site stats
बाह्रखरी :: Baahrakhari
देश
एसपी विश्व खड्का : जहाँ गयो त्यहीँ विवादित

काठमाडौं । धनुषाकी २२ वर्षीया आरती साहको मृत्यु प्रकरणमा प्रहरीको तर्फबाट सुरुवाती चरणको अनुसन्धानमै कमजोरी रहेको भन्दै पीडित परिवार ११८ दिनदेखि धर्नामा छ । आरती साहको ६ जेठमा मृत्यु भएको थियो ।

करिब दुई वर्षअघि धनुषाकै मोतीबाबु साहसँग बिहे गरेकी आरतीलाई उनकै श्रीमान्‌ले यातना दिएर हत्या गरेको उनकी आमा निर्मला देवी साहको आरोप छ ।

निर्मलादेवी सुरुवाती चरणमा अनुसन्धान गर्ने प्रहरी अधिकारीको कारबाहीको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी छन् ।

Argakhachi Cement Island Ad

प्रहरीले आरतीको मृत्य प्रकरणका लागि सुरुमै कमजोरी गरेको तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पुग्दा उल्टै धुनषाका प्रहरी प्रमुख एसपी विश्व खड्काले आफूहरूमाथि कुटपिट गरेको आरोप निर्मलादेबीको छ ।

एसपी खड्काको कुटपिटबाट आफ्नो कानको जालीसमेत फुटेको र आफ्नो छोरामाथिसमेत कुटपिट गरेकाले कारबाहीको माग गर्दै धर्नामा बस्नुपरेको निर्मलाले बाह्रखरीलाई बताइन् ।

निर्मलादेवी एसपी खड्कासहित डीएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साह र प्रहरी जवान हनुमान राईको फोटो नै पोस्टरमा राखेर धर्नामा छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीसएसपी रन्जन अवाले भने पीडितले दिएको उजुरीको अरोपमा मोतीबाबु र उनका बुबालाई पक्राउ गरिएको दाबी गरे ।

"पीडित परिवारको उजुरीकै आधारमा हामीले मोतीबाबु र उनका बुबालाई पक्राउ गरेका थियौँ । उनीहरूलाई जिल्ला अदालतले समेत पुर्पक्षका लागि जेल पठायो । यो त हाम्रो अनुसन्धानको सफलता हो," डीएसपी अवाले भने ।

हाल मोतिबाबु र उनका बुबालाई उच्च अदालत जनकपुरले थुनामुक्त गरेको छ ।

आरती दुई महिनाको गर्भवती हुँदा मोतीबाबुको कुटपिटबाट उनको हत्या भएको निर्मलादेवीको आरोप छ ।

जहाँगयो त्यहीँ विवादित हुन्छन् एसपी खड्का

एसपी खड्का जहाँ प्रहरी प्रमुख भएर गयो त्यहाँ विवादित बन्दै आएका छन् । एसपीमा बढुवा भएलगत्तै उनी धनुषा प्रहरी प्रमुख भएर गएका थिए ।

खड्का पूर्वगृहमन्त्री एवं दिवंगत नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काका भतिजा हुन् ।

यसअघि डीएसपी हुँदा महानगरीय प्रहरी वृत्त बालाजु र इलाका प्रहरी कार्यालय गजुरीमा रहँदा प्रहरी आचरण विपरीत काम गरको भन्दै खड्कालाई प्रहरी प्रधान कार्यालयले सरुवा अवधि नपुग्दै तानेको थियो ।

यस्तै, ललितपुर परिसरमा कार्यरत रहँदा एक लाख रुपैयाँ घुस काण्डमा मुछिएपछि उनी कारबाहीमा परेका थिए ।

म्याग्दी जिल्ला प्रहरी प्रमुख र इलाका प्रहरी कार्यालय राजापुरको प्रमुख हुँदा पनि उनी विवादरहित हुन सकेनन् ।

खड्का अर्को सुरक्षा निकाय राष्ट्रिय अनुसन्धान विभागबाट २५ पुस २०५८ मा जनपद प्रहरीमा आएका अधिकृत हुन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्