site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हाइकुई आँधीले ताइवानमा क्षति

ताइतुङ (ताइवान) । हाइकुई आँधीका कारण सोमबार ताइवानको तटीय क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । आँधीले सयौँ रुखहरू ढालेको छ । आँधीसँगै आएको मुसलधारे वर्षाका कारण तटीय सडकहरूमा व्यापक क्षति पुगेको छ ।

हाइकुई सुरुमा टापुबाट बाहिरिएको जस्तो देखिए पनि सोमबार बिहानै दक्षिणपश्चिम काउसियुङमा दोस्रोपटक अवतरण भएको थियो । त्यसपछि ताइवान स्ट्रेटमा प्रवेश गरेको थियो ।

त्यहाँ कुनै पनि व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको छैन । अधिकारीहरूका अनुसार आँधीका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । मुख्यतः रुख ढलेका र कार दुर्घटनाका कारण उनीहरू घाइते भएका अधिकारीहरूले बताएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

Argakhachi Cement Island Ad

t3-1693826398.jpg

कम जनसंख्या भएको पूर्वी ताइवानको तटीय पहाडी काउन्टी ताइतुङमा विनाश देखिएको छ । ताइतुङको दोङहे बस्तीका ५५ वर्षीय गाउँका मुखिया चेन हाई–फेङले भने, “मैले जीवनमा यति ठूलो आँधी पहिलोपटक देखेँ ।”

हाइकुईलाई अघिल्ला आँधीबेहरीको तुलनामा कम गम्भीर मानिएको भए तापनि चेनले एएफपीसँग भने, “बिहान सबेरै सडकबाट रुखहरू हटाउने कामको सर्वेक्षण गर्दा यो अझ शक्तिशाली महसुस भएको थियो ।”

उनले भने, “यो बाणजस्तै सिधा हामीमाथि आएको छ । आँधीबाट ठूलो मात्रामा भवन र खेतबालीमा क्षति पुगेको छ ।”

t2-1693826397.jpg

ताइवानमा चार वर्षयता पहिलोपटक आएको हाइकुई आँधीका कारण उक्त टापुका करिब आठ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सयौँ उडान रद्द गरिएको छ । व्यवसाय बन्द गरिएको छ ।

दुई लाख ६० हजारभन्दा बढी घरधुरीमा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द भएको छ । करिब २२ हजार घरमा सोमबार दिउँसोसम्म पनि विद्युत् पुगेको छैन । १४ नगरमा विद्यालय र व्यवसाय बन्द छन् । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्