site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले इजरायल–इरान द्वन्द्वमा अमेरिकी संलग्नताको निर्णय दुई हप्ताभित्र गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान द्वन्द्वमा सैन्य हस्तक्षेप गर्छन् कि गर्दैनन् भनेर विश्वभर चासो छ । ट्रम्पले अर्को दुई हप्ताभित्र इरानमाथि अमेरिकी हमलाबारे निर्णय गर्ने राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसले बिहीबार आयोजना गरेको नियमित पत्रकार भेटघाटमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले राष्ट्रपति  ट्रम्पले अर्को दुई हप्ताभित्र इरानमाथि अमेरिकी सैन्य हमला गर्ने वा नगर्ने निर्णय गर्ने बताएकी हुन् ।

अमेरिकी सैन्य कारबाहीको बारेमा अन्तिम निर्णय गर्नुअघि कूटनीतिक प्रयासहरू बढाउने चाहानास्वरुप यो निर्णय गरिएको उनले बताएको बीबीसीले उल्लेख गरेको छ ।
 
“निकटभविष्यमा इरानसँग वार्ता हुने सम्भावनाको आधारमा, म अर्को दुई हप्ताभित्र हमला गर्ने वा नगर्ने निर्णय गर्नेछु,” राष्ट्रपति ट्रम्पको वक्तव्यमा उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्पको यो वक्तव्य प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ह्वाइट हाउसको नियमित पत्रकार अन्तक्र्रियामा पढेर सुनाइन् । 

समयमा सही निर्णय नगर्ने ट्रम्पको विगत छ । तर यसले कूटनीतिक सम्भावनाको ढोका खोलेर तनाव केही कम गरेको समाचारमा बताइएको छ ।

द्वन्द्व बढ्दै
यो घोषणा आएको दिन इजरायल र इरानबीच सातौँ दिनसम्म आक्रमण चलिरहेको छ । इजरायली रक्षामन्त्रीले इरानी सुप्रिम लिडर अयातुल्लाह अली खामेनेई अब अस्तित्वमै रहँदैनन् भन्ने अभिव्यक्ति दिएका छन् । यसको  प्रतिक्रियास्वरूप इरानले इजरायलको बेर्र्सेबाको सोरोका अस्पतालमा मिसाइल हमला गरेर ७१ जना घाइते बनाएको छ ।
 
यसैबीच, इजरायलले फोर्डो परमाणु केन्द्रसहित इरानी विभिन्न परमाणु केन्द्रहरूमाथि आक्रमण बढाएको छ, जुन अमेरिकी बंकर–बस्टर बमहरूले मात्र नष्ट गर्नसक्छ ।

ट्रम्पको योजना
ट्रम्पले फोर्डो परमाणु केन्द्रमा आक्रमण गर्ने सैन्य योजना बनाइसकेका र यसलाई उनका सल्लाहकारहरूले इरानी परमाणु कार्यक्रमलाई दीर्घकालीन अमेरिकी संलग्नताबिनै नष्ट गर्ने मौका भएको बताएका छन् । 

तर, यसका कारण उनका सहयोगीहरूले मध्यपूर्वका अमेरिकी अड्डामा हमला वा होर्मुज स्ट्रेट बन्द हुनसक्ने डर देखाएका छन् । यसैबीच, अमेरिकी दूत स्टिभ विटकफ र इरानी अधिकारीहरूबीच गोप्य वार्ता जारी छ । तर, इरानले बमबारी जारी रहँदा वार्ता असम्भव भएको बताएको छ ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया
युरोपेली कूटनीतिज्ञहरूले तनाव कम गर्न आग्रह गरेका छन् । इरानले अमेरिकी संलग्नताले क्षेत्र नष्ट गर्ने चेतावनी दिएको छ । ट्रम्पको निर्णय इरानले युरेनियम समृद्धि छोड्छ वा छोड्दैन भन्नेमा निर्भर गर्छ । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्