
काठमाडौं । गायक सुगम पोखरेलले अष्ट्रेलियाको एडिलेडको कन्सर्टमा भएको घटना ‘एक्सनको रियाक्सन’ भएको बताएका छन् ।
गएको शनिबारको कन्सर्टमा सुगमले ‘जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा एक मिनेट मौनधारण गरौँ’ भनेका थिए । तर, दर्शकले हल्ला गरिरहेपछि उनले स्टेजबाटै माइकले प्रहार गरेका थिए ।
उक्त घटनालाई लिएर सुगमको आलोचना गरियो । त्यसपछि भिडियोमार्फत उनले नेपालीलाई दुख्दा आफूलाई पनि दुख्ने बताएका छन् ।
‘नेपाली समाज यति संवेदनाहीन भइसकेको हो ?’ भन्दै उनले नेपालीलाई दुख्दा आफूलाई पनि दुख्ने गरेको उल्लेख गरेका छन् । आफ्नो कारणले कोहीकसैको चित्त दुखेको भए क्षमा चाहेको उनले बताएका छन् ।
आफूलाई नेपाली स्रोताले गायक बनाएको भन्दै सुगमले नेपालीलाई अप्ठ्यारो पर्दा चुप लागेर बस्न नसक्ने पनि बताएका छन् ।
मादकपदार्थ सेवन गरेर सुगम गीत गाउन स्टेजमा चढेको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।