काठमाडौं । एसिया कप–२०२३ को आफ्नो पहिलो खेलमा श्रीलंकाले बंगलादेशविरुद्ध पाँच विकेटको सहज जित निकालेको छ ।
बिहीबार श्रीलंकाको कान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १६५ रनको मध्यम लक्ष्य श्रीलंकाले ३९ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।
श्रीलंकाको जितमा चरिथा असलंकाले अविजित ६२ रन जोडे । सुझबुझपूर्ण ब्याटिङ गरेका असलंकाले ९२ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सदीरा समराविक्रमले ७७ बलमा ६ चौकासहित ५४ रन थपे । यसबाहेक, कप्तान दासुन सनाका र पथुम निसांकाले समान १४ रन बनाए ।
बंगलादेशका साकिब अल हसनले दुई विकेट लिए । तक्सिन अहमेद, सोरिफुल इस्लाम र मेहदी हसनले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले ४२.२ ओभरमा १६४ रनमै समेटिएको थियो ।
बंगलादेशका नज्मुल हुसैन सान्तोले ८९ रन बनाए । क्रिजको एक एन्डबाट लगातार विकेट गइरहँदा अर्को एन्ड सम्हालेका सान्तोले १२२ बलमा सात चौका प्रहार गरे ।
तोहिद ह्रिदोयले २०, मोहम्मद नैमले १६ र मुस्फिकर रहिमले १३ रन जोडे ।
बंगलादेशलाई सस्तैमा समेट्न श्रीलंकाका महिस पथिरानाले चार विकेट लिए । ७.४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए । महिस थिक्षणाले दुई विकेट लिँदा धनञ्जय डी सिल्भा, दुनिथ वेलालागे र दासुन सनाकाले समान एक विकेट लिए ।
जितसँगै दुई अंक जोडेको श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।