site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।  

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय  सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्री प्रचण्डले सोही दिन साँझ नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा लगानी गरी त्यसको प्रतिफल उठाउन आग्रह गरेका हुन् ।  

Argakhachi Cement Island Ad

दुबई उद्योग वाणिज्य संघसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।  
    
यूएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले यूएई र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकार्य एवं साझेदारी अपरिहार्य भएको बताए ।  

दुबई उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य संघ र दुबई उद्योग वाणिज्य संघबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएका थिए । 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र यूएईबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए । रासस

    

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्