site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहारका पुरानै गीत हिट, संगीतमा शम्भुजितकै वर्चस्व
Tiktok banner adTiktok banner ad

काठमाडौं । हिन्दु धर्ममा तिहारको मौलिक परम्परा, संस्कार र संस्कृति छ । धार्मिक र पौराणिक रूपमा सुरु भएको तिहारसँग सम्बन्धित थुप्रै गीतसंगीत छन् । विभिन्न समयमा सर्जक एवं स्रस्टाले तिहारलाई गीतसंगीतमा समेटेका छन् ।

तिहारका देउसीभैलो गीतले यो चाडमा थप सुगन्ध थपेको छ । तिहार भन्नेबित्तिकै केही गीत आमनेपालीको मानसपटलमा गुन्जिन थाल्छन् । यसरी रुचाइने गीतमा नयाँभन्दा पुरानै धेरै छन् ।

पछिल्ला वर्षहरूमा पर्व गीत नगाइएका होइनन्, चाहे तिज होस् अथवा दसैँ र तिहार । तर, तिनले पर्वका पुराना गीतको लोकप्रियतालाई उछिन्न सकेका छैनन् । महँगो स्टुडियो, सुलभ प्रविधि र भिडियो निर्माणमा उदार भएर खर्च गर्ने लगानीकर्ता भेटिए पनि तिहारका पुरानाका तुलनामा नयाँ गीत फिका प्रायः छन् ।

स्रोताले आफ्नै मानेर स्वीकार गरेका गीत मात्र सदाबहार हुने गीतकार यादव खरेल बताउँछन् । गीतमा जीवन, जगत् र प्रकृति हुनुपर्ने तथा त्यसमा समेटिएको कथा र भाव स्रोतालाई आफ्नै लागे मात्र सदाबहार हुने उनको अनुभव छ ।

“गीतमा कला र संस्कृतिको कथा हुन्छ, त्यसले स्रोतालाई छुनुपर्छ । गीतले जुन कथा भनेको हो, त्यसलाई स्रोताले यो त मेरै संस्कृतिको भाग हो, मेरै कथा हो भन्ने अनुभूत गर्नुपर्छ,” गीतकार खरेल भन्छन्, “यो कुराले जति धेरै दर्शकलाई छुन्छ, त्यति नै त्यो गीत लामो समय रहन्छ । भएन भने पानी परेर एकैछिनमा ओभानो भएजस्तो हुन्छ ।”

अनुभूतिलाई शब्दमा उतार्न नसक्दा पनि पछिल्लो समयका तिहार गीत लामो समय नटिकेको उनी बताउँछन् । “कतिपय मान्छेले केही कुरा राम्रोसँग अनुभूत गरे पनि अभिव्यक्त गर्न सक्तैनन् । जतिसुकै राम्रो कुरा भए पनि अभिव्यक्त गर्न सकेन भने त्यो गीत राम्रो हुँदैन । कलात्मक हिसाबले अभिव्यक्त गर्न सक्यो भने त्यो गीत राम्रो हुन्छ,” उनी अगाडि थप्छन्, “अर्को कुरा, गीतसंगीतमा तीनवटा पक्षको उत्तिकै सुन्दर संयोजन हुन्छ । शब्द नै गीतको जग हो । त्यसपछि कम्पोज शब्दको भावअनुुसार हुनुपर्छ । शब्द र कम्पोजअनुसार गायन पनि भयो भने त्यो त्रिवेणी हुन्छ । त्रिवेणी भएर बग्यो भने त्यहाँ धेरै पानी हुन्छ । त्रिवेणी भएर बग्न सबै गीतले राम्रो शब्द, संगीत र गायन पाउँछ भन्ने हुँदैन । तीनवटै पक्षको सुन्दर संयोजन भयो भने त्यस्तो गीत पुस्तौँपुस्ताले रुचाउँछ । कुनैकुनै गीतमा मात्रै तीनवटै पक्ष राम्रो हुन्छ ।”

पछिल्लो समय आफ्नोपन, परिवेश र मौलिकतामा मिहिनेत र साधना कम हुनु नै अमर गीतसंगीत सिर्जना नहुनुको कारण हुन सक्ने संगीतकार शम्भुजित बास्कोटाको टिप्पणी छ । मौलिकताभित्र बसेर मिहिनेत गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

“अहिले भाइरल गीत भन्ने चलन छ । आफैँ भाइरल हुने कि बनाउने भन्ने कुरा हो । रिपिटेड्ली बजाएर वा अरू कुनै माध्यमबाट जसरी हुन्छ भाइरल बनाउने चलन छ,” उनी भन्छन्, “प्रेमभाव वा अन्य केही गीत राम्रा पनि आएका छन् । तर, पर्व गीतमा भने त्यसको इतिहास, पौराणिक तथा धार्मिक पक्षमा अलि बढी मिहिनेत गर्नुपर्छ कि भन्ने लाग्छ ।”

पुरानै लयको ‘बेस’मा टेकेर त्यसलाई तलमाथि गरेर पर्व गीत ल्याइँदा तिनले तुलनात्मक सफलता पाउन नसकेको शम्भुजित सुनाउँछन् ।

समर्पण भाव नै पर्वका पुराना गीत लोकप्रिय हुनुको मुख्य कारण भएको गीतकार दिनेश अधिकारीको अनुभव छ । “पुराना गीतमा सर्मपण भाव अधिक हुन्थ्यो । अहिलेका गीत धेरै व्यावसायिक भए,” गीतकार अधिकारी भन्छन्, “तत्कालीन समयमा रेडियो नेपाल मात्रै थियो । त्यहाँ गीतको स्तर पनि हेरिन्थ्यो । स्रोताको रुचि पनि त्यहीअनुसारको थियो । तर, अहिले स्रोताले एउटा गीत मन पराए भने त्यस्तै गीत एकैपटक सयौँ आउँछन् । र, एकैपटक सबै ओझेलमा पर्छन् ।”

केही गीत राम्रा भए पनि स्रोतामा जाने माध्यम धेरै भएकाले सबैको ध्यान त्यसमा नखिचिने उनको बुझाइ छ । त्यसले राम्रै गीत समेत ओझेलमा पर्ने गरेको अधिकारी बताउँछन् ।

तिहारमा धेरै सुनिने गीत–
 
‘तिहारै आयो, लौ झिलिमिली
सुन हजुर, भैलिनी आइन् आँगन...’


यो गीत बज्नेबित्तिकै तिहार आएको अनुभूति हुन्छ । नेपाली कथानक चलचित्र ‘स्वर्ग’को गीत हो यो । चलचित्रलाई शम्भु प्रधानले निर्देशन गरेका थिए । यो गीतको भिडियोमा नीर शाह, गौरी मल्ललगायत कालाकारको अभिनय छ ।

यादव खरेलको शब्दरचना रहेको यो गीतमा शम्भुजित बास्कोटाले संगीत भरेका हुन् । चलचित्रमा देउसीभैलो गीत राख्ने चलन पुरानै हो । ‘बदलिँदो आकाश’, ‘सम्झना’मा पनि देउसीभैलो गीत समेटिएको थियो ।

० ० ०

‘दियो बाली साँझको
फूल सजाई पूजाको...’

तिहारको अर्को सदाबहार गीत हो यो । नेपाली फिचर फिल्म ‘चिनो’मा समेटिएको यो गीत पनि तिहारमा अधिकांशले सुन्ने गरेको मध्येमा पर्छ । तिहारमा धेरैले सम्झने देउसीभैलो गीत हो यो ।

०४८ सालमा ‘चिनो’ प्रदर्शनयता हरेक तिहारमा यो गीत बजाउने गरिएको छ । तुलसी घिमिरेले निर्देशन गरेको चलचित्रको यो गीतमा भारतीय गायिका आशा भोस्लेको स्वर छ । निर्देशक घिमिरे स्वयंले लेखेको गीतमा रञ्जित गजमेरको संगीत छ ।

० ० ०

चलचित्र ‘विजयपराजय’ले पनि नेपाली सांगीतिक क्षेत्रलाई लोकप्रिय देउसीभैलो गीत दिएको छ । राजेन्द्र शलभले यो चलचित्र निर्देशन गरेका थिए । चलचित्रभन्दा यसको गीत लोकप्रिय भयो ।

कवि तथा गीतकार दिनेश अधिकारीले लेखेको यो गीतले भाइटीकाको महत्त्व दर्साएको छ । शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा हेमलताको स्वर छ । 

‘निधारमा लर्काएर सप्तरंगी टीका
हिँडिरहू सधैँ तिमी शिखरको बाटो...’

० ० ०

‘वर्षमा दिनमा लैलै...’ 
यो पनि अर्को लोकप्रिय पर्व गीत हो । दसैँ र तिहारमा बजाइने ‘नयाँ’ गीतमा यो लोकप्रियमध्येमा पर्छ । दसैँ र तिहार दुवै पर्वलाई समेटिएको यो गीत रवि श्रेष्ठले लेखेका हुन् । सुगम पोखरेलको स्वर छ ।

गीतमा सुगम स्वयंले संगीत भरेका छन् । विदेशमा बस्ने नेपाली जो दसैँ र तिहारजस्ता पर्वमा पनि घर फर्कन पाउँदैनन्, उनीहरूका पीडालाई गीतमा समेटिएको छ ।
 

० ० ०

दाजु र बहिनीबीचको सौहार्दपूर्ण सम्बन्धलाई तिहार र दसैँसँग जोडेर तयार पारिएको गीत हो, ‘दाइ त मेरो लाहुर जाने...।’

युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको यो गीतका शब्द साहित्यकार दैवज्ञराज न्यौपानेले लेखेका हुन् । युक्त गुरुङले नै संगीत भरेको गीतमा दिदीभाइको आत्मीय सम्बन्धसँगै लाहुरेको कथा समेटिएको छ । 

० ० ०

धार्मिक तथा पौराणिक कालखण्डका कथा भन्ने पर्वका गीतमा पनि गीतकारले कतै सुटुक्क युवा उमेरका केटाकेटीमा बसेको मायाप्रेमलाई घुसाएका छन्, कतै परिवारसँग छुट्टिएर परदेशिएको छोरा र श्रीमान्को कथा भनेका छन् ।

लाहुर गएको दाइले प्यारी बहिनीलाई ल्याइदिने फूलबुट्टे सारी होस् अथवा प्रेमिकालाई ल्याइदिने मायाको चिनो नै किन नहोस्, गीतमा समेटिएको छ । त्यसैले यी गीतले आमसंगीतप्रेमी नेपालीको मन जितेका छन् ।

तिहारका पुरानामा शम्भुजित बास्कोटाले संगीत भरेका गीतले एकछत्र राज गरेका छन् । उनले संगीत भरेका तिहारका गीतले नै लोकप्रियताको शिखर चुमेका छन् । उनीसँगै तुलसी घिमिरेले पनि आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् ।

श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कोहिनुर’को देउसीभैलो गीत पनि लोकप्रिय छ । 
ए हजुर, यसपालिको 
तिहारै रमाइलो...’

यो गीतको भिडियोमा स्वेता खड्का र दिवंगत श्रीकृष्ण श्रेष्ठको अभिनय छ । प्रमोद खरेल र अञ्जु पन्तले गाएको गीतको शब्दरचना सुन्दर श्रेष्ठको हो । यो गीतमा पनि शम्भुजित बास्कोटाले नै संगीत भरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro