काठमाडौं । बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि टिमको मार्की खेलाडीमा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक बिष्टसँग सम्झौता गरेको छ ।
नेपाली राष्ट्रिय टिमका मिडफिल्डरमा २३ वर्षीय एरिकले चर्च ब्वाइज युनाइटेडबाट घरेलु लिग खेल्दै आएका छन् । चर्च ब्वाइज यसपटक सहिद स्मारक 'ए' डिभिजन लिगको विजेता बन्दा एरिक टिमको महत्वपूर्ण सदस्य थिए ।
मार्की खेलाडीमा अनुबन्ध भएपछि एरिकले आफू यस सिजनको नेपाल सुपर लिगका लागि निकै उत्साहित रहेको बताए ।
"बुटवल लुम्बिनी एफसीका लागि यस सिजन मार्की खेलाडीको रुपमा आउन पाउँदा निकै खुसी छु, र उत्तिकै उत्साहित पनि । अब बन्ने टिममा पनि विश्वास गरेको छु, निकै राम्रो टिम बन्ने छ । र, हामी यसपटक टाइटलका लागि खेल्नेछौँ," एरिकले भने ।
बुटवल लुम्बिनीले अघिल्लों सिजन प्ले अफ खेलेको थियो । यो सिजनको एनएसएल नोभेम्बर २४ देखि सुरू हुनेछ ।