भन्नुहोस् सरकार,
म कहाँ सुरक्षित छु–
सिंहदरबारको पटांगिनीमा
वा बालुवाटारको प्रांगणमा ?
भन्नुहोस् सरकार,
म कुन प्रकोपबाट सुरक्षित छु–
बाढी, पहिरो, महामारी, दुर्घटना,
हत्या, हिंसा वा बलात्कार ?
भन्नुहोस् सरकार,
तपाईं कुन भ्यु टावरको
मचानबाट हेर्दै हुनुहुन्छ ?
म यो देशको सुदूर भूगोलमा
नांगोे आकाश ओढेर
रोग र भोकसँग लडिरहेको
के तपाईं देख्नुहुन्छ ?
अभावको पहिरोले पुरिएको
मेरो नांगो बस्ती देख्नुभो ?
बन्द बाकसमा शोक ओढेर
भूगोल फर्केको शव हेर्नुभो ?
दिनदहाडै–
स्कुल जाँदा
पानी पँधेरो गर्दा
मेरो अस्मिता लुटिँदा
मैले हारगुहार गर्दा
के तपाईं साँच्चिकै सुन्नुहुन्छ ?
मैले न्यायको भिख मागेर
बीचबजारमा रोइकराइ
चिच्याइरहेको मेरो आवाज
के तपाईंको सिंहदरबारसम्म पुग्छ महोदय ?
भन्नुस् सरकार,
म कहाँ सुरक्षित छु ?
मजस्तै सर्वहाराहरूको
रगत र पसिनाका बुँदहरूले लेखिएको छ
यो सार्वभौम भूगोलको संविधान
तपाईंको त्यो उचाइको मचानमा पुग्ने
लिस्नुको एउटा खुड्किला हुँ म पनि ।
खै मेरो नैसर्गिक अधिकार कहाँ छ ?
मैले न्यायपूर्वक सुरक्षित बाँच्न पाउने
मेरो उन्मुक्त आकाश खै ?
भन्नुहोस् सरकार,
म कहाँ सुरक्षित छु ?
(हेटौँडा)