site stats
बाह्रखरी :: Baahrakhari
देश
‘मृत्युको रेमिट्यान्स’ : पाँच वर्षमा तीन अर्ब १८ करोड भित्रियो

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरुले वर्षेनी खर्बौं रुपैयाँ रेमिट्यान्स नेपाल पठाउने गर्छन् । यो त सबैलाई थाहा भएकै कुरा हो ।  तर वैदेशिक रोजागारीमा गएकाहरु जसको अनेक कारणले मृत्यु हुन्छ, उनीहरुको मृत्युवापत पनि देशमा वर्षेनी करोडौं रुपैयाँ भित्रिरहेको हुन्छ । 

अर्थात् ‘मृत्युको रेमिट्यान्स ।’ 

रोजगारदाता कम्पनी, बीमा कम्पनी तथा अन्य सरोकारवाला निकायले क्षतिपूर्तिवापत यस्तो रकम मृत्यु भएको कामदारको परिवारलाई उपलब्ध गराउँछन् ।  यस्तो रकम सम्बन्धित देशमा रहेका नेपाली नियोगमार्फत कन्सुलर विभागमा र विभागले जिल्ला प्रशासन कार्यालयमार्फत पीडित परिवारसमक्ष पुर्‍याउँछ ।

Argakhachi Cement Island Ad

यस्तो रकम प्राप्त गर्न कहिलो काहीँ अड्डा–अदालत पनि धाउनु पर्छ । र, पाउन वर्षौं लाग्न पनि सक्छ । यो काम विदेशस्थित नेपाली नियोगले हेर्छन् । 

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार, पछिल्लो पाँच वर्षमा विदेशमा मृत्यु तथा घाइते भएकाको नेपालमा रहेका परिवारले क्षतिपूर्तिवापत ३ अर्ब १८ करोड ५४ लाख ४४ हजार ९७५ रुपैयाँ प्राप्त गरेका छन् । 

यस्तो क्षतिपूर्ति पाउनेमा अधिकांश वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएकाको परिवार छन् । वैदेशिक रोजगारीका त्रममा घाइते भई क्षतिपूर्ति पाउनेको संख्या र रकम दुवै सानो छ । 

“गत आर्थिक वर्ष २०७९–८० मा विदेशमा कार्यरत नेपालीहरुको क्षतिपूर्ति वापत प्राप्त भई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइएको कुल रकम ८० करोड ४३ लाख ४० हजार ९७५ रुपैयाँ छ,” कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले बाह्रखरीसँग भने ।

वैदेशिक रोजगार बोर्डका अनुसार, गत आर्थिक वर्ष नै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार २०८ जनाको परिवारलाई आर्थिक सहायता स्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ बोर्डले प्रदान गरेको थियो । 

सोही समयमा वैदेशिक रोजगारीका अक्रममा अंगभग र गम्भीर विरामी भएका ३८९ जनालाई ९ करोड ९७ लाख ८ हजार रुपैयाँ बोर्डले आर्थिक सहायता उपलब्ध गरेको थियो । 

विदेशस्थित नियोगले पठाउने र बैदेशिक रोजगार बोर्डले दिने रकम फरक फरक हो । गत आर्थिक वर्ष २०७९–८० मा मात्र वैदेशिक रोजगारीका क्रममा मृत्यु र घाइते हुनेका परिवारलाई बोर्ड र विदेशस्थित रोजगारदाता कम्पनी तथा सरोकारवाला निकायले क्षतिपूर्ति र आर्थिक सहायता स्वरुप कुल एक अर्ब ५५ करोड ९२ लाख २८ हजार ९७५ रुपैयाँ उपलब्ध गराएका छन् ।

वैदेशिक रोजागारीका क्रममा कार्यस्थल दुर्घटना, सडक दुर्घटना, हत्या लगायत विविध कारणबाट वर्षेनी ठूलो संख्यामा नेपालीले ज्यान गुमाउने गरेका छन् । बोर्डका अनुसार, पछिल्लो १५ वर्षमा मात्र वैदेशिक रोजगारीमा गएकामध्ये १२ हजार १४० जनाको मृत्यु विदेशी भूमिमा भएको छ । सो संख्या आर्थिक वर्ष २०६५–६६ देखि २०७९–८० सम्मको हो । 

यो तथ्याङ्कले वर्षेनी औसतमा ८०९ जनाभन्दा बढी नेपालीको मृत्यु वैदेशिक रोजगारीको क्रममा हुने गरेको देखाउँछ । 

बितेको १५ वर्षमा वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परी अंगभंग हुने नेपालीको संख्या २ हजार ५१४ रहेको छ । अर्थात् वर्षेनी औषतमा १६७ जनाभन्दा बढी नेपालीको विदेशमा अंगभंग हुने गरेको छ । 

आर्थिक वर्ष २०७८–७९ मा वदैशिक रोजगारीका क्रममा विदेशमा मृत्यु तथा घाइते भएका ६६२ जनाको परिवारलाई ७० करोड ७० लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप रोजगारदाता कम्पनी, बीमा कम्पनी र अन्य सरोकारवाला निकायले उपलब्ध गरेका थिए । 

आर्थिक वर्ष २०७७–७८ मा विदेशस्थित रोजगारदाता कम्पनी, बीमा कम्पनी र अन्य सरोकारवाला निकायले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा घाइते भएका ८११ जनाको परिवारलाई क्षतिपूर्ति स्वरुप ६२ करोड २ लाख ९० हजार रुपैयाँ प्रदान गरेका थिए । 

आर्थिक वर्ष २०७६–७७ मा श्रम गन्तव्य मुलुकमा मृत्यु–घाइते भएका ३०८ जनाको परिवारलाई क्षतिपूर्तिवापत २७ करोड २९ लाख १४ हजार रुपैयाँ विदेशस्थित नेपाली नियोगले सरोकारवालासँग उठाएर पठाएका थिए । आर्थिक वर्ष २०७४–७५ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई रोजगारदाता कम्पनी, बीमा कम्पनी र अन्य सरोकारवाला निकायले क्षतिपूर्तिबापत ७८ करोड ९ लाख रुपैयाँ उपलब्ध गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्