विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री र दुई राज्यमन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कार्कीले लिलावल्लव अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाइँ तथा ऊर्जा मन्त्री, रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
यसअघि कोसी प्रदेशको मन्त्रीमण्डल पाँच सदस्यीय थियो । उद्धव थापा नेतृत्वको सरकार सर्वोच्च अदालतले बर्खास्त गरेपछि पछिल्लोपटक ठूलो दलको नेताको हैसियतमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।