site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर धितो कर्जा सम्बन्धी व्यवस्था संशोधन गर्न लगानीकर्ताको दबाब, गभर्नर सकारात्मक !

काठमाडौं । पछिल्लो समय सेयर बजारमा दैनिक कारोबार सुस्ताएको छ ।  दुई वर्षअघि दैनिक २१ अर्बसम्मको सेयर कारोबार भएको बजारमा अहिले एक अर्बको हाराहारीमा सेयर कारोबार हुने गरेको छ ।

यसरी बजार सुस्ताउनुको कारण नेपाल राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जामा लगाएको १२ करोड रुपैयाँको क्यापलाई देखाइएको छ । 

कोभिडको समयमा बजार बढ्दा एउटै व्यक्तिले बढी ऋण लिएको भन्दै राष्ट्र बैंकले सेयर धितो राखेर एउटा  बैंकबाट चार करोड र कुल १२ करोडसम्म ऋण लिन पाउने व्यवस्था गरेको थियो ।

अहिले एक वा एकभन्दा बढी बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था छ ।  यो १२ करोड रुपैयाँको क्याप हटाउन लगानीकर्ताले माग गर्दै आएका छन् । सोमबार पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालसहितको सेयर लगानीकर्ता टोलीले गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी सेयर धितो कर्जा र जोखिम भारको विषयमा कुरा गरेका थिए ।

गभर्नरसँगको छलफलमा राष्ट्र बैंकको कडाइले बजारमा आम लगानीकर्ताको मनोबल कमजोर भएको र अहिलेको व्यवस्थालाई हेरफेर गर्न आग्रह गरिएको सहभागी एक लगानीकर्ताले बताए ।  उनका अनुसार लगानीकर्ताको कुरामा गभर्नर अधिकारी सकारात्मक रहेका छन् । “छलफलमा गभर्नर सकारात्मक नै देखिनु भएको छ । अब केही हेरफेर होला,” उनले भने ।

बजार बढ्दा ल्याइएको नीति सधैं लागु गरिरहन नहुने उनले बताए ।  ५० लाखसम्मको सेयर धितो कर्जालाई १०० प्रतिशत र त्योभन्दा माथिको कर्जालाई १५० प्रतिशतसम्म जोखिम भारमा गणना गर्नुपर्ने व्यवस्था छ ।  

“बजार बढेर ३२ सय पुग्दा बनाइएको नीति अहिले पनि रहिरहनु राम्रो हैन । अब यसलाई करेक्सन गर्ने समय आएको छ,” ती लगानीकर्ताले भने, “बजार बढेको समयमा एक दुईजना लगानीकर्ताले बढी ऋण लिए भन्दैमा सबैलाई एउटै डोकोमा हाल्न त भएन नि ! कसले बजारमा गलत कार्य गर्‍यो, उसलाई कारबाही गर्ने जिम्मा नियामकको हो ।”

पुँजीबजार चलायमान नहुँदा पनि अहिले अर्थतन्त्रमा समस्या आएको लगानीकर्ताहरूको बुझाइ छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सेयर बजारमा १२ करोडको सीमा हुन नहुने भन्दै आएका छन् ।  यसमा राष्ट्र बैंकले उचित निर्णय लिनुपर्ने अर्थमन्त्री महतको भनाइ छ ।

सांसद ढकालले पनि राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन उचित निर्णय लिनुपर्नेमा जोड दिएका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro