site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१९औँ एसियाली खेलकुद : पब्जीको सेमिफाइनलमा नेपाल, अन्यको नतिजा निराशाजनक

काठमाडौं । चीनको हाङझाउमा जारी एसियाडको ईस्पोर्ट्सको पब्जी मोबाइलमा नेपाली खेलाडीले शुक्रबार सुखद् नतिजा निकालेका छन् । एलिमिनेसन राउन्डको समूह ‘सी’मा नेपाली टोली उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । जारी एसियाडमा अहिलेसम्म पब्जी मात्र अन्तिम चारमा पुग्ने पहिलो नेपाली टोली हो । नेपालले सहभागिता जनाएको खेलमा हालसम्मको उपलिब्ध भनेको क्वार्टफाइनलसम्मको यात्रा तय गर्नु हो ।

पब्जीको अन्तिम चारमा पुगेका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराईले आफ्नो समूहमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गरेका थिए । समूह ‘सी’मा हङकङ शीर्ष स्थानमा रह्यो । नेपालले प्यालेस्टाइन र साउदीलाई पछि पार्दै अर्को चरण स्थान पक्का गरेको हो । प्रतियोतिगामा वरीयताका आधारमा प्यालेस्टाइनले सिधै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । तर, प्यालेस्टाइन अन्तिम आठभन्दा अगाडि बढ्न सकेन ।

समूह ‘डी’मा तेस्रो भएको प्यालेस्टाइन र चौथो स्थानमा रहेको साउदी अरब बाहिरिएका छन् । अब नेपालले शनिबार सेमिफाइनल खेल्नेछ । सेमिफाइनलमा दोस्रो स्थान रक्षा गरे नेपाल फाइनलमा पुग्नेछ । फाइनलमा पुगे पनि नेपालको पदक निश्चित हुने छैन । स्वर्ण पदकका लागि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीनभित्र रहे मात्र पदक जित्नेछ । यस कारण नेपालले पदक सुरक्षित गर्न कम्तीमा तेस्रो स्थान प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताको समूह ‘ए’बाट शुक्रबार दक्षिण कोरिया र थाइल्यान्ड अन्तिम चारमा पुगेका छन् । समूह ‘बी’बाट आयोजक चीन र चाइनिज ताइपेईले अन्तिम चार स्थान पक्का गरे । समूह ‘डी’बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् । नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेका हुन् । अब चार समूहबाट आएका शीर्ष दुई–दुई गरी आठ टोलीलाई दुई समूहमा सेमिफाइनल खेलाइनेछ । सेमिफाइनलका दुवै समूहमा चार–चार टोली हुनेछन् । समूहका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

सेमिफाइनलमा दुवै समूहको खेल शनिबार हुनेछ । समूह विभाजन भने भइसकेको छैन । सेमिफाइनलमा शीर्ष दुई स्थान हासिल गरे नेपाल फाइनल पुग्दै पदक नजिक पुग्नेछ । नेपाली टोलीका कप्तान सुविन महर्जनले वरीयता पाएको राष्ट्रलाई हराउँदै अगाडि बढ्दा निकै खुसी लागेको बताए । उनले आफ्नो समूहका सबै सहभागी टोली बलियो भएको बताए । ‘‘हाम्रो टोलीमा सहभागी सबी राम्रा थिए, हामीले वरीयता प्राप्त प्यालेस्टाइनलाई पछि पार्न सफल भयौँ,’’ उनले भने, ‘‘अर्को चरणमा निकै कठिन प्रतिद्वन्द्वी छन् ।’’

पौडी

पौडीमा शुक्रबार नेपालका नासिर याहा हुसेन हिट चरणबाटै बाहिरिए । हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा पुरुष चार सय मिटर फ्रिस्टाइलको हिट–२ मा उनले निर्धारित दुरी चार मिनेट २२.०२ सेकेन्डमा पूरा गरे । उनी आफ्नो हिटमा चौथो भएका थिए । उनी २५ मध्ये २२औँ स्थानमा रहे । नासिरको इभेन्ट्ससँगै १९औँ एसियाडमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । पौडीमा नेपालबाट चार खेलाडीले आठ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

महिला बास्केटबल

महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल समूह चरणको सबै खेलमा पराजित भएको छ । जिओग्राफिक इन्फर्मेसन पार्क बास्केटबल कोर्टमा समूह ‘बी’को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग  २२–२ को फराकिलोअन्तरले पराजित भयो ।

नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा गर्‍यो । नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान एक स्कोर गरे । यसअघि नै जापान र कजाखस्तानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा जापानसँग २२–४ तथा दोस्रो खेलमा कजाखस्तानसँग नेपाल १७–१० ले पराजित भएको थियो ।

ब्याडमिन्टन

ब्याडमिन्टनको पुरुष टिम इभेन्टबाट नेपाल पराजित भएको छ । प्रतियोगिताको शुक्रबार जिम्न्याजिम हलमा भएको क्वार्टफाइनल खेलमा नेपाल भारतसँग ३–० ले पराजित भयो । नेपालका प्रिन्स दाहाल भारतका लक्ष्य सेनसँग २१–५ र २१–८ ले पराजित भए । अर्को खेलमा भारतका श्रीनाथ नमाल्वरले नेपालका सुनील जोशीलाई २१–४ र २१–१३ ले पछि पारे । अर्को खेलमा विष्णु कटवाल भारतका मिथुनबाट २१–२ र २१–७ ले हारे ।

ह्यान्डबल

ह्यान्डबलमा नेपाली महिला टोलीले हङकङसँग समूह ‘बी’को खेलमा २७–१८ ले पराजित भयो । नेपालले हङकङलाई पहिलो हाफमा रोक्न सकेन । हङकङले पूर्ण रुपमा खेल नियन्त्रण राख्दा नेपालविरुद्ध १४–६ को प्रदर्शन गर्‍यो । दोस्रो हाफमा नेपाली महिला खेलाडीले गतिलो प्रदर्शन मात्र गरेनन्, हङकङलाई कडा चुनौती पनि दिए । दोस्रो हाफमा नेपालले १३–१२ को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन ।

गल्फ

गल्फमा पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा भएको पुरुष व्यक्तिगत स्पर्धामा शुक्रबहादुर राईबाहेक अन्य खेलाडीले अघिल्लो चरणमा स्थान बनाएनन् । दोस्रो दिन शुक्रबार तीन अन्डर ६९ खेलेका शुक्रको ३६ होलमा पाँच अन्डर १३९ स्कोर छ । पहिलो दिन शुक्रले दुई अन्डर ७० को स्कोर कार्ड राखेका थिए । उनी समग्रमा २९औँ स्थानमा रहँदै फाइनल चरणमा प्रवेश गरेका छन् ।

नेपालले पदकको आशा गरेका सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन भने सोचेजस्तो भएन । समग्रमा इभनपार १४४ खेलेका सुवास र दुई ओभर १४६ खेलेका सद्भाव व्यक्तिगत स्पर्धाबाट बाहिरिएका छन् । अर्का सहभागी युवराज भुजेल समग्रमा ११ ओभर १५५ खेल्दै बाहिरिए ।

नेपाल एसियाड गल्फको पुरुष र महिला टिम स्पर्धाबाट पनि बाहिरिएको छ । महिलातर्फ टिम स्पर्धामा नेपालकी सुस्मा सिग्देल र कस्मिरा शाहले ३६ होलमा समग्रमा ६६ ओभर तीन सय ५४ स्कोर खेले । दोस्रो दिन शुक्रबार कस्मिराले ११ ओभर ८३ र सुस्माले १६ ओभर ८८ खेलेकी थिइन् । नेपाल महिला टिम स्पर्धामा १३औँ भयो । १४ टोली सहभागी टिम इभेन्टमा नेपालले मंगोलियालाई पछि पारेको हो ।

एसियाड गल्फको पुरुषतर्फ हङकङका कहो ताईची कूल २२ अन्डर १२२ स्कोरका साथ शीर्ष स्थानमा छन् ।

एथ्लेटिक्स

एसियाली खेलकुदको महत्वपूर्ण खेलमध्ये एक एथलेटिक्समा शुक्रबार एसियाडको मुख्य रंगशालामा नेपालका सोमबहादुर कुमाल र महिलामा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । कुमालले ४०० मिटर दौड ४८.६८ सेकेन्डमा पूरा गरे । सहभागी सातमध्ये उनी पाँचौँ भए । उनले दक्षिण कोरिया र कीर्गिस्तानका धावकलाई पछि पारे ।

कुमालले एसियाडको तयारी प्रशिक्षणका दौरान नै डेंगु लागेका कारण प्रदर्शन राम्रो नभएको प्रतिक्रिया दिएका छन् । ‘‘प्रतियोगिता अगाडि नै मलाई डेंगु लागेको थिए । यसले मेरो तयारी राम्रो भएन,’’ कुमालले भने, ‘‘बिरामी नपरेको भए, व्यक्तिगत नाममा रहेको रेकर्ड तोड्ने योजना थियो ।’’

नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठले १० हजार मिटर दौड ३८ मिनेट ४०ः१५ सेकेन्डमा सकाइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २१:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro