । डेभिड्स स्लिङ अर्को वायुरक्षा प्रणाली हो, यसले लामो दूरीका मिसाइलहरू कम उचाइमा रोक्छ । त्यसपछि सबैले सुनेको आइरन डोम वायु रक्षा प्रणाली जसले गाजाबाट प्रहार हुने छोटो दूरीका रकेट वा अन्य प्रणालीले इन्टरसेप्सन गरेका मिसाइलका टुक्राहरू नष्ट गर्छ ।
यीबाहेक अमेरिकाले दुई थप रक्षा प्रणाली उपलब्ध गराएको छ, जसले केही भूमध्य सागरमा तैनाथ जहाजबाट प्रयोग गरिन्छ । इजरायलले अर्को लेजर बीम प्रणाली परीक्षण गरिरहेको छ । तर, यो अहिलेसम्म पूर्णरूपमा विकसित भएको छैन । यसबाहेक लडाकू जहाजहरू पनि ढिलो उड्ने ड्रोनहरू नष्ट गर्न तैनाथ गरिएका छन् ।
इरानी मिसाइल प्रहारले कम्तिमा २४ इजरायली नागरिकको मृत्यु र ८०० भन्दा बढी घाइते भएका छन् । उत्तरी इजरायलका तेलप्रशोधन संयन्त्र, दक्षिणी इजरायलको अस्पताल र नागरिक आवासहरूमा क्षति पुगेको छ ।
यदि, इजरायली सेनाले दिमोना परमाणु रिएक्टर वा सैन्य मुख्यालयजस्ता रणनीतिक लक्ष्यहरूको दीर्घकालीन सुरक्षाका लागि इन्टरसेप्टर प्रयोग सीमित गर्न बाध्य भयो भने मृत्यु हुनेको संख्या अहिलेभन्दा धेरै बढ्नसक्छ ।
“यो जित घोषणा गर्ने उत्तम समय हो,” इजरायली गुप्तचर संस्था मोसादका पूर्ववरिष्ठ अधिकारी जोहर पाल्टी भन्छन्, “इजरायलले इरानका अधिकांश परमाणु लक्ष्यहरूमा सफल प्रहार गरिसकेको छ । अब हामीसँग जित घोषणा गरी युद्ध अन्त्य गर्ने २/३ दिनको समय छ ।”
उनले भविष्यका युद्धहरूको योजना बनाउँदा कहिल्यै यस्तो परिदृश्यको कल्पना नगरेको बताएका छन् । धेरै मोर्चामा एकैसाथ लड्नुपर्छ र यति धेरै ब्यालिस्टिक मिसाइलहरू रोक्नुपर्छ भन्ने नसोचेको उनले बताएका छन् ।
समाधान सम्भव छ ?
केही विश्लेषकहरू इजरायलले इरानका मिसाइल प्रक्षेपण प्रणालीहरू ध्वस्त गरेर समस्या समाधान गर्नेमा ढुक्क छन् ।
अरु विश्लेषकहरू इरानसँग स्थिर र मोबाइल दुवै प्रकारका प्रक्षेपण प्रणालीहरू छन्, जुन देशभर फैलिएका छन् । केही मिसाइल भूमिगत भण्डारणमा राखिएका छन् जसलाई नष्ट गर्न गाह्रो छ ।
इजरायली सेनाले इरानका एक तिहाइभन्दा बढी मिसाइल प्रक्षेपक (लन्चर) नष्ट गरिसकेको दाबी गरेको छ । अधिकारी र विज्ञहरूको भनाइ अनुसार, यसले इरानले एकैचपटक प्रहार गर्नसक्ने मिसाइलको संख्या सीमित बनाएको छ । अमेरिकी अधिकारीहरूले इजरायली आक्रमणहरूले इरानको मिसाइल प्रक्षेपण क्षमता धेरै हदसम्म कमजोर पारेको र ठूलो मात्रामा मिसाइल हमला गर्नसक्ने सामथ्र्यमा असर पारेको बताएका छन् ।
‘प्रक्षेपकहरूको संख्या नै मुख्य समस्या हो’
“वास्तविक समस्या मिसाइलको संख्याभन्दा पनि प्रक्षेपकहरूको संख्या हो । जति धेरै प्रक्षेपक नष्ट हुनेछन्, इरानले ठूला मात्रामा मिसाइल हमला गर्न गाह्रो हुनेछ,” इजरायली सैन्य गुप्तचर विभागमा इरान शाखा नेतृत्व गर्ने पूर्वकमाण्डर आसफ कोहेन ले भन्छन्, “यदि, उनीहरूले आफ्नो प्रक्षेपण क्षमतामा समस्या महसुस गर्छन् भने उनीहरूले छिटोछिटो सानो प्रहार गर्न सक्छन् । एक वा दुईवटा मिसाइलहरूले एकै समयमा दुई फरक क्षेत्रमा निशाना लिने प्रयास गर्नेछन् ।”
उनका अनुसार इरानले क्रमिक रूपमा साना–साना प्रहार गर्न थाल्न सक्छ । तर, ठूलो मात्राको ब्यारेज अर्थात् एकैपटक धेरै मिसाइल प्रहार गर्न सक्दैन । इजरायलले यसबाट आफ्नो वायु रक्षा प्रणालीको दबाब कम गर्न मद्धत गर्ने अपेक्षा गरेको छ । द न्युयोर्क टाइम्स