site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले कोसी अधिवेशन : अध्यक्षमा चारजनाको दाबी

विराटनगर । नेपाल (एमाले) कोसी प्रदेशको नेतृत्वमा पुग्न नेताहरूबीच रस्साकस्सी सुरु भएको छ । अध्यक्ष पदमा चारजनाले दाबी प्रस्तुत गरेका छन् ।

अधिवेशनका लागि प्रतिनिधिको छनोट सकिएको प्रदेश कमिटीका सचिव चिन्तन पाठकले जानकारी दिएका छन् ।

“धेरै जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि छानिनु भयो,” पाठकले भने, “शुक्रबार साँझसम्म प्रतिनिधि छनोट गरिसक्ने तयारी थियो । सुनसरी र उदयपुरमा भने एक दिन ढिलो गरी सकियो ।”

Argakhachi Cement Island Ad

अधिवेशनमा ताप्लेजुङबाट ४८, पाँचथर ३०, इलाम ७७, झापा १८१, संखुवासभा ३९, तेह्रथुम ४३, भोजपुर २७, धनुकटा ७२ जना प्रतिनिधि चयन भएका छन् ।

त्यस्तै, सुनसरी ९६, मोरङ १७८, सोलुखुम्बु १६, ओखलढुंगा ४२, खोटाङ ५६, उदयपुर ३६ र विभिन्न २३ वटा जनसंगठनबाट ५६ जना प्रतिनिधि चयन भएका छन् ।

९९७ सहभागी हुनेमध्येको पाँच प्रतिशत अर्थात ५० जना मनोनीत गरी कुल एक हजार ४७ प्रतिनिधिले भाग लिने सचिव पाठकले बताए ।

उनले भने, “अधिवेशनमा ३३४ महिला र ७१३ पुरुष प्रतिनिधिमध्ये दलितबाट ५३ र मजदुरबाट ३२ जना सहभागी हुनु हुनेछ ।” एमालेको प्रदेश कमिटी २१५ जनाको हुनेछ ।

एमालेको कोसी प्रदेश अधिवेशन असोज १२ र १३ गतेलाई तय भएको छ । तयारीका लागि १४ उपसमिति गठन भएका छन् । विराटनगरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनमा पार्टीमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सल्लाहकार र केन्द्रीय निकायका सदस्य अतिथिको रुपमा आमन्त्रण गरिएको एमालेले जनाएको छ ।

अध्यक्षका आकांक्षी को कस्ता ?
एमाले कोसी अध्यक्ष बन्ने दौडमा चारजना आकांक्षी देखिएका छन् । विनोद ढकाल, घनश्याम खतिवडा, तुलसीप्रसाद न्यौपाने र टीका चेम्जोङ रहेका छन् ।

ढकाल मोरङ जिल्लाका पूर्वअध्यक्ष हुन् । यसैगरी खतिवडा प्रतिनिधि सभाका पूर्वसांसद हुन् ।

न्यौपाने हाल पार्टी प्रदेश कमिटी अध्यक्ष छन् । उनी छोटो समयको लागि कोसी प्रदेशको पूर्वआर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीमा पनि थिए । तर, सरकार ढलेसँगै उनी मन्त्री पदबाट बाहिरिएका थिए । चेम्जोङ पार्टीको प्रदेश कमिटी उपाध्यक्ष हुन ।

अध्यक्षका चारैजना प्रत्यासी आ–आफ्नो जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् । पार्टी विधानअनुसार निर्वाचित प्रदेश अध्यक्षको हैसियत पार्टीको पोलिटब्युरो सदस्य सरह हुन्छ ।

अध्यक्षका आकांक्षी ढकालले पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकोले सकेसम्म सर्वसम्मतिको प्रयास हुने बताउँदै आफूले पार्टीमा लामो समयसम्म जिल्ला तहमा बसेर काम गरेकोले पनि प्रदेशमा दाबी गरेको बताए ।

“अधिवेशन नै भएकोले साथीभाइ र प्रतिनिधिहरूलाई आफ्नो एजेण्डा बताउने काम गरिरहेको छु,” ढकालले भने ।

ढकाल मोरङमा दुई कार्यकाल अध्यक्ष थिए । संगठन सुदृढीकरणदेखि प्रदेश राजधानी विराटनगरमा अन्तर पार्टी समन्वयमा समेत उनको नेतृत्वको चर्चा हुनेगर्छ । पार्टी विभाजनका बेलासमेत मोरङमा पार्टी तथा भ्रातृसंगठनमा क्षति हुन नदिएको पार्टी पंक्तिभित्रै उनको सवल पक्ष मान्ने गरिएको छ । विगतदेखि नै पार्टी अध्यक्ष केपी ओली निकट रहेर काम गरेका ढकाल यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत उमेदवार थिए ।

मोरङको उर्लाबारीका घनश्याम खतिवडा यसअघि प्रतिनिधिसभा सदस्य थिए । पछिल्लो संसदीय निर्वाचनमा भने उनी कांग्रेसका डिगबहादुर लिम्बूसँग पराजित बने ।

नेकपा (एकीकृत समाजवादी) बन्नु अघिसम्म खतिवडा पनि माधव नेपाल समूहमा थिए । १० बुँदे सहमतिपछि समाजवादीतिर लागेनन् एमालेमै रहे । खतिवडा मोरङमा भएका एमालेका पाका नेताको सूचीमा पर्छन् ।

“मैले पार्टीभित्र एकताको लागि प्रयास गरौं भनेको छु । यो भएन भने पार्टीभित्र कहिलेकाहीँ अध्यक्षको उमेदवार बन्नु नराम्रो होइन । पार्टीमा काम पाउँ भनेर आग्रह गरेको हो,” खतिवडाले भने, “पहिले सांसद थिए । लामो समयसम्म संसदीय फाँटमा काम गरें । पार्टीको मूल जिम्मेवारी लिने इच्छा गरेको हो । अनुमोदन हुनेमा विश्वास छ तर सहमतिमा बाधक चाहिँ होइन ।”

प्रदेश कमिटीका वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने संखुवासभाका हुन् । एमाले विभाजनअघि उनी माधव नेपाल समूहमा थिए । तर, विभाजनपछि पनि पार्टीमै रहे ।

प्रदेशसभा सदस्य हुँदै आर्थिक मामिला तथा योजनामन्त्री बने । तर, लामो समय काम गर्न पाएनन् । आफ्नो कार्यकालमा बजेट ल्याउन नपाइ न्यौपानेको कार्यकाल सकिएको थियो ।

अर्का आकांक्षी टिकाराम चेम्जोङ प्रतिनिधिसभाका पूर्वसांसद हुन् । अहिले प्रदेश कमिटी उपाध्यक्ष छन् । उनले तत्कालीन जिल्ला विकास समितिमा समेत नेतृत्व निर्वाह गरेका थिए । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्