site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा विपक्षी दलका नेता पक्राउ
तस्बिर : एएफपी ।

ढाका । बंगलादेशको प्रमुख प्रतिपक्ष दलका नेता आइतबार बिहान पक्राउ परेका सो पार्टीले जनाएको छ । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उनलाई पक्राउ गरिएको हो ।

बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन् ।”

अस्ट्रेलियामा रहेकी आलमगिरकी छोरी शमारुह मिर्जाले एएफपीलाई भनिन्, “उहाँलाई प्रहरीले हिरासतमा राखेको छ ।”

ढाका मेट्रोपोलिटन प्रहरीका प्रवक्ता फारुक हुसेनले उनको गिरफ्तारीबारे आफूलाई जानकारी नभएको बताए ।

बीएनपीका अध्यक्ष एवं दुईपटक प्रधानमन्त्री बनेकी खालिदा जियालाई पक्राउ गरेर जेल सजाय दिइएपछि र उनका छोरा बेलायतमा निर्वासनमा परेपश्चात् बीएनपीका महासचिव ७५ वर्षीय आलमगिरले पार्टीको नेतृत्व गर्दै आएकाम छन् । सन् २०२० मा १७ वर्षको जेल सजायबाट रिहा भएपछि जिया नजरबन्दमा बस्दै आएकी छन् ।

प्रदर्शनस्थलमा रहेका एएफपीका पत्रकारका अनुसार बीएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीले शनिबार गरेको विरोध प्रदर्शन यो वर्षको अहिलेसम्मकै सबैभन्दा ठूलो हो । साथै, आउँदो जनवरीमा हुने आमनिर्वाचनभन्दा अघि भएको उक्त विरोध प्रदर्शन नयाँ चरण भएको बताइएको छ ।

बंगलादेशका दुई प्रमुख विपक्षी पार्टीका एक लाखभन्दा धेरै समर्थकले एउटा तटस्थ सरकार मातहत स्वतन्त्र र निष्पक्ष मतदानका निम्ति प्रधानमन्त्री शेख हसिनालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध प्रदर्शनमा भाग लिएका थिए ।

बंगलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन् । उनले कुल गार्हस्थ उत्पादनको मामिलामा बंगलादेशमा तीव्रताका साथ आर्थिक विकास गरेकी छन् । तर, मुद्रास्फीति बढेको छ । उनको सरकारमाथि भ्रष्टाचार र मानवअधिकार उल्लंघनको आरोप लागेको छ ।

हिंसाको विरोधमा बीएनपी र जमात–ए–इस्लामी दुवै पार्टीले आइतबार देशव्यापी हड्तालको आह्वान गरेका छन् । आइतबार राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ र हजारौँ प्रहरी र अर्धसैनिक सीमा सुरक्षा फौजले बंगलादेशका सडकहरूमा गस्ती गरिरहेका छन् । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro