
काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले अहिलेको बजेटले सार्वजनिक खर्च कटौतीमा ध्यान नपुर्याएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्रीसमेत रहेका गिरीले बजेटमा धेरै सकारात्मक विषय भए पनि केही कमजोरी रहेको बताए ।
“सबै कुरा राम्रो छ, अब सुधार गर्ने ठाउँ नै छैन म भनिरहेको छैन, सार्वजनिक खर्च कटौतीमा प्रयाप्त ध्यान पुगेको छैन भन्ने मलाई लाग्छ,” उनले भने, “आयोगहरूले दिएका प्रतिवेदनहरू छन् । त्यसलाई कार्यान्वयन गर्ने कुरामा पर्याप्त ध्यान पुगेन ।”
घाटामा भएका सार्वजनिक कम्पनीलाई व्यवस्थापन गर्ने कुरामा पनि ध्यान नपुगेको उनले बताए । राजस्वको लक्ष्य पूरा गर्न ठोस योजना नआएको उनको भनाइ छ ।
तर, तीन करोडभन्दा कमका आयोजनामा बजेट नदिएको उनले बताए । कुनैकुनै आयोजना सम्पन्न गर्नुपर्ने भएकाले तीन करोडभन्दा कम बजेट परेकामा अन्यथा बुझ्न नहुने उनले बताए ।