काठमाडौं । पहिलो चरणको निर्वाचन हुने धादिङ जिल्लाका उमेदवार चुनावी प्रचारका लागि गाउँ पसिसकेका छन् । तिहारको भोलिपल्ट अर्थात कात्तिक ५ गते उमेदवारी दिएका उनीहरू दुई ध्रुबमा बाँडिएर प्रचारमा जुटेका हुन् ।
धादिङमा पनि कम्युनिष्ट गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा देखिएको छ ।
धादिङमा एमाले–माओवादी गठबन्धन र कांग्रेस, राप्रपा र क्षेत्र नं २ मा नयाँ शक्तिको संयुक्त गठबन्धन बीच प्रतिस्पर्धा हुँदैछ ।
कम्युनिष्ट गठबन्धनबाट दुवै क्षेत्रमा एमालेका उमेदवारी दिएको छ भने लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उमेदवार छन् । प्रदेशसभामा भने क्षेत्र १ (क) र २ (क) एमालेको भागमा परेको छ भने १ (ख) र २ (ख) माओवादीले लिएको छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र १ (क), १ (ख), २ (क) मा कांग्रेसका उमेदवार छन् भने २ (ख) मा राप्रपाले उमेदवारी दिएको छ ।
कम्युनिष्ट गठबन्धनको तर्फबाट क्षेत्र नं १ मा एमालेका भूमी त्रिपाठी उमेदवार छन् भने कांग्रेसको तर्फबाट विश्व अर्याललाई अगाडि सरेका छन् । त्यस्तै, क्षेत्र नम्बर २ बाट एमालेका खेम लोहनी र कांग्रेसबाट दिलमान पाख्रिन उमेदवार बनेका छन् ।
एमाले केन्द्रीय संसदका लागि दुवै उमेदवार नयाँ हुन् भने क्षेत्र नं. १ का कांग्रेस उमेदवार निर्माण व्यवसायी हुन् भने २ नम्बर क्षेत्रबाट उमेदवार बनेका पाख्रिन २०६४ मा पराजित तथा २०७० मा समानुपातिकबाट सांसद भएका हुन् ।
धादिङको विगत
बहुदल स्थापनापछि २०४८ सालको आम निर्वाचनदेखि धादिङमा ३ क्षेत्र कायम थिए । नयाँ संरचनाअनुसार अहिले २ क्षेत्र कायम गरिएको छ । २०४८ देखिको निर्वाचन परिणामाई हेर्दा एमाले प्रायः बलियो अवस्थामा देखिएको छ ।
एमालेले २०४८ मा दुई, २०५१ मा २, २०५६ मा १ र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तीन सिटमा नै जित हासिल गरेको थियो । २०७० को चुनावमा एमालेका क्षेत्र १ बाट राजेन्द्र पाण्डे, क्षेत्र २ बाट गुरु बुर्लाकोटी र ३ नम्बर क्षेत्रबाट धनबहादुर घले निर्वाचित भएका थिए ।
धादिङबाट कांग्रेसले २०४८ मा एक र २०५६ एक सिटबाहेक जित्न सकेको छैन । माओवादी केन्द्रले पहिलो संविधानसभा निर्वाचनमा तीनै क्षेत्र माओवादीकका पुष्प विक्रम मल्ल, कल्पना धमला र शालिकराम जमरट्टेल जितेका थिए । त्यस्तै, राप्रपाका बुद्धिमान तामाङले २०५१ र २०५४ को निर्वाचनमा विजयी हासिल गरेका थिए ।
स्थानीय तह निर्वाचन नतिजा
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले केही तहमा तालमेल गरेका थिए । तालमेल हुँदा एमालेले ८ स्थानीय तहमा जित हासिल गर्दै आफूलाई बलियो सावित गरेको थियो ।
क्षेत्र नं १ मा दोब्बरभन्दा बढिले अगाडि
यो क्षेत्रमा धुनीवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट गाउँपालिका, रोराङ्ग गाउँपाकिला र सिद्धलेक गाउँपालिका पर्दछन् ।
यी तहका स्थानीय निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतअनुसार कम्युनिष्ट गठबन्धनमा रहेको एमाले ३५ हजार १८२ मत छ भने माओवादी केन्द्रको पक्षमा २० हजार ९८४ मत रहेको छ ।
यता कांग्रेसको पक्षमा १९ हजार १७७ मत रहेको छ भने राप्रपाको १ हजार ३६५ मत रहेको छ । दुई पक्षको मत जोड्दा कम्युनिष्ट दल धेरै अगाडि देखिएकाले कांग्रेसको सम्भावना अत्यन्त न्यून देखिन्छ । यो क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सघाएको छैन ।
क्षेत्र नं २ : राप्रपा र नयाँ शक्तिसँगको तालमेलले कांग्रेसलाई राहत
धादिङको क्षेत्र नम्बर २ अन्तर्गत रुवी भ्याली गाउँपालिका, गंगाजमुना गाउँपालिका, खनियाबास गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नेत्रावती गाउँपालिका, निलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका पर्दछन् ।
यो क्षेत्रमा स्थानीय तहको नतिजाअनुसार कांग्रेस एक्लै अन्य दलभन्दा बलियो देखिन्छ । यद्यपी दुई कम्युनिष्ट गठबन्धनको मत भने कांग्रेस र सो पार्टीसँग तालमेल गरेको राप्रपा र सो क्षेत्रमा सघाउने नयाँ शक्तिको जोड्दा पनि ८ हजार ३६१ मतले अगाडि छ ।
यो क्षेत्रमा एमालेको २३ हजार ८११, माओवादी १४ हजार १०२ मत गरी ३७ हजार ९१३ मत देखिन्छ । यता कांग्रेसको २५ हजार २२८, राप्रपा ३ हजार ४३८ र नयाँ शक्तिको ८८६ गरी २९ हजार ५५२ मत रहेको छ ।
स्थानीय तह नतिजाअनुसार क्षेत्र नं १ मा कम्युनिष्ट गठबन्धन निकै अगाडि देखिन्छ । क्षेत्र २ मा भने कांग्रेसका बहालवाला राज्यमन्त्री पाख्रिन उमेदवार भएको र एमाले उमेदवार नयाँ भएका कारण उनको प्रतिस्पर्धा राम्रै हुने देखिन्छ । पाख्रिनले एमाले–माओवादीको भोट काट्ने तथा राप्रपा र नयाँ शक्तिको भोटको सहयोगले चुनाव जित्ने दाबी गरेका छन् । प्रचार–प्रसारमा आफ्नो क्षेत्रमै रहेका उनीहरूले आफ्नो जितको दाबी यसरी पेश गरेका छन् ।
आफ्नै कार्यकर्ताले भोट हाल्दैनन्ः अर्याल
धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फबाट उमेदवारी दिएका काँग्रेस नेता विश्व अर्यालले एमाले र माओवादीका कार्यकर्ताहरुले आफ्नै पार्टीमा भोट नहाल्ने भएकाले आफूले चुनाव जित्ने जिकिर गरे ।
उनले भने, “अहिलेको यो एमाले र माओवादीबीचको वाम गठबन्धन क्षणिक हो, माथि–माथीका नेताहरु मिले पनि तलका कार्यकर्ताहरु भने मिलेका छैनन् । गठबन्धन बनेपछि झन धादिङका कार्यकर्ताहरुले आफ्नो पार्टीलाई नै भोट नहाल्ने स्थिति छ, त्यसैले मेरो जित सुनिश्चित छ ।”
धादिङमा कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्नै सक्दैनः त्रिपाठी
धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फबाट उमेदवारी दिएका एमालेका नेताभूमि त्रिपाठीले कांग्रेसका उमेदवारलाई ३५ हजारको मतले पछि पार्दै आफूले चुनाव जित्ने दावी गरे ।
उनले भने, “धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसका उमेदवारसँग हाम्रो प्रतिस्पर्धा नै हुँदैन, प्रतिस्पर्धा हुनलाई त कांग्रेसले हामी जत्तिकै भोट ल्याउनुपर्छ, उहाँहरुलाई हामी ३५ हजारको मतले पछि पार्दै चुनाव जित्छौं, स्थानीयतहको निर्वाचनलाई हेर्न हो भने पनि सिंगै धादिङमा एमाले बलियो छ, काँग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन ।”
नयाँशक्ति र राप्रपाको साथले चुनाव जित्छु : पाख्रिन
धादिङ क्षेत्र नम्बर २ मा प्रतिनिधितर्फबाट उमेदवारी दिएका कांग्रेस नेता दिलमान पाख्रिनले पनि आफूलाई नयाँ शक्ति पार्टी नेपाल र राप्रपाले सहयोग गर्ने भन्दै चुनाव जित्ने जिकिर गरे । उनले भने, “धादिङ क्षेत्र नम्बर २ बाट प्रनिनिधिसभाको निर्वाचन जित्नेमा म ढुक्क छु, मलाई नयाँशक्ति र राप्रपाले साथ दिँदैछन् । यसै क्षेत्रबाट नयाँशक्ति पार्टीबाट उमेदवारी दिएका डा. राजेन्द्र केसीले आफ्नो उमेदवारी फिर्ता लिएर मलाई जिताउने अभियानमा लाग्नुभएको छ ।”
धादिङको सम्रग विकासको लागि मेरो जित पक्काः लोहनी
धादिङ क्षेत्र नम्बर २ मा प्रनिधिसभातर्फबाट उमेदवारी दिएका एमाले नेता खेम लोहनीले आफूले विगतदेखि नै धादिङमा विकासका कार्यहरु गर्दै आएको बताउँदै जिल्लाको सम्रग विकासको लागि आफ्नो जित पक्का रहेको बताए ।
उनले भने, “स्थानीय तहको निर्वाचनलाई हेर्न हो भने पनि धादिङमा एमाले र माओवादी बलियो छ । मैले विगतदेखि नै धादिङमा विकास काकार्यहरु गर्दै आएको छु । मलाई विश्वास छ धादिङका मतदाताले मलाई नै रोज्छन् ।”