site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
निर्देशनको ऐनामा महिला
Sarbottam CementSarbottam Cement

०७५ साल असोज ५ गते चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ हल रिलिज गरियो । त्यसलगत्तैको अर्को शुक्रबार ‘कथा काठमाडौं’ प्रदर्शनमा आयो । दसैँको मौका पारेर चलचित्र ‘छक्का पञ्जा–३’ घटस्थापनाका दिन ल्याइयो । तिहारको छेको पारेर चलचित्र ‘मालिका’ कात्तिक १६ गते रिलिज गरियो । यी सबै सिनेमामा एउटा समानता थियो । त्यो हो, यी चलचित्रको ‘चेन अफ कमान्ड’ महिलाको हातमा थियो । अर्थात्, यी सिनेमा महिलाले निर्देशन गरेका थिए । चलचित्र निर्देशकको माध्यम हो । सिनेमाको नेतृत्व निर्देशकको हातमा हुन्छ ।

‘इन्टु मिन्टु लन्डनमा’ रेनेशा राई, ‘कथा काठमाडौं’ संगीता श्रेष्ठ, ‘छक्का पञ्जा–३’ दीपाश्री निरौला र ‘मालिका’ रेखा थापाले निर्देशन गरेका हुन् । ०७५ मा महिलाले निर्देशन गरेको चलचित्र लगातार प्रदर्शनमा आए । तर, त्यही गतिमा महिला निर्देशकका चलचित्र लगातार आएनन् । फाट्टफुट्ट भने आइरहेकै छन् ।

गएको भदौ २९ गते झरना थापा निर्देशित ‘एक भगवत र एक गीता’ रिलिज गरियो । सोही भदौ १४ गते कृषा चौलागाईंको निर्देशन रहेको ‘ऐँचो पैँचो’ रिलिज गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

महिलाले निर्देशन गरेका चलचित्रको संख्या संख्यात्मक रूपमा धेरै छैन । कारण, महिला निर्देशकको संख्या न्यून छ । निर्देशनमा महिला भएकै कारण कुनै छेकबार छैन । चलचित्रमा जसरी महिलाले अभिनयका निम्ति पहिलो सिनेमादेखि नै अवसर पाए, निर्देशनका लागि पनि कुनै अवरोध थिएन । चलचित्रमा लगानी गर्न लैंगिक विभेद भएन । अभिनय र निर्माणमा जसरी स्वतन्त्रता थियो, निर्देशनमा पनि महिला भएकै कारण कुनै लगाम लगाइएको थिएन ।

तर, नेपाली सिने उद्योगले चलचित्रको चेन अफ कमान्ड सम्हाल्ने हिम्मतिलो महिला निर्देशक निकै ढिलो पायो । बक्सअफिसमा पुरुष निर्देशकलाई पनि पछि पारेकी दीपाश्री निरौला निर्देशनमा महिलाको प्रवेश ढिलो भएको स्वीकार गर्छिन् । यसलाई अनौठो र अस्वाभाविक मान्ने पक्षमा उनी छैनन् । छिमेकी बलिउड होस् वा निकै परको हलिउड, निर्देशनमा महिलाको आगमन उल्लेख्य छैन । त्यसमाथि सफलताको ग्राफ त झनै कमजोर छ ।

Global Ime bank

उदाहरणका निम्ति ओस्कार अवार्डको विजेताको सूची हेरे पुग्छ । विश्वकै प्रतिष्ठित अवार्ड ओस्कार जित्न महिला निर्देशकले सन् २०१० सम्म कुर्नपर्‍यो । ओस्कार अवार्ड जित्ने प्रथम महिला निर्देशक ७१ वर्षीया क्याथरिन बिगेलो हुन् । सन् २०१० मा उनले ‘वार एन्ड एक्सन’ चलचित्र ‘द हर्ट लकर’मार्फत उत्कृष्ट निर्देशकको ओस्कार अवार्ड उचालेकी थिइन् ।

त्यसयता भने महिला निर्देशकका चलचित्र अब्बल रहेको प्रमाणित हुन लामो समय कुर्नु परेन । ओस्कार जित्ने दोस्रो महिला निर्देशक ४१ वर्षीया चिनियाँ क्लो झाओ हुन् । उनले २०२१ मा ‘नो म्याड ल्यान्ड’ (पश्चिमी ड्रमा) चलचित्रमार्फत उत्कृष्ट निर्देशकको ओस्कार अवार्ड जितेकी थिइन् ।

ओस्कार अवार्ड जित्ने तेस्रो महिला निर्देशक न्युजिल्यान्डकी ६९ वर्षीया जेन क्याम्पियन हुन् । उनले २०२२ मा ‘ड्रामा तथा रोमान्स’ चलचित्र ‘द पावर अफ डग’मार्फत उत्कृष्ट निर्देशकको ओस्कार अवार्ड जितिन् ।

लगाव र भित्री मनदेखिको चाह भए अरू क्षेत्रमा जस्तै निर्देशनमा पनि सफलता हासिल गर्न सकिने दीपाश्रीको अनुभव छ । ७१ वर्षीया क्याथरिन र ६९ वर्षीया जेन क्याम्पियनको उमेरले पनि दीपाश्रीको भनाइ पुष्टि गर्छ । 

० ० ०

नेपाली भूमिमै बनाइएको पहिलो चलचित्र ‘आमा’ ०२२ मा प्रदर्शनमा आएको थियो । त्यसको ३६ वर्षपछि सुचित्रा श्रेष्ठ ०५८ मा निर्देशनको मैदानमा उत्रिइन् । उनी नेपाली चलचित्र इतिहासमा पहिलो महिला निर्देशक हुन् । सुचित्राले चलचित्र ‘प्रेम युद्ध’ निर्देशन गरेकी थिइन् । ‘प्रेम युद्ध’ निर्देशन गर्नुभन्दा पहिला उनले टेलिसिरियल ‘सहारा’, ‘समर्पण’ र ‘भाइटीका’ निर्देशन गरेकी थिइन् । योङ एसिया टेलिभिजनका निम्ति वृत्तचित्र पनि निर्देशन गरेकी उनले टेलिचलचित्रहरूमा मुख्य सहायक निर्देशकका रूपमा काम गरेकी थिइन् । त्यसपछि उनले ‘को कसको’ चलचित्र निर्देशन गरिन् ।

नेपाली सिने नगरीमा सुचित्राले पहिलो महिला चलचित्र निर्देशकका रूपमा आफ्नो नाम दर्ज गर्दा रक्षा सिंह राणा अर्को इतिहास रच्दै आइपुगिन्, पहिलो चलचित्र सम्पादकका रूपमा । अक्सर सिने क्षेत्रमा लामो समय काम गर्ने महिलाको संख्या निकै कम छ । हरेकका समस्या आ–आफ्नै होलान्, तर तीतो सत्य हो – करिअरको बीचमै पेसा परिवर्तन गर्ने अथवा छोड्ने महिलाको संख्या अधिक छ । रक्षाले भने पेसा परिवर्तन गरिनन् । चलचित्र सम्पादनमा एक दशक लामो अनुभव सँगालेपछि उनले निर्देशनमा आफूलाई ‘अपग्रेड’ गरिन् । फिचर फिल्म ‘द गेम’बाट उनले ‘एक्सन–कट्’को बाटो रोजिन् ।

समयले कोल्टे फेर्‍यो भन्नेहरू भन्छन् र अनुभवीहरू पनि सुनाउँछन्– अझै नेपाली चलचित्र उद्योग वास्तवमा उद्योग भइसकेको छैन । यहाँ व्यावसायिकताको कमी छ । लहड र रहरले यो क्षेत्रमा आउने धैरै छन् । तर, विस्तारै सिनेमामा करिअर खोज्नेक्रम सुरु भयो । रहर पूरा गर्न र अनुभव बटुल्न मात्र होइन, पढेर यो उद्योगमा आउनेक्रम सुरु भयो । यसको उदाहरण हुन्, दीपा बस्नेत । निर्देशनको एकेडेमिक शिक्षा लिएर दीपा चलचित्र निर्देशनमा आइपुगिन् ।

काठमाडौंको ओस्कार कलेज अफ फिल्म स्टडिजमा चलचित्र निर्देशनमा स्नातक गरेपछि दीपा चलचित्र उद्योगमा प्रवेश गरिन् । भिजुअल इडिटरका रूपमा लामो समय काम गरेपछि उनले फड्को मारिन् । चलचित्र ‘अन्तराल’मार्फत निर्देशक बनिन् । उनले चलचित्र ‘श्री ५ अम्बरे’ पनि निर्देशन गरिन् ।

‘वीर गणेशमान’, ‘मनमन्दिर’, ‘मामाघर’, ‘सिउँदोको सिन्दूर’लगायत चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरेपछि सम्झना उप्रेती रौनियार निर्देशक बनिन् । ‘मेघा’मार्फत सम्झनाले आफूलाई चलचित्र निर्देशकको पगरी गुथाइन् । ‘मेघा’मा उनले बलिउड अभिनेत्री मनीषा कोइरालका भाइ सिद्धार्थलाई नेपाली चलचित्र उद्योगमा ‘डेब्यु’ गराइन् ।

सम्झनाको दोस्रो निर्देशन रहेको चलचित्र ‘फागु’ हो । त्यसमा नायिका करिष्मा मानन्धरले लगानी गरेकी थिइन् । यो चलचित्रको मुख्य–मुख्य विधामा महिलाले काम गरेका थिए ।

त्यसो त सम्झनाले नेपाली चलचित्रको सेटमा मात्र ‘एक्सन–कट्’ गरिनन् । उनीसँग बलिउडका सिनेमामा पनि ‘एक्सन–कट्’ गरेको अनुभव छ । उनले ‘जेनिफर’ र ‘राइट या रंग’ हिन्दी र केही भोजपुरी चलचित्रमा पनि सहायक निर्देशक भएर काम गरेकी छन् ।

नेपाली सिने नगरीमा चलचित्र बनिरहे/बनिरहेकै छन् । निर्माण हुने सिनेमाको संख्या उल्लेख्य रूपमा बढ्दै गयो । नयाँ निर्देशक पनि भित्रिनेक्रम रोकिएन, यो स्वाभाविक पनि थियो । तर, एउटा सत्य के दोहोरिरह्यो भने महिला निर्देशक पुरुषको तुलनामा पटक–पटक दोहोरिएनन् । एक/दुई चलचित्रमै उनीहरूको निर्देशन सीमित रहँदै गयो । केही वर्षको अन्तरालमा महिला निर्देशकको प्रवेश भने भइनै रह्यो । यसकै निरन्तरताको अर्को नाम हो, सिर्जना बस्नेत । निर्देशनमा उनको ‘इन्ट्री’ अलि फरक रह्यो । उनी नायिका हुँदै निर्देशक बनेकी हुन् ।

यसमा पनि उनको छुट्टै कहानी छ । उनले ‘गुडलक’ चलचित्र बनाउने तयारी गरिन् । आफ्नो चलचित्रको निर्देशक गोविन्द गौतमलाई लिइन् । अन्तिममा गोविन्द ‘गुडलक’ निर्देशन गर्न तयार भएनन् । त्यसपछि सिर्जना आफैँले निर्देशनको बागडोर सम्हालिन् ।

सिर्जनशील कर्म न पर्‍यो चलचित्र, जो सँग क्षमता र आँट छ, शिल्प र अनुभव छ अथवा सैद्धान्तिक ज्ञान छ, उही नै अगाडि आउने हो । यसलाई न भूगोलले छेक्छ न लिंग, जात वा उमेरले । यसै क्रममा निर्देशकका रूपमा देखा परिन्, निलु डोल्मा शेर्पा ।

निलु सर्ट फिल्म निर्देशन गर्दागर्दै फिचर सिनेमामा आइपुगेकी हुन् । सानो क्यानभास र टिमको नेतृत्व गरेपछि अनुभवी भइन् र आइन् लामो चलचित्र निर्देशन गर्न । उनले निर्देशन गरेको चलचित्र हो, ‘हाउ फन्नी’ । उनी पहिलो महिला समलिंगी निर्देशक पनि हुन् ।

सबु सुवेदी र अनिशा खड्का पनि चलचित्र निर्देशक हुन् । ‘चलेछ बतास सुस्तरी’ सबु र अनिशाले संयुक्त रूपमा निर्देशन गरेका थिए । उनीहरूले संयुक्त रूपमा पनि चलचित्र निर्देशन गर्न सकिन्छ भन्ने सन्देश समेत दिए । यो अभ्यास बिलकुल नौलो भने होइन ।

लक्षु गौतम अर्को महिला निर्देशक हुन् । उनले पनि नेपाली चलचित्र उद्योगलाई दुइटा सिनेमा दिइन् । ‘तँ म र ऊ’ र ‘ब्ल्याक इयर’ उनले निर्देशन गरेका चलचित्र हुन् । उनी पनि निरन्तर सिनेमा निर्देशनमा देखिएकी छैनन् ।

नेपाली सिनेजगत्मा नायिका हुँदै निर्देशक बन्ने अर्की नायिका हुन्, झरना थापा । दर्जनौँ चलचित्रमा अभिनय गरेपछि उनले थोरै बाटो बदलिन् । ‘एक्सन–कट्’को बाटो समातिन् ।

उनले निर्देशन गरेको पहिलो चलचित्र ‘ए मेरो हजुर–२’ हो । यसकै तेस्रो र चौथो सिरिज पनि उनले निर्देशन गरिन् । निर्माताको दाबीलाई पत्याउने हो भने यी सबै चलचित्रले राम्रो कमाइ गरे । चौथो निर्देशनमा पुग्दा रुमानी प्रेमकथा भन्ने ‘कम्फर्ट जोन’बाट उनले आफूलाई बाहिर निकालेर सामाजिक कथामा चलचित्र बनाइन् । तेस्रोलिंगी महिलाको कथामा केन्द्रित चलचित्र ‘एक भगवत र एक गीता’ निर्देशन गरिन् ।

यो चलचित्रले बक्सअफिसमा उल्लेख्य प्रभाव जमाउन सकेन । समग्रमा भने बक्सअफिसमा राम्रो उपस्थिति जनाउने निर्देशक हुन्, झरना । उनलाई अब्बल निर्देशकका रूपमा लिइन्छ ।

नेपाली रजतपटमा समुद्र भट्ट अर्को महिला निर्देशकको नाम हो । चलचित्र ‘आधा पेज’मार्फत समुद्रले आफूलाई निर्देशकका रूपमा दर्ज गरिन् ।

व्यावसायिक हिसाबले नेपालमा कति चलचित्र सफल छन्, त्यो जगजाहेर छ । हरेक हप्ताजसो चलचित्र रिलिज गरिन्छ । धेरैजसो शुक्रबार त दुइटा नेपाली चलचित्र एकैदिन रिलिज गर्ने गरिएको छ । अधिकांश चलचित्रले २० लाख रुपैयाँमाथि ग्रस कलेक्सन गर्दैनन् । यसको अर्थ अधिकांश चलचित्रले करिब–करिब शतप्रतिशत लगानी डुबाउँछन् । यसमा को निर्देशक थियो, महिला कि पुरुष निर्देशक, डेब्यु निर्देशक कि अनुभवी ? यसले अक्सर अर्थ राख्दैन । कारण, सिनेमाको काम सिर्जनशील कार्य हो । कलाको न रङ हुन्छ न जात, भाषा, धर्म र लिंग ।

नायिकाको अब्बल परिचय बनाएकी रेखा थापा निर्देशक पनि हुन् । उनले चलचित्र निर्देशन गरेकी छन् । दर्जनौँ चलचित्रमा अभिनय र केहीमा लगानी गरेपछि उनी निर्देशक बनेकी हुन् ।

‘हिम्मतवाली’ रेखा निर्देशित पहिलो चलचित्र हो । नारीप्रधान कथामा चलचित्र बनाउने रेखाले ‘हिम्मतवाली’मा श्याम भट्टराईलाई निर्देशकका रूपमा लिएकी थिइन् । पछि उनी आफैँले निर्देशन गरिन् ।

रेखाले निर्देशनको यात्रामा पूर्णविराम लगाइनन् । उनले अर्को पनि चलचित्र निर्देशन गरिन्, ‘मालिका’ ।

चलचित्र क्षेत्रमा लामो अनुभव सँगालेर निर्देशनको यात्रा गर्ने अर्की निर्देशक हुन्, रेनेशा राई । कोरियोग्राफर हुँदै उनले निर्देशनको यात्रा तय गरेकी हुन् ।

रेनेशाको पहिलो चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ हो । रेनेशा पनि निर्देशनमा दोहोरिएकी छन् । ‘ज्याकी आईएम ट्वान्टी वान’ उनी निर्देशित दोस्रो चलचित्र हो । ०८० मा रिलिज गरिएको ‘ज्याकी आईएम ट्वान्टी वान’ म्युजिकल विषयमा थियो । यो सिनेमाले व्यापारिक सफलता हासिल गरेन ।

टेलिभिजनमा कार्यक्रम प्रस्तोता, प्रोडुसर हुँदै म्युजिक भिडियो निर्देशक बनेकी संगीता श्रेष्ठ पनि अन्ततः फिचर फिल्ममा आइपुगिन् । सयौँ म्युजिक भिडियो निर्देशन गरेपछि उनले फिचर फिल्मको बाटो रोजिन् । ‘कथा काठमाडौं’ उनले निर्देशन गरेको चलचित्र हो । उनी समेत दोहोरिएकी छैनन् । अर्थात्, ‘कथा काठमाडौं’नै उनको अहिलेसम्मको चलचित्र हो ।

अभिनयलाई पेसा बनाएकी दीपाश्री निरौला अन्ततः निर्देशनमै आइन् । उनी नायिका पनि हुन् । टेलिचलचित्रमा अभिनय गरेकी उनले हास्यशृंखला ‘तीतो सत्य’मा लामो समय सहायक निर्देशक भएर काम गरिन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘छक्का पञ्जा’ हो । ‘छक्का पञ्जा’को दोस्रो र तेस्रो सिरिज पनि उनले निर्देशन गरेकी छन् । उनले निर्देशन गरेका सबै चलचित्र बक्सअफिसमा ‘ब्लकबस्टर’ छन् । उनी सर्वाधिक सफल चलचित्र निर्देशक पनि हुन् । दीपाश्री पुनः सिनेमा निर्देशनको तयारीमा छिन् ।

कृषा चौलागाईं महिला निर्देशकको सूचीमा कान्छी निर्देशक हुन्, ०८० सम्मका लागि । ‘ऐचो पैँचो’ निर्देशन गरेकी उनी निर्माणको अनुभव सँगाल्दै निर्देशनमा आएकी हुन् । उनको चलचित्रले पनि व्यावसायिक सफलता प्राप्त गरेन ।

नेपालमा अहिलेसम्म १६ महिलाले चलचित्र निर्देशन गरिसकेका छन् । तर, अधिकांशले निरन्तरता दिन सकेका छैनन् । केही एउटै निर्देशनमा सीमित छन् । केहीले दुइटा सिनेमा निर्देशन गरेका छन् । दीपाश्रीले तीन चलचित्र निर्देशन गरेकी छन् । अहिलेसम्म झरना थापाको नाममै सबैभन्दा धेरै चलचित्र छन् । उनले चार चलचित्र निर्देशन गरिसकेकी छन् ।

अभिनयको लामो अनुभव सँगालेर निर्देशनको यात्रा तय गरेपछि ‘अभिनय कठिन कि निर्देशन ?’ भन्ने पंक्तिकारको जिज्ञासामा झरनाको जवाफ थियो– अभिनय धेरै सजिलो । अभिनयमा आफ्नो काममा निखारता दिन सके पुग्छ, तर निर्देशन धेरै कठिन हुन्छ । सबैको काम हेर्नुपर्ने र ड्राइभ गर्नुपर्ने । तनावले कपाल फुलाउनुपर्ने काम हो यो । सानो–सानो कुरादेखि ठूलो कुरासम्मको जिम्मेवारी वहन गर्नुपर्ने सजिलो काम हैन, निर्देशन ।

अब झरनालाई अभिनेत्रीभन्दा पनि सफल चलचित्र निर्देशकका रूपमा चिनिने रहर छ । यसमै केन्द्रित हुने उनको योजना छ ।

निर्देशक कृषाको सिनेमा नेपालपछि अमेरिकामा प्रदर्शन गरियो । उनलाई त्यहाँका दर्शकको ‘फिडब्याक’ थियो– ओहो, महिला निर्देशक भएर पनि यस्तो राम्रो फिल्म बनाएको ! यो प्रतिक्रिया सुनेपछि उनको प्रश्न छ– अझै पनि जेन्डर बायस छ समाज ?

रचनात्मक काम हो, महिला/पुरुषको कुरा किन घुसाउनुपर्‍यो ? उनको प्रश्नको अन्तर्यमा पुगेर हेर्ने हो भने सहमति जनाउन सकिन्छ ।

“पुरुष निर्देशकका सिनेमा कमर्सियल रूपमा सफल नभए पनि उहाँहरू बिजी भइरहनुभएको छ, काम पाइरहनुभएको छ । तर, महिला निर्देशक भने कमर्सियल रूपमा सफल नहुनेबित्तिकै काम पाउने अवस्था छैन,” उनी भन्छिन्, “सायद महिला निर्देशक भन्नेबित्तिकै विश्वास कम गर्ने हो कि ? महिलालाई विश्वास गरिहाल्न सकिन्न भन्ने मनोविज्ञानले काम गरेको हो कि भन्ने लाग्छ ।” पहिलो निर्देशनमै आफूलाई प्रमाणित गर्न सके मात्र महिला निर्देशक दोहोरिने अन्यथा कठिन रहेको उनी बताउँछिन् ।

‘कम्फर्ट जोन’मा बसेर काम गर्न रुचाउने निर्माताको संख्या धेरै रहेको भन्दै कृषा ‘रिस्क’ लिएर विश्वास गरिहाल्ने निर्माता कम रहेको सुनाउँछिन् । “महिला निर्देशकलाई कन्भिन्स गर्न पनि कठिन हुने हो कि भन्ने लाग्छ,” उनी भन्छिन् ।

दीपाश्री सिनेमा निर्देशन आफैँमा सजिलो काम नभएको बताउँछिन् । निर्देशन विधा आफैँमा सजिलो काम नहुनु र ‘डेडिकेटेड’ भएर लाग्ने महिलाको संख्या कम हुनु नै महिला निर्देशकको संख्या थोरै हुनु र निरन्तर निर्देशनमा नरहनु प्रमुख कारण भएको उनको बुझाइ छ ।

“नेपालमा मात्रै होइन, त्यति ठूलो भारतमा पनि धेरै महिला निर्देशक छैनन् । सिनेमाको इतिहास, बजार, जनसंख्या र सिनेमाको संख्याको अनुपात गर्ने हो भने सायद उस्तै हुन्छ होला बलिउड र नेपालीमा,” उनी भन्छिन्, “शाहरुख खानका सिनेमाको कमाइ हजार करोड नाग्यो भनेर म पढ्दै थिएँ, यहाँ हाम्रो ब्यानरको सिनेमाले करिब सय करोड कमाएको छ । सक्सेस रेट अनुपातमा हिसाब गर्ने हो भने उस्तै हुन आउँछ ।”

त्यसैले चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनी बताउँछिन् । तर, महिला निर्देशक अझै बढी आऊन् र सफलता प्राप्त गरून् भन्ने उनलाई लागिरहन्छ । यसका निम्ति लामो अनुभव, अथक मिहिनेत र जुझारुपन भने अनिवार्य सर्त भएको उनको अनुभव छ ।

झरनाले अभिनयमा दशकौँ काम गरेको, रेखाले अभिनयसँगै सुरुमा अरूलाई प्रोड्युस गरेर बल्ल निर्देशनमा आएको र आफू स्वयं ‘तीतो सत्य’मा १२ वर्ष ‘एक्सन–कट्’सँग खेलेर अहिले निर्देशक बनेको उनी स्मरण गर्छिन् ।

निर्देशनमा आउन रुचि राख्ने महिलाको संख्या कम नरहेको उनले देखेकी छन् । ‘म पनि तपाईंजस्तै निर्देशक बन्छु, सहयोग गर्नुपर्‍यो’ भन्दै उनीसँग ठोक्किन आइपुग्ने महिलाको संख्या कम छैन । ‘तपाईंको एडी भएर काम गर्छु’ भनेर अफिस आउने पनि थुप्रै छन् ।

“तर, सेटमा पुग्नुअगाडि नै सिनेमाको काम यसरी गर्नुपर्छ भनेर सिकाउँदा सिकाउँदै हप्ता दिन नपुग्दै हिँड्नुहुन्छ,” दीपाश्री भन्छिन्, “बाहिरबाट देखेजस्तो सजिलो काम होइन यो । यसका लागि खट्नुपर्छ । मेरो सबैथोक नै यही हो भनेर मिहिनेत गर्नुपर्छ ।”

जो मेरो ‘गोल’ नै निर्देशन हो र आफूलाई प्रमाणित गरेरै छाड्छु भनेर लाग्छ, त्यो नै सफल हुन्छ । अन्यथा, रहरले काम नबन्ने दीपाश्रीले आफ्नै करिअरबाट सिकेको सत्य हो । सिनेमामा प्रमाणित गर्न आफूले जिन्दगीमा धेरै कुरा छोडेको उनी बताउँछिन् । “म पनि ठूलो मिहिनेतले यहाँ आएको हुँ । दुइटा डुंगामा पाइला राखेर गन्तव्यमा पुगिँदैन,” दीपाश्री भन्छिन् ।

एउटा मात्र उद्देश्य लिएर अगाडि बढे महिला झन् धेरै सफल हुन्छन् भन्नेमा दीपा ढुक्क सुनिन्छिन् । घरपरिवार सम्हाल्ने महिलाको दिमाग चारैतिर एकैपटक चलिरहेको हुने उनी बताउँछिन् । आफूलाई एकाग्र बनाएर काम गरे महिलाको ‘सक्सेस रेट’को पारो धेरै माथि हुने उनको तर्क छ ।

आत्मविश्वास नै सफलताको मुख्य सूत्र भएको दीपाश्रीको अनुभव छ । यो लामो अनुभव, एकेडेमिक शिक्षा र तालिमले मात्र सम्भव हुने उनको धारणा छ । तीन र हप्तादिने कथित तालिम र गोष्ठीले भने पार नलगाउने उनको टिप्पणी छ । यसका निम्ति सरोकारवाला संघसंस्था गम्भीर हुनुपर्ने तर त्यो आजसम्म नदेखिएको भन्न उनको जिब्रो लकपकाउँदैन ।

त्यसो त ‘सिनेमामा काम गर्ने महिला छन् र’ भन्नेहरू पनि छन् । यस्तो टिप्पणी गर्नेहरूलाई दीपाश्रीको जवाफ छ– सुरुमा नेपाल आइडल घोषणा हुँदा नेपालमा पनि गाउने त्यति धेरै युवायुवती छन् ? भन्थे, कमेडी च्याम्पियन आउँदा नेपालमा पनि रियालिटी शो नै गर्ने संख्यामा कमेडियन छन् ? भनेर नाक खुम्च्याउँथे । तर, अझै यी रियालिटी शो चलिरहेका छन् । हरेक सिजनमा नयाँ–नयाँ प्रतिभा आइरहेकै छन् ।

सरोकारवालाले अध्ययन र तालिमको व्यवस्था र महिला स्वयं लगनशील भएर काम गरे महिला निर्देशकको संख्या र गुणस्तर दुवैले गुणात्मक फड्को मार्नेमा दीपाश्री ढुक्क छिन् । 

(चलचित्र निर्माता संघको स्मारिका २०८० मा प्रकाशित सामग्री ।)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement