site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
७३ वर्षपछि पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो ।

मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी ११० देखि ११३ उडान/अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ ।     

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दसैँको घटस्थापनायता दैनिक हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् । उनका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ ११३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान संख्या हो । गत असोज ३० गते ११० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक ११० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । 

“विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो । चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ”, विमानस्थलका महाप्रबन्धक तिवारीले भने । अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग रहेको उनले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक २७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन् । महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी झण्डै ५०० उडान भइरहेको बताए । उनले भने, “दैनिक ५०० हाराहारी उडान भइरहेको छ । यो निकै बढी हो, विमानस्थल स्थापनाभएयता हालसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन् ।”

विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजारभन्दा बढीले हवाई यात्रा गरेका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार ५०० र आन्तरिकतर्फ हरेक घण्टा ५०० यात्रु व्यवस्थापन गर्ने क्षमता छ ।

कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु सङ्ख्या बढिरहेको विमानस्थलले जनाएको छ ।

नेपालकै पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाइ मैदानको रुपमा प्रयोग गर्न सन् १९४९ बाट शुरु गरिएको थियो । पहिलो पटक ‘बीचक्राफ्ट बोनान्जा’ विमान अवतरण भएको यो  विमानस्थलबाट पहिलो पटक सन् १९५०  फेब्रुअरी २० मा हिमालयन एभिएसनको डाकोटा विमान कोलकात्ता उडान भरेको थियो । उक्त विमानस्थलको तत्कालीन राजा महेन्द्रले सन् १९५५ मा उद्घाटन गरेका थिए । सन् १९६४  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण भएको थियो ।

यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट विमान पहिलो जेटविमानको रुपमा अवतरण गरेको थियो । विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ बाट सुरु भएको हो । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro