site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वाग्मतीको बजेट : सवारीसाधनको तीन वर्षको कर एकैपटक तिरे छुट दिइने
फाइल तस्बिर ।

काठमाडौं । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ सम्म सवारीसाधन कर नबुझाएकालाई छुट योजना ल्याएको छ । आइतबार (असार १ गते) सार्वजनिक गरिएको आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत छुट व्यवस्था गरिएको हो ।

सवारीसाधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका धनीले पछिल्लो तीन आर्थिक वर्षको कर र दस्तुर बुझाए छुटको व्यवस्था गरिएको छ । यसमा त्यसअघिका वर्षहरूको यस्तो कर तथा जरिवाना छुट हुने बजेटमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो छुट पाउन आर्थिक वर्ष ०८०/८१, ०८१/८२ र ०८२/८३ को सवारीसाधन कर तथा नवीकरण दस्तुर र जरिवाना ०८३ जेठ मसान्तसम्म बुझाउनुपर्छ ।

“आर्थिक वर्ष २०८१/८२ सम्म प्रचलित कानुनानुसार सवारीसाधन कर नबुझाएका र सवारीसाधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका सवारीधनीले पछिल्लो तीन आर्थिक वर्षको सवारीसाधन कर तथा नवीकरण दस्तुर संवत् २०८३ जेठ मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिका आर्थिक वर्षहरूमा लाग्ने सवारीसाधन कर तथा नवीकरण दस्तुर र जरिवानामा छुट गरिनेछ,” वाग्मती सरकारले सार्वजनिक गरेको नयाँ बजेटको बुँदा नम्बर–२१४ मा उल्लेख छ ।

संघ, प्रदेश सरकार, स्थानीय तह र मातहतका निकायको स्वामित्वमा रहेका मर्मतसम्भार गरी प्रयोगमा ल्याउन नसकिने सवारीसाधनको हकमा पनि छुट दिइएको छ । सम्बन्धित सवारीसाधन दर्ता भएका कार्यालयले यातायात व्यवस्था हेर्ने मन्त्रालयको स्वीकृतिमा तिर्नु तथा बुझाउनुपर्ने राजस्व बाँकी भए त्यो समेत मिनाहा हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्