काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने, "नेपालमा पछिल्लो समय केही तत्वहरूले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको छ तर इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार गरेको छैन, गदैन पनि ।"
मन्त्री किरातीले नेपाल सबै जाति, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्वहरूले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए । विगतमा राजाको पालामा साम्प्रदायिकता भड्काउने काम भएपनि त्यस्तो हुन नसकेको उल्लेख गरे ।
उनले नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण, विकास, संवर्द्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको सस्कृतिमाथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट पारेको दाबी गरे । नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा धनी, ठूलो र सुन्दर रहेको बताए ।