site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंकर बस्टर बमको प्रभावकारितामा शंका, इरानमाथि के गर्दैछ अमेरिका ?
तस्बिर : एपी ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बंकर बस्टर बमले फोर्डो परमाणु केन्द्र पूर्ण रूपमा नष्ट गर्ने ‘ग्यारेन्टी’ भएपछि मात्र इरानमाथि हमला गर्नु उचित हुने बताएका छन् । अमेरिकी रक्षा अधिकारीहरूलाई उनले यस्तो बताएका हुन् ।

ट्रम्पलाई १३.६ टन (३० हजार पाउन्ड)को जीबीयू–५७ बमले फोर्डो परमाणु केन्द्र नष्ट गर्न सक्ने जानकारी गराइएको छ । तर, उनी पूर्ण रूपमा विश्वस्त नभएको र अमेरिकी सहभागिताको धम्कीले इरान वार्तामा आउने सम्भावना भएकाले आक्रमणको अनुमति नदिएको द गार्जियनले जनाएको छ ।

पेन्टागनमा जीबीयू–५७ को प्रभावकारितासम्बन्धी छलफल ट्रम्पको कार्यकाल सुरुदेखि नै भएको थियो । दुई अमेरिकी रक्षा अधिकारीले बताएअनुसार, फोर्डो परमाणु केन्द्र जमिनभित्र धेरै गहिरो स्थानमा रहेकाले यसलाई पूर्ण रूपमा नष्ट गर्न ‘ट्याक्टिकल न्युक्लियर’ हतियार मात्र सक्षम हुनसक्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, ट्रम्पले फोर्डोमा ट्याक्टिकल न्युक्लियर हतियार प्रयोग गर्ने विचार नगरेको र रक्षामन्त्री पिट हेग्सेथ र संयुक्त चिफ अफ स्टाफ डेन केनले ह्वाइट हाउसको सिचुएसन रुममा यो सम्भावना प्रस्तुत नगरेका जनाइएको छ ।

रक्षा अधिकारीलाई जीबीयू–५७ सहित परम्परागत बमहरू भूमिगत पर्याप्त गहिरो स्थानसम्म पुग्न नसक्ने र यसले सुरुङहरू ढाल्ने तथा भग्नावशेषमा दबाउने मात्र गर्न सक्ने ‘ब्रिफिङ’मा बताइएको थियो ।

फोर्डोलाई पूर्ण रूपमा नष्ट गर्न बी२ बमवर्षकबाट ट्याक्टिकल न्युक्लियर हतियार खसाल्नुअगाडि परम्परागत बमहरूले जमिनलाई नरम बनाउन आवश्यक हुने बताइएको थियो ।

फोर्डो केन्द्र नष्ट गर्न कठिन
अमेरिकी रक्षा मन्त्रालयको एकाइ डिफेन्स थ्रेट रिडक्सन एजेन्सी (डीटीआरए)ले जीबीयू–५७ बमको परीक्षण गर्दै भूमिगत सुविधाविरुद्ध अमेरिकी सैन्य हतियारको ‘लिमिटेसन’को समीक्षा गरेको छ । यसले यस्तो हमलाको जटिल प्रकृतिलाई उजागर गर्छ ।

जीबीयू–५७ ले इरानको हतियारस्तरको युरेनियम उत्पादन क्षमतालाई केही वर्षसम्म ढिला गर्न सक्छ । तर, कार्यक्रम पूर्ण रूपमा समाप्त गर्न नसक्ने बताइएको छ । ह्वाइट हाउस र पेन्टागनले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

फोर्डो निष्क्रिय गर्न किन जरुरी ?
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)ले फोर्डोमा ८३.७ प्रतिशत समृद्ध युरेनियम (परमाणु हतियारको ९० प्रतिशतनजिक) पत्ता लगाएपछि यसलाई कूटनीतिक वा सैन्य रूपमा निष्क्रिय गर्नु परमाणु अप्रसारका निम्ति महत्त्वपूर्ण मानिन्छ ।

इजरायलसँग यति गहिरो सुविधामा हमला गर्ने हतियार वा यसलाई बोक्ने विमान नभएकाले फोर्डो नष्ट गर्न अमेरिकी सहयोग अपरिहार्य छ ।

जीबीयू–५७ को लिमिटेसन
फोर्डो परमाणु केन्द्र पहाडभित्र गहिरो खनेर बनाइएको छ । यस्तो जटिल लक्ष्यमा जीबीयू–५७ कहिल्यै प्रयोग गरिएको छैन ।

पूर्वआईएईए उपनिर्देशक मेजर जनरल र्‍यान्डी म्यानरले भने, “यो एकछिनमै समाप्त हुने काम होइन । कार्यक्रम ६–१२ महिना ढिला हुनसक्छ । तर, बम हान्ने भन्ने कुरा टीभीमा मात्र राम्रो सुनिन्छ ।”

जीबीयू–५७ केवल बी२ बमवर्षक विमानले बोक्न सक्छ । यसका निम्ति लक्ष्यमा ‘जीपीएस सिग्नल लक’ गर्न आवश्यक पर्ने जनाइएको छ ।

सफल हमलाका निम्ति अग्रिम रूपमा जीपीएस जामर र अरू रक्षा प्रणालीहरू नष्ट गर्नुपर्छ । र, जीबीयू–५७ बमले भूमिगत स्थानमा प्रवेश गरी परमाणु केन्द्रलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाउन सक्नुपर्छ ।

इरानको रणनीति र इजरायलका विकल्प
सन् १९८१ मा इजरायलले बगदादनजिकैको भूमिगत नभएको परमाणु केन्द्र नष्ट गरेको थियो । इरानले त्यो घटनाबाट पाठ सिकेर हवाई आक्रमण हुन सक्ने डरले फोर्डो भूमिगत बनाएको हो ।

इजरायलले अमेरिकी सहयोगबिना फोर्डो नष्ट गर्न विभिन्न योजना बनाएको छ । यसअन्तर्गत कमान्डोहरूले हेलिकोप्टरबाट आक्रमण गर्ने र त्यसलाई बमले उडाउने एक हो । तर, ट्रम्पले यसलाई अव्यावहारिक ठानेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्