site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सधैँ शक्ति खेलमा देउवा–ओली : विपक्षीसँग उठबसपछि बढ्दो विश्वासको संकट
फाइल तस्बिर । शेरबहादुर देउवा (दायाँ) र प्रचण्ड (बायाँ) ।

काठमाडौं । गायक आनन्द कार्कीको एउटा लोकप्रिय गीत छ, ‘जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै...।’

नेपाली राजनीतिमा आँखाले देखिने र सहमतिमा लेखिनेभन्दा पर्दा पछाडिका खेलले सधैँ महत्त्व पाउने गर्छ । जब पर्दा पछाडिका खेल उद्घाटित हुन्छन्, त्यति बेला ठूलै हलचल हुने गर्छ ।

एमाले–माओवादी सरकार चलेको ९० दिन पुग्दै थियो, ०८१ असार १७ गते मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सातबुँदे सहमति भएसँगै माओवादी सत्ताच्युत हुन पुग्यो ।

Argakhachi Cement Island Ad

सहमति भएकै बिहान एमाले अध्यक्ष ओली तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगे । प्रचण्डसँग ओली भनिरहेका थिए, ‘पत्रपत्रिकाका समाचारको अर्थ छैन । हामी स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने हो ।’

ओलीको स्वर्ग–नर्क सँगसँगै जाने बोलीबाट प्रचण्ड ढुक्क भएनन् । उनले देउवालाई फोन गरे । देउवाले स्पष्ट जवाफ दिए, ‘एमालेसँग सहमति भइसक्यो । सरी, यसपटक सहकार्य गर्न सकिएन !’

त्यो वार्तापछि देउवाको निरन्तर प्रशंसा गर्न प्रचण्ड चुक्दैनन् । प्रचण्ड बोली छ, ‘देउवाजी ढाँट्नु हुन्न, जे हो त्यही मात्र भन्नुहुन्छ ।’

प्रचण्ड गत वर्ष असार २४ यता ‘देउवा ढाट्नु हुन्न’ भाका गरिरहेका छन् । प्रचण्डले गएको शुक्रबार (जेठ २३) आइपुग्दा पनि त्यो दोहोर्‍याए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हदबन्दी प्रकरणमा माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो । अख्तियारको उक्त मुद्दालाई ओलीको ‘राजनीतिक प्रतिशोध’का रूपमा प्रचण्ड र देउवाबीच टेलिफोन कुराकानी चल्यो ।

“देउवाजीले हिजो फोन गर्नुभाथ्यो । खासगरी माधव नेपालको विषयमा अभियोजन कसरी भयो भनी मलाई सोध्नुभयो । मैले यो कुरा त सत्तापक्षलाई पो थाहा हुनुपर्नेे हो भनेँ,” प्रचण्डले भनेका थिए, “मैले यसअघि पनि भनेको हुँ– शेरबहादुरजीले ढाँट्नु हुन्न, उहाँलाई एकैचोटि यो अभियोजनपछि मात्र थाहा भयो । देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझेँ ।”

कांग्रेस–माओवादी दुवैको बुझाइमा ओलीले पछाडि रहेर अख्तियारलाई अस्त्र बनाइरहेका छन् । त्यही आशंकाबीच राजनीतिमा पर्दा अगाडि/पछाडिका क्रियाकलाप बढेर गएका छन् ।

ताजा घटनाक्रम
प्रधानमन्त्री ओलीले आइतबार (जेठ २५) विपक्षीले कांगे्रस–एमालेबीच खेल्ने प्रयास गरेको बताए । अनेरास्ववियुको २४औँ महाधिवेशन उद्घाटनक्रममा उनले कांग्रेस–एमाले सहमति भड्काउने खेलमा विपक्षी लागिरहेको जिकिर गरे ।

“हामीले सम्झौता गरेका छौँ । हाम्रो उद्देश्य मिसन ०८४, यो कुनै अन्योलको अमूर्त कुरा होइन । मिसन ०८४ भनेको नेकपा (एमाले)जस्तो राष्ट्रिय शक्तिलाई, यो देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने हो,” ओलीले भने, “हाम्रा विरोधीहरूले, प्रतिक्रियावादी शक्तिहरूले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको कांग्रेसलाई मिसन ०८४ भनेको छ, कांग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ भनेर खेल्न खोज्छन् ।”

एमालेसँग सहकार्य गर्दागर्दै कांग्रेसले पनि बहुमत ल्याउँछु भन्ने गरेको उनले उल्लेख गरे । आफूहरूले पनि बहुमत ल्याउँछौँ भनिरहेको उनको भनाइ थियो ।

“कसले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला । तर, बहुमत ल्याउने दाबी अनेकले गर्दछन् । यतिसम्म कि प्रचण्ड त उहाँ ०६४ सालको जस्तै लहर आइसक्यो भनेर के सपना देखिरहेका छन्,” ओलीले भने, “हामी त वास्तवमै मजबुत राष्ट्रिय शक्तिको रूपमा छौँ । लोकप्रिय पार्टीको रूपमा छौँ ।”

ओलीले विपक्षीले खेल्न खोजेको भनिरहँदा माओवादीले कांग्रेससँग कुराकानी बढाएको छ । त्यस्तो ‘लसपस’सँगै एमालेले कांग्रेसमाथि शंका प्रकट गरेको हो ।

हुन पनि गएको बिहीबारयता कांग्रेस र विपक्षीबीच वार्ता चलिरहेको छ । ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका विपक्षीले कांग्रेससँग वार्ता गरिरहेका छन् । प्रधानमन्त्री ओलीले विपक्षीसँग वार्ता गर्न चाहेर पनि सकिरहेका छैनन् ।

“गृहमन्त्रीविरुद्ध कुनै उजुरी छैन । मातहतका कर्मचारीलाई अख्तियारले छुस्स के बोलाएको थियो, के सोध्यो थाहा छैन, अभियोग बन्ने हो/होइन थाहा छैन, गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर संसद् अवरोध भइरहेको छ,” ओलीले आइतबार अनेरास्ववियुको अधिवेशन उद्घाटनक्रममा भने ।

उनको दाबी थियो, “यो प्रतिगामी कदम हो । यो अस्वीकार्य कदम हो । यसबारे विपक्षी दलका नेता प्रचण्डसँग कुरा गर्न खोज्दा उहाँ टाढिइरहनुभएको छ । पटक–पटक सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आइरहनुभएको छैन ।”

ओलीले पटक–पटक खोज्दा नभेटिएका प्रचण्ड देउवासामु भने आफैँ खोज्दै पुगिरहेका छन् । बिहीबार टेलिफोन वार्ता गरेका देउवा र प्रचण्ड पार्टीका नेताहरूबीच शुक्रबार संसद्‌मै छुट्टै छलफल भयो ।

प्रचण्ड स्वयंले कांग्रेस नेताहरू उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे र देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गरेपछि सूचना टाँसेर संसद् बैठक स्थगन र चाँडै सहमतिमा पुग्ने समझदारी गरेका थिए ।

त्यस्तो समझदारी गरेका प्रचण्ड शनिबार देउवा निवास बूढानीलकण्ठ पुगेरै वार्ता गरे । झन्डै ११ महिनादेखि व्यक्तिगत भेटघाटमा नरहेका दुई नेताबीच गृहमन्त्रीका नाममा संसद् अवरुद्ध भएका बेला भेटघाट सुरु भयो । यसले अर्को शंकालाई ठाउँ दिएको छ, ‘के ०८१ को असार १७ अर्को भर्सनमा देखा पर्दै छ ?’

एकातिर संसद् अवरोध छ । अर्कातिर प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड स्वयम्ले भनिरहेका छन्– राजीनामाकै विषय होइन, छानबिन होस् भन्ने हो । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ संकेत गर्दै राजीनामालाई नै ‘बटमलाइन’ बनाएको विपक्षी पनि छानबिनमा सहमत भएको बताएका थिए ।

“गृहमन्त्रीमाथि आरोप राजीनामै तहको होइन । हामी त सुरुदेखिकै छानबिनको पक्षमा मात्र थियौँ,” प्रचण्डले भनेका थिए, “कतिपय विपक्षीहरू राजीनामालाई बटमलाइन बनाउनुभएको थियो । उहाँहरू पनि छानबिन गर्दा हुन्छ भन्ने तहमा आइसक्नुभएको छ ।”

गृहमन्त्री प्रकरण सत्तारूढ कांग्रेस र प्रतिपक्षी दलहरूबीच संवाद थाल्ने सेतु बनेको छ ।

सरकारमा भइरहेको सहकार्यबाट सन्तुष्ट हुन नसकेका कांग्रेस र एमालेबीच अनेक तहबाट अविश्वास सार्वजनिक भइरहेकै छन् । सरकारका कार्यक्रमदेखि कदमसम्म प्रश्न उठाउने कांग्रेस नेताहरू बनिरहेका छन् । त्यसको जवाफ प्रधानमन्त्री स्वयंले दिन थालिसकेका छन् ।

विभागीय मन्त्री आफ्नै हुँदा समेत विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ हटाएपछि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीमाथि प्रश्न मात्र उठाएका छैनन्, दुई पार्टीको सरकार सञ्चालन सहजीकरण संयन्त्रको बैठक बहिष्कार गरिरहेका छन् ।

गभर्नर प्रकरणसम्म पुग्दा प्रधानमन्त्रीमाथि नै बिचौलियासँग साँठगाँठ गरेको आरोपमा उत्रिएका थापाले ‘प्रधानमन्त्रीको शयन कक्षसम्म बिचौलियाको पहुँच रहेको’ दाबी गरेका छन् । त्यसमा प्रधानमन्त्रीले प्रमाणित गर्न सकिन्छ ? भन्दै सार्वजनिक प्रश्न सोधेपछि सम्बन्धको वास्तविक अवस्था सार्वजनिक भइसकेको छ । 

कांग्रेसमा संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले त सरकारका हरेकजसो कदममा टिप्पणी गरिरहेका छन् । भूमि अध्यादेशको विरोधदेखि सरकारले गरेको कारबाही, नियुक्ति सबैजसो कदममा प्रश्न उठाइरहेका उनले सरकार फेर्ने आफ्नो आशय नभए पनि ठिक बाटोमा हिँडाउने प्रयत्न गरेको भनी विश्वासको संकट टार्ने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले कांग्रेसका टिप्पणीलाई कडा जवाफ फर्काइरहेकै छन् । “घरभित्रको झगडा चोकमा ल्याउनु जरुरी छैन,” ओलीले भनेका थिए, “आफ्नो परिवारभित्रको झगडा घरभित्रै सीमित राख्दा राम्रो हुन्छ । सडकमा लगेर दुनियाँलाई देखाउन जरुरी छैन ।”

सरकारमाथिका प्रश्नलाई कांग्रेसभित्रको गुटगत विवादमा अर्थ्याएका ओलीले राजावादीमाथि टिप्पणी गर्दा कांग्रेसबाटै सर्वाधिक आलोचना खेपिसकेका छन् ।

विश्लेषक भन्छन्– औपचारिक रूपमै सरकार परिवर्तनको खेल सुरु भयो 
राजनीतिक विश्लेषक डा. विष्णु दाहाल औपचारिक रूपमै सरकार परिवर्तनको खेल सुरु भएको बताउँछन् । “अब सरकार परिवर्तनको खेल औपचारिक रूपमै सुरु भयो । लामो समयदेखि प्रचण्डले देउवासँग सहकार्य र वार्ताको प्रयास जारी राखेकामा भिजिट भिसा प्रकरणले प्रयासलाई सार्थक बनाइदिएको छ,” डा. दाहालले बाह्रखरीसँग भने ।

उनको भनाइमा, “गृहमन्त्रीको राजीनामा ‘फ्रन्ट स्पेस’ थियो । विपक्षीले रमेश लेखक हटाएर गगन थापा ल्याउन वा अरू ल्याउन संसद्मा आन्दोलन गरेका होइनन् । यसको अन्तर्य गठबन्धनकै विकल्प हो ।”

कांग्रेस, एमालेबीच अविश्वास चरम अवस्थामा पुगेका बेला विपक्षी प्रयासको सार्थकताको सम्भावना बढेको उनको बुझाइ छ । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्