site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजाबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट पुर्‍याइयो

काठमाडौं । इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास)बीच युद्धको केन्द्रबिन्दु बनेको गाजाको सबैभन्दा ठूलो अस्पतालबाट उद्धार गरिएका महिना नपुग्दै जन्मिएका २९ शिशुलाई सोमबार इजिप्ट पुर्‍याइएको इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलले उक्त अस्पतालको मुनि सुरुङमा हमासको अखडा रहेको हुनसक्ने भन्दै अस्पताल खाली गर्न निर्देशन दिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले आइतबार ‘डेथ जोन’को संज्ञा दिएको अल–शिफा अस्पतालबाट ती शिशुलाई उद्धार गरी इजिप्ट लगेको हो ।

Argakhachi Cement Island Ad

इजिप्टको सरकारी सञ्चारमाध्यम अल–काहेरा न्यूजका अनुसार ती बच्चाहरू इजरायलको नियन्त्रणमा नरहेको प्यालेस्टाइनी क्षेत्रमा प्रवेश गर्ने र बाहिरिने एक मात्र नाका राफा क्रसिङ हुँदै इजिप्ट पुगेका हुन् ।

सुरुमा ३१ जना बच्चालाई अल–शिफाबाट गाजाको अर्को क्लिनिकमा लगिएको र २९ जना मात्र इजिप्ट किन आए भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन । अल काहेरा न्यूजका अनुसार सोमबार स्थानान्तरण गरिएका शिशुलाई ‘ब्याबी इन्क्युबेटर’मा राखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले संयुक्त राष्ट्रसङ्घ र प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीको संयुक्त पहलमा ३१ शिशुलाई सारिएको बताएका छन् ।

रेड क्रिसेन्टले भनेको छ, “चिकित्सकीय सामग्रीको अभाव र अल–शिफा अस्पतालमा सङ्क्रमण नियन्त्रणका उपायहरू जारी राख्न असम्भव भएका कारण सबै बच्चाहरू गम्भीर सङ्क्रमणसँग लडिरहेका छन् ।”

हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले कुनै पनि शिशु परिवारका सदस्यसँग नरहेको डब्लूएचओले प्रारम्भिक उद्धारका क्रममा जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्