काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चाडपर्वको समयमा महँगी बढेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै दैनिक रुपमा प्रयोग गर्ने खाद्यान्नलगायत दैनिक उपयोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धिका कारणले विद्यार्थी, निम्न आय भएका श्रमजीवी, दैनिक ज्यालादारी र सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको उल्लेख गरेको छ ।
नियमन गर्ने निकायले नियमित अनुगमन गर्न नसक्दा व्यवसायीहरूले मनपरि ढंगबाट मूल्यवृद्धि गर्दै आइरहेको भन्दै संघले चुस्त बजार अनुगमनको प्रणालीको विकास गर्न माग गरेको छ ।
“माग र आपूर्तिको वैज्ञानिक तथ्यांक राख्न नसक्नु, म्याद गुज्रेको सामान बिक्री वितरण गर्नु, खाद्यान्नको कृत्रिम अभाव सिर्जना गर्नु र कालोबजारी नियन्त्रणमा राख्न नसक्नु सरकार गैरजिम्मेवार रहेको नेविसंघको ठम्याइ रहेको छ,” विज्ञप्तिमा लेखिएको छ ।
संघले महँगी र मूल्यवृद्धिलाई यथाशीघ्र नियन्त्रण गर्न सरकारले अनुगमन र नियन्त्रणलाई कडाइका साथ लागु गर्नुपर्ने, कालोबजारी रोक्नुपर्ने र सुपथ मूल्यका पसलहरूको व्यवस्थापन गर्न माग गरेको छ ।