site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशमा दशगजा क्षेत्रका सीमास्तम्भ मर्मत सुरु

जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपालले मधेस प्रदेशका आठै जिल्लास्थित नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनर्निर्माण, मर्मतसम्भार र पुनःस्थापना सुरु गरेको छ ।

बिहीबार धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–६, जटही नाकानजिक रहेको सीमास्तम्भ नं २८५/४ बाट मर्मतसम्भार सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।

प्रदेशका आठ जिल्लामा रहेका चार हजारभन्दा बढी स्तम्भमध्ये पहिलो चरणमा नेपाल पक्षबाट बिजोर नम्बरका एक हजारभन्दा बढीको आवश्यकतानुसार पुनर्निर्माण, मर्मतसम्भार र पुनःस्थापनाको काम गरिने शाहको भनाइ छ ।

“वि.सं. २०७७ साउन १९ गते नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार बनाइएको ‘सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड २०८०’ बमोजिम आजदेखि बिजोर नम्बरका सीमास्तम्भको पुनर्निर्माण, मर्मतसम्भार र पुनःस्थापनाको काम सुरु भएको छ,” सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले भने, “यस कार्यले सीमाको संरक्षण हुनुका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल–भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्म रूपमा अध्ययन गर्न सघाउ पुग्नेछ । यसकार्यमा स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण सहयोग रहनेछ भन्ने विश्वास लिएका छौँ ।”

यस्तै, भारतीय सीमा सुरक्षा बल नं ४८ बटालियनका डेपुटी कमान्डर सन्तोषकुमार निमोरियाले दुई देशका सरकारले गरेका निर्णय र समझदारीअनुसार आफूहरू सीमा सुरक्षाको संवेदनशीलताबारे गम्भीर रहेको बताए । नेपालले बिजोर र भारतले जोर सीमास्तम्भको मर्मतसम्भार गर्ने सहमतिअनुसार आफूहरूले पनि आवश्यक कार्य अगाडि बढाउने र जसले सीमास्तम्भको मात्र नभई दुई देशको सुरक्षा, सद्भाव र सीमासम्बन्धी प्राविधिक जटिलता समाधानका निम्ति पनि सहयोग पुग्ने उनको भनाइ थियो ।

त्यसअवसरमा नगराईन नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, सम्बन्धित वडाध्यक्ष, सशस्त्र प्रहरी बल धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मल्ल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झालगायत सरोकारवालाको उपस्थिति थियो ।

यसअघि, यही कात्तिक १ गते सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले भारतीय सीमासँग जोडिएका नेपालतर्फका १४३ वडाका वडाध्यक्षसँग छलफल गरी सीमा सुरक्षा, तिनको संरक्षण, सीमा क्षेत्रका समस्या, चुनौती र समाधानका विषयमा सुझाव लिएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro