काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्न एनआरएनएले योगदान गरेको बताएका छन् ।
आज (मंगलबार)देखि सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनमा बोल्दै उनले विगतको लगानी नेपालको विकास र समृद्धिमा महत्त्वपूर्ण सावित भएको बताएका हुन् ।
"विगतको लगानीले नेपालको विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ," उनले भने, "नेपालमा लगानी गर्ने अपार सम्भावना छ, त्यसको सदुपयोग गर्नुहोस् ।"
नेपालमा जलविद्युत्, पर्यटन र आईटीमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गरे ।
एनआरएनएमार्फत विश्वका नेपालीलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले संस्थापक उपेन्द्र महतोलाई धन्यवाद दिए ।
राष्ट्रपति पौडेलले इजरायल–हमास युद्धमा मारिएका नेपालीप्रति दुख व्यक्त गर्दै बेपत्ता विपीन जोशीको खोजीका लागि पहल भइरहेको समेत बताए ।