site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अब दसैँमा क्यूआरबाटै नयाँ नोट सटही गर्न पाइने : कति पाइन्छ साट्न ?

काठमाडौं । यस वर्षको दसैँमा नयाँ नोट क्यूआरमार्फत नै साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ क्यूआरमार्फत नयाँ नोट साट्न पाउने व्यवस्था गर्ने भएको हो ।

नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले नोट नबोकी आउँदा पनि हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले बताए । नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर राष्ट्र बैंकबाट नयाँ नोट लिन सक्ने उनको भनाइ छ । 

“यो वर्षको दसैँमा नयाँ नोट सट्न आउनेहरूलाई क्यूआरमार्फत सटही गर्न पाउने व्यवस्था पनि गरिने छ । राष्ट्र बैंकको प्राथमिकता डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु पनि हो,” उनले भने, “तर, क्यूआरबाहेक नोट लिएर आउनेलाई नयाँ नोट नदिने भन्ने चाहिँ हैन । नोट बोकेर आउनेलाई पनि हामीले नयाँ नोट उपलब्ध गराउँछौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नोट साट्ने बैंक तथा वित्तीय संस्थालाई भने कस्तो व्यवस्था गर्ने भन्ने विषयमा छलफल भइरहेको शाक्यले बताए । सम्भव भएसम्म क्यूआरको विकल्प राख्नलाई पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिने उनको भनाइ छ । 

त्यस्तै, यो वर्ष पनि सधैँ झैँ एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नै नयाँ नोट साट्ने व्यवस्था गरिने शाक्यको भनाइ छ । पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले नै प्रतिव्यक्ति उपलब्ध गराइने शाक्यले बताए । 

तर, नयाँ नोट कहिलेदेखि सटही गर्ने भन्ने विषयमा अहिले नै निर्णय भइनसकेको राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । उनका अनुसार राष्ट्र बैंक अहिले यस विषयमा आन्तरिक छलफलमा जुटेको छ । 

“नयाँ नोट कहिलेदेखि बैंक तथा वित्तीय संस्थालाई र सर्वसाधारणलाई दिने भन्ने विषयमा आधिकारिक निर्णय भएको छैन । तर, आन्तरिक छलफल भइरहेको छ,” पोखरेलले भने, “कति नयाँ नोट आवश्यक पर्ने हो भनेर हामीले राखेका नोटकोष र प्रादेशिक कार्यालयलाई विवरण माग गरेका छौँ । सोही अनुसार हामीले नयाँ नोट बजारमा पठाउने योजना बताएका छौँ ।”  

गत वर्ष राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गतेदेखि र सर्वसाधारणलाई भदौ २९ गतेदेखि नयाँ नोट सटही गरेको थियो । गत वर्ष फूलपाति असोज १६ गते थियो । गत वर्ष फूलपातिभन्दा १७ दिन अगाडिदेखि नै नयाँ नोट सटही गरिएको थियो । यो वर्षको फूलपाति आउन २५ दिन बाँकी छ ।

गत वर्ष राष्ट्र बैंकले दसैँका लागि पाँच देखि १०० का २२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाएको थियो । यो वर्ष पनि यही हाराहारीमा नयाँ नोट बजारमा जान सक्ने राष्ट्र बैंकको आकलन छ । 

अघिल्लो वर्षको दसैँमा भने आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही भएको बताइएको छ । राष्ट्र बैंकले चार्ड पर्वलाई लक्षित गरेर एक हजार ६०० रुपैयाँ र चार हजार मूल्यका चाँदीका नयाँ सिक्कासमेत सार्वजनिक गरेको छ । नयाँ नोट नबिग्रिऊन भनेर पनि यस्ता सिक्का ल्याइएको शाक्य बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्