site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुरुङमा फसेका ४१ कामदारलाई मुक्त गर्ने प्रयास तेस्रो सातामा प्रवेश

उत्तरकाशी । भारतीय सैनिकले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका निम्ति तीन दिशाबाट खन्ने काम जारी राखिएको छ ।

भारतीय हवाई सेनाले तत्परताका साथ काम गरिरहेको आइतबार जनाएको छ । हिमाली राज्य उत्तराखण्डको निर्माणाधीन सिल्कयारा सुरुङमार्ग आंशिक रूमा भत्किएपछि उद्धार कार्यका निम्ति सेनाले तत्परता देखाएको हो ।

इन्जिनियरहरूले ५७ मिटर चट्टान र कंक्रिटबाट धातुको पाइप तेर्सो रूपमा लैजाँदा सुरुङमा पुरिएका धातुका बिम र निर्माण सवारीहरूसँग ठोक्किएकाले उद्धारकर्मीले उक्त दुर्गम पहाडी स्थानमा ‘सुपरहिटेड प्लाज्मा कटर’ ल्याउन आग्रह गरेका छन् । कामदारसम्म पुग्नुभन्दा नौ मिटरअघि नै एउटा ठूलो बोरिङ मेसिन भाँचिएको थियो । हातले खन्ने काम जारी राख्नुअघि बोरिङ ड्रिल र तेस्रो मार्ग अवरुद्ध पार्ने धातु हटाउन प्लाज्मा कटिङ मेसिनको प्रयोग गरिनेछ ।

भग्नावशेषमा मोटामोटा धातुका बिमले मार्ग बनाउने कामलाई अवरुद्ध पुर्‍याइरहेको छ । सीमित पाइपभित्रबाट ती बिमलाई हटाउन परम्परागत अक्सिएसिटिलिन कटरको प्रयोग गर्न कठिन भएको छ । पाइपभित्र मात्र एक व्यक्ति घस्रनका निम्ति पर्याप्त चौडाइ छ ।

हवाई सेनाले धेरै विवरण उल्लेख नगरी ‘महत्त्वपूर्ण’ उक्त उपकरण मुलुकको रक्षा अनुसन्धान तथा विकास संगठनबाट आएको जनाएको छ । उक्त संगठन सरकारको रक्षा प्रविधि अनुसन्धान शाखा हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ८९ मिटर तल अर्को ठाडो ड्रिलिङको काम भइरहेको शनिबार बताएका थिए । सुरुङमार्गभन्दा धेरै टाढाबाट पनि काम सुरु गरिएको छ । यो तेस्रो मार्ग करिब ४८० मिटर लामो रहेको अनुमान गरिएको छ ।

मंगलबार सुरुङभित्र फसेका कामदारलाई पहिलोपटक जीवित देखिएको थियो । उद्धारकर्मीले एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र  बिजुली पुर्‍याइएको थियो ।

भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro