काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माले व्यवस्थापन विषय अध्ययन गरेका जनशक्तिलाई रोजगारी दिँदा व्यवस्थापकीय सीप र तालिम दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा पद्मकन्या बहुमुखी क्याम्पसको वाणिज्य व्यवस्थापन संकाय स्नातकोत्तर तह (मास्टर अफ बिजनेस म्यानेजमेन्ट कोर्ष)ले आयोजना गरेका कार्यक्रममा उनले उद्योग/कम्पनीले रोजगारी दिँदा तालिमसहित सक्षम बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वाणिज्य व्यवस्थापनको अध्ययन गरेका विद्यार्थीले आफैँ रोजगारीको सिर्जना गर्नुपर्ने धारणा राखे ।
व्यवस्थापनमा जोखिम हुने उनले उल्लेख गरे । जोखिम र निर्णय लिन सक्ने व्यक्ति नै सफल हुने उनको भनाइ छ ।
प्रमुख कार्यकारी अधिकृत देवकोटाले व्यवस्थापनका विद्यार्थीले बजारमा आफ्नो सामान र आफूलाई चिनाउन सक्ने हुनुपर्ने बताए ।
पद्मकन्या क्याम्पस वाणिज्य व्यवस्थापन संकायका प्रमुख एवं सहप्राध्यापक अग्निधर पराजुलीले दक्ष जनशक्ति उत्पादन गरेर विद्यार्थीलाई उद्योग/कम्पनीमा राम्रो स्थानसम्म पुर्याउने बताए ।
सो क्याम्पसकी प्रमुख जयालक्ष्मी प्रधानले वाणिज्य व्यवस्थापनका निम्ति आवश्यक पर्ने सबै कुरामा सहयोग गर्ने बताइन् ।
गएको वर्षदेखि पद्मकन्या क्याम्पसमा मास्टर अफ बिजनेस म्यानेजमेन्ट कोर्ष सञ्चालनमा छ । पहिलो ब्याच दोस्रो सेमेस्टरमा अध्ययन गर्दै छ ।