
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले)ले जाजरकोट भूकम्पका कारण पाल्पा, गुल्मी र अर्घाखाँचीमा राखेका खुलासभा स्थगित गरेको जनाएको छ । रास्वपाले शनिबार जारी गरेको विज्ञप्तिमा कात्तिक १८ देखि २० सम्म ती जिल्लामा राखिएको खुलासभा तत्कालका लागि स्थगित गरेको उल्लेख छ ।
राष्ट्रिय विपद्को घडीमा सम्पूर्ण राजनीतिक दल एकजुट भई राष्ट्रिय एकता कायम गरी भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन समेत रास्वपाले अपिल गरेको छ ।
“प्रभावितहरुको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको संकेत प्रयोग नगरी आम नेपालीको रूपमा परिचालित हुन समेत निर्देशन दिइएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे गएको भूकम्पको कारण ठूलो जनधनको क्षति भएको छ । उक्त घटनाप्रति रास्वपाले गहिरो दुःख व्यक्त गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा कुनै किसिमको कमी कमजोरी नहुने गरी पीडितको उद्धार तथा घाइतेको उपचार र राहतको कार्यमा तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई परिचालन गर्न नेपाल सरकारसँग रास्वपाले माग गरेको छ ।
पार्टी पंक्तिका सदस्यलाई उक्त क्षेत्रमा प्रभावितहरूको राहत तथा उद्धार कार्यलगायत आवश्यक कार्यमा राज्यका सम्बन्धित संयन्त्रहरूसँग आवश्यक समन्वय गर्दै सक्रिय रूपमा परिचालित हुन पनि रास्वपाले निर्देशन दिएको छ ।