site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवातास खेल्ने ४६ जना प्रहरी नियन्त्रणमा
प्रतीकात्मक तस्बिर।

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु एक लाख ९९ हजार र तीन बुक ताससहित पक्राउ गरेको हो ।

यसै गरी काठमाडौं, तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–२ घर भएका ३९ वर्षीय पूर्णबहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत आठजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Argakhachi Cement Island Ad

जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु १९ हजार ५०० र तीन बुक ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाँके, कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने विष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय दीपककुमार ढकाल समेत पाँचजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु ३५ हजार ९५५ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।

धादिङ, निलकण्ठ नगरपालिका–३ एमाले चोक नजिक बस्ने आशीष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु ४२ हजार ८२५ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

तेह्रथुम, लालिगुँरास नगरपालिका–२ प्रगती टोल बस्ने ३८ वर्षीय बीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु ९५ हजार र तीन बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका–७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत सात जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु ११ हजार ५८० र एक बुक ताससहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्