
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले इरान र इजरायलमा रहेका नेपालीका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।
पछिल्लो समय इरान र इजरायलबीच उत्पन्न तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै एनआरएनएले दुवै देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिँदै हटलाइन सेवा सुरु गरेका हुन् ।“इजरायल र इरानमा कार्यरत वा बसोबास गरिरहेका नेपालीहरूले आपतकालीन अवस्थाहरूमा आवश्यक सहयोगका लागि सिधा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको हो,” एनआरएनएद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
सुरक्षा अवस्थाको जानकारी लिन वा सहायता आवश्यक परेमा नेपालीहरूले २४ सै घण्टा सेवा लिन सक्ने एनआरएनएले जनाएको छ । एनआरएनएले सञ्चालनमा ल्याएको हटलाइन टेलिफोन नम्बर ९८०१८६११२३ र ९८०१८६११०६ रहेका छन् । “नेपाली समुदायलाई सतर्क रहन, स्थानीय सरकार तथा दूतावासको निर्देशन पालन गर्न र सुरक्षित स्थानमा बस्नसमेत गैरआवासीय नेपाली संघ अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।