site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमालय एयरलाइन्सले सुरु गर्‍यो काठमाडौं–छिङ्डाओ उडान

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा हवाई उडान सुरु गरेको छ । 

एयरलाइन्सले आइतबारबाट छिन्ताओमा सिधा उडान सुरु गरेको हो । सिधा उडानको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ लगायतले शुभारम्भ गरेका छन् । 

साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।  हिमालय एयरलाइन्स्ले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उद्घाटन उडानका अवसरमा पर्यटनमन्त्री किरातीले चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिन्ताओमा हिमालयले पहिलो पर्यटक उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर भएकाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ । 

त्यस्तै, चिनियाँ राजदूत सोङले नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउने बताए । द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्दै दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ । 

पहिलो उडानमा ११४ यात्रु सवार थिए । पहिलो आउटबाउन्ड उडान, एच९ ७२२०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको थियो । 

छिङदाओको जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्नेछ । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ ।

सेप्टेम्बरमा साताको चार चार्टर्ड उडान हुनेछ । प्राधिकरणसँग अनुमति लिएर अक्टोबरदेखि नियमित उडान सुरु गर्ने योजना रहेको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले चीनमा पहिलो नियमित उडान सन् २०१९ अक्टोबरमा बेइजिङमा गरेको थियो । कम्पनीले पछिल्ला वर्षमा चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडान गर्दै आएको छ । कम्पनीले दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेशलगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्