
काठमाडौं । निजी क्षेत्रका अगुवाहरुले सरकारले पछिल्ला दिनमा व्यवसायीप्रति देखाएको व्यवहारको खुलेर विरोध थालेका छन् ।
बाह्रखरी मिडियाले बुधबार आयोजना गरेको कार्यक्रममा उनीहरुले व्यवसायीका समस्या समाधान नगरी निचोर्ने काममात्रै गरेको भन्दै सरकारको चर्को आलोचना गरे । कति अगुवाहरुले अब सडकमा आउनुको विकल्प नभएको हुँदा नेतृत्त्व गर्न उद्योग वाणिज्य महासंघसहित सबै निकायको ध्यानाकर्षण गरेका थिए ।
व्यवसायीहरुले आफूहरुका कुरा पनि नसुनी सरकारले समातेर थुन्ने काम गरेको भन्दै यस्तो व्यवहारले मुलुकमा आर्थिक समृद्धि कसरी हासिल हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाहिरै बसेर पनि मुद्दा लड्न सक्ने अवस्था रहँदा रहँदै सरकारले बिनाकारण थुनेको भन्दै यस्तो वातावरणले मुलुकमा लगानीको वातावरण नबन्ने बताएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका छन् । बाह्रखरी मिडियाको आयोजनामा बुधबार काठमाडौंमा भएको ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको स्थिति प्रतिकूल भए पनि निजी क्षेत्र सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताए ।
“मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा छ,” ढकालले भने, “चाहे हामी हाम्रा नीतिगत कारण भनौं वा कोभिडको कारण या विश्वव्यापीरुपमा देखिएको संकट या श्रीलंकाको डर देखाएर नीतिगत रुपमा अप्ठेरो पारिएको छ ।”
उनले आफूहरुको नेतृत्त्व आइसकेपछि निजी क्षेत्रले बलियो गरी आफ्ना कुराहरु अघि सारेको बताए ।
“सरकारले लिएका कतिपय नीतिले अहिले सरकारले नै तलब खुवाउन नसक्ने अवस्था सिर्जना भयो,” उनले भने, “समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ । नेपाल सरकार, राष्ट्र बैंक, अरु नियामकीयउ निकाय सबै एकैठाउँमा आउनुको विकल्प छैन ।”
उनले पदबहाली गरेको चार महिनामै प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री दलका प्रमुख सचेतक, सांसदलगायतको ढोकामा आफूहरु पुगेर पछिल्लो अवस्थाका बारेमा स्मरण गराएको बताए ।
“त्यही कारण कतिपय विधेयक अहिले संसद्मा पुगेका छन्,. तर हामी अझै ढुक्क चाहिँ छैनौँ,” उनले भने ।
उनले निजी क्षेत्रले कहिले पनि खुट्टा नकमाएको स्पष्ट पार्दै निजी क्षेत्रको हितका लागि कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे । उनले पछिल्ला दिनमा व्यवसायीलाई परेका अप्ठेराप्रति निजी क्षेत्रकै तीनवटै निकाय एकै ठाउँमा उभिएर आवाज उठाएको पनि बताए ।
“अहिलेको समस्यामा व्यापारीलाई मात्रै दोष दिएर हुँदैन,” उनले भने, “अहिले समस्या सबैको साझा हो सबै मिलेर अघि बढ्न सके त्यति गाह्रो पनि छ जस्तो मलाई लाग्दैन । अहिले एउटा पब्लिक विश्वास छैन त्यो सरकार र रेगुलेटरबाट दिइयो भने पहिलेकै लयमा आउन समस्या हुँदैन ।”
उनले अहिले सबै निकाय एकै ठाउँमा उभिएर दबाब दिनुपर्ने समय रहेको बताउँदै सडकमा निस्कने कुरा नगर्न आग्रह गरे । “हामी व्यवसायी सडकमै निस्कन जरुरी छैन,” उनले भने, “अहिले व्यवसाय पसल, फ्याक्ट्री हरेक कुरा बन्द भयो भने के हुन्छ भन्ने विचार गर्नुपर्छ । त्यो अवस्था आउन दिनु हुँदैन । त्यो आउनु नेपालका लागि धेरै नराम्रो अवस्था हो । त्यो व्यक्ति विशेष, पार्टी विशेष भन्दा पनि एकदमै जिम्मेवार हिसाबले हामीले सुझाव दिएका छौं । नीतिका लागि लबिइङ गरेका छौं र त्यो जारी राख्छौं ।”
बाह्रखरी मिडियाले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका अगुवाहरुले यसरी धारणा राखेका थिए
पीडा धेरै सुन्यौँ– विरेन्द्रराज पाण्डे (उपाध्यक्ष– नेपाल उद्योग परिसंघ)
हामीले पीडा धेरै सुन्यौं र भोगिरहेका पनि छौँ । हामीले हाम्रा समस्याहरु लगातार सुनाउँदै आएका छौँ । उच्च ब्याजदर, नगद प्रवाहमा समस्या, उत्पादनमा कमी, पुजीगत खर्चमा भएको कमीलगागत कारणले मनोबल घट्दो अवस्थामा छ ।
यस्ता प्रमुख चुनौतीमा सामना गर्दै माथि उकास्न निजी क्षेत्रको मनोबल बढाउनुपर्छ । गत वर्षको तुलनामा ४० प्रतिशत बढी राजश्व उठाउने भनेको छ, यसले ६ प्रतिशत अर्थतन्त्रको वृद्धि देखिँदैन । हामीले पुँजीगत खर्च बढाउने काम गर्नुपर्छ । बजेटको प्रभावकारी कार्यान्व्यन हुनुपर्छ । राजनीतिक भन्दा आर्थिक एजेन्डालाई अघि सार्नुपर्छ ।
पक्ष प्रतिपक्ष सबै दलको पहिलो प्राथमिकता हुनुपर्छ राजनीतिक दलबाट अग्रसरता लिनुपर्छ । मौद्रिक नीति सबै कुरा होइन तर मुद्रा स्फिति नियन्त्रण गर्न वैदेशिक मुद्रा बढाउन, समग्र माग घटाउने र ब्याजदर बढाउने गर्दा यस्तो अवस्था आएको हो ।
अब माग बढाउने ब्याजदर घटाउने काम गर्नुपर्छ । केही ऐनहरु खारेज गर्नुपर्छ २३ वटा संशोधन गर्ने र तीनवटा नयाँ बनाउनुपर्छ । व्यवसायीलाई पहिले थुन्ने र पछि सुन्ने कामको अन्त्य हुनुपर्छ । धेरै लगानी गरेका छन् सम्पत्ति छोडेर जाने अवस्था छैन जाँदैनन् पनि । उनीहरुको कुरा सुन्नुपर्छ ।
राजेन्द्र मल्ल– अध्यक्ष (नेपाल चेम्बर अफ कमर्स)
योजनाअनुसारको आर्थिक नीति नहुने समस्या भोगिरहेका छौं भने कोभिड १९ को महामारीले त्यो बेला लिएको सस्तो ब्याज, लगानीले अहिले ब्याजदर वृद्धि हुँदा समस्यामा परेका हौँ ।
बाँकी समग्ररुपमा राजनीतिक एजेन्डा र विभिन्न दलको धारणा फरक फरक भए पनि आर्थिक एजेन्डा सबैको एउटै होस् भन्ने हामी चाहन्छौं । जुनसुकै एउटा एजेन्डा आउँदा जुन कालोबजारी ऐन छ यो धेरै पूरानो भयो संशोधन गर्नुपर्छ ।
नेपालमा पहिले थुन्ने र पछि सुन्ने अवस्था छ त्यसको अन्त्य गर्नुपर्छ । कुनै पनि व्यवसायीलाइई थुन्ने भन्दा पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार पासपोर्टहरु जफत गरेर के–के गरिन्छ हेरेर निर्णय गर्नुपर्छ । अहिले सरकारले केही गरेको जस्तो हुने, तर नियामकबाट हामीले सहयोग नपाउने अवस्था छ ।
हामीले चेम्बरबाट भनिरहेका थियौं ब्याजदर कसरी घटाउन सकिन्छ, पुँजी निर्माण कसरी गर्न सकिन्छ,कसरी चलायमान गर्न सकिन्छ भनेर प्रधानमन्त्री, अर्थमन्त्रीलाई आह्वान ग¥यौँ । तर राष्ट्र बैंकले कसुन्ज्याइँ गरेको देखिन्छ ।
पसल बन्द भएर विदेश गएको हामी देखिराखेका छौँ । यो अवस्थाको अन्त्य गर्न सरकारले नै नीतिगत निर्णय गर्नुपर्छ ।
तस्करी, कालोबजारीलाई व्यवस्थित गर्ने जिम्मेवारी सरकारको हो । हामी पहल गर्न तयार छौँ सरकारको साथ चाहियो । एउटा कानले सुन्ने र अर्को कानले उडाउने काम भएको छ । यसको अन्त्य हुनु जरुरी छ । हाम्रो देशका नीति भारत र चीन सुहाउँदो पनि हुनुपर्छ । किनकि ठूला मुलुक वरपर छन् अमेरिका सोचेर हुँदैन । उधारो नीति ल्याउनुपर्छ । समयमा भुक्तानी नगरे कालोसूचीमा राख्ने व्यवस्था हुनुपर्छ ।
सुयश प्याकुरेल– निवर्तमान अध्यक्ष (मोरङ उद्योग संगठन)
हामीले सरकारलाई अहिले होइन पटक पटक सजग गराएका छौँ । तर त्यसबेला भनियो संविधान बन्न दिनूस् कायापलट हुनेछ । तर कायापलट त सबैलाई होइन उहाँहरुलाई भयो । आजका तथ्यांक हेरौँ त मुलुकको अवस्था कस्तो छ ?
खल्ती भरी पैसा राख्ने खर्च नगर्ने अनि मैले बचत गरेँ भनेर बसेजस्तो अवस्था होइन ? हामी नांगो छौं तर हामी लुगा लगाएको भन्दै हिँडेका छौँ । अहिलेको समस्या नीति निर्माणकर्ताकै कारणले आएको हो ।
राज्यप्रति वितृष्णा छ । उहाँहरुलाई राजनीति र राज्यसत्ता जोगाउन निजी क्षेत्र जहिले बलीको बोको हुनुपर्ने ? प्रख्यात व्यवसायी जेलमा बस्नुपर्ने ? हामीले काम गर्न पनि नपाउने ? नाफा कमाउनु अपराध हो ? संविधान हाम्रो लागि होइन ?
यहाँ न्याय समानताको कुरा कहाँ छ ? निजी क्षेत्र किन चुप छौँ ? हामी कहिलेसम्म चुप बस्ने अध्यक्षज्यू ? विभिन्न कानुन संशोधन नगरीदिने अनि सिक्री बाँधेर व्यवसाय गर भन्ने ? यो कानुन संसोधन नगरेसम्म केही हुनेवाला छैन । निजी क्षेत्रमैत्री कानुन हुनैपर्छ ।
व्यवसायीलाई पटक पटक तर्साउन खोजिएको छ । यसरी तर्साएर हुन्छ ? उद्योग बन्द गरेर हुन्छ ? नाफा कमाउनु पाप हो ? अब हामी जंगलबाट निस्कनैपर्छ । २ किलोमिटर बाटो बनाउन ६ महिना लागेपछि रुपान्तरण कसरी हुन्छ ?
राजनीतिक पार्टीले हरेक क्षेत्रमा थिलोथिलो पारेका छन् कसरी हुन्छ विकास ? यसरी कसरी भारत र चीनसँग प्रतिष्पर्धा गर्न सक्छौँ ? नेपालबाट विद्यार्थी पठाइएको होइन जनता लखेटिएको हो र भगाइएको हो । किन पसल खाली छ ? युवा नभएपछि कसले खर्च गर्छ ? यो कसका लागि राजनीति गर्ने ? नयाँ पार्टीले पनि ध्यान दिनुहोला ।
रवि लामिछाने– सभापति (रास्वपा)
निजी क्षेत्रले बारम्बार ढोका ढकढक्याउनुपर्ने अवस्था आउनु नै मुलुकका लागि दुर्भाग्य हो । अहिले अर्थतन्त्रभन्दा बाहिर कुरा गएर कुरा गर्ने समय होइन । अर्थतन्त्र बाहिरका कुरा गर्दा सान्दर्भिकता मजाक जस्तो हुन्छ ।
हामीले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ ।
व्यक्ति सफल हुनु ठूलो कुरा हैन । हरेक व्यक्तिको कुरा गर्ने हो भने सफल हुनुहुन्छ यहाँ । तर देश सफल भएको छैन । देश सफल नभएसम्म केही हुँदैन । जुन समाजमा पसा कमाउनु अपराध मानिन्छ त्यहाँ व्यापार फस्टाउँदैन त्यहाँ रोजगारी सिर्जना कसरी हुन्छ ?
हामी नयाँ राजनीतिक दल भए पनि निजी क्षेत्रसँगै छौँ । हामीले हरेक काममा साथ दिन तयार छौँ । यहाँहरुका लागि कहाँ के सहजीकरण गर्नुपर्छ हामी तयार छौँ । राजनीतिक दलले पैसा कमाउन सक्ने वातावरण बनाइदिने हो । पैसा कमाए भनेर च्याप्ने काम हाम्रो हैन ।
तपाईंले हाम्रो पार्टीबाट चन्दा आतंक कहिल्यै भोग्नुपर्दैन । देशबाट युवा भाग्न लागेका छन्, तपाईँहरुलाई सहयोग गरेर उद्योग स्थापना गरेर यहीँ रोक्नुपर्ने अवस्था आउनुपर्थ्यो । हामी पूलको काम गर्न तयार छौँ तपाईँहरु अघि बढ्नुहोला ।
बजेट बनाउने बेलादेखि नै हामी चनाखो हुनुपर्ने रहेछ ।
पोमनारायण श्रेष्ठ, अध्यक्ष (पर्यटन परिषद् पोखरा)
गण्डकी प्रदेश र पोखराको पर्यटनको कुरा गर्दा पर्यटनबाट इजाजत मात्र लिएका एक हजार बढी होटल व्यवसायी अहिले समस्यामा परेका छन् । ४० प्रतिशत विदेश पलायन भइसकेका छन् । लगानीको कुरा गर्दा ६ खर्व भन्दा बढी लगानी भएको छ । १४ सय भन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा आएको छ । पोखरा आउने पर्यटक नेपालमा आउने पर्यटनको ४५ प्रतिशत आउने गर्दछन् ।
तर त्यहाँ पुग्ने बाटोको अवस्था हेरौँ त । पहिलो कुरा नेपाल पर्यटन आउनका लागि हवाई भाडा निकै महंगो छ । यहाँ आउने भाडाले युरोपका धेरै र अन्य देशमा घुम्न सकिन्छ । धेरै भारतीय पर्यटन भित्र्याउन भारत गएर कार्यक्रम पनि गरेका छौँ ।
तर बिडम्वना भारतीय पाँच सयको नोट नेपालमा चल्दैन । अनि कसरी आउँछन् त पर्यटक ? पोखरामा विमानस्थल बन्यो तर उडान भएन अहिले व्यवसायीका थुप्रै समस्या छन् । यसको तत्काल सम्बोधन हुनैपर्छ ।
सुनिल शर्मा– सांसद (नेपाली कांग्रेस)
अहिले राजनीति प्रधानमन्त्री र शीर्ष नेताबाटै बिग्रिएको छ । प्रधानमन्त्रीले बोलेका कुरा अहिले लाज लाग्ने अवस्थाका छन् । उहाँले चिकित्सा शिक्षाका सम्बन्धमा दिएको अभिव्यक्ति सही होइन । नेपालमा कलेज बन्द भएपछि भारतमा खुल्ने क्रम बढे ।
यो राजनीतिक अपराध हो कि होइन ? हामीले चाहेको नेपाल यही हो ? गणतन्त्र यही हो ? व्यापारी निजी क्षेत्रमाथि जनताको अधिकार र सुरक्षा यही हो ? रातारात कानुन पास गरिन्छ । सम्झौता गरिन्छ निजी व्यवसायलाई ध्वस्त पारिन्छ ।
देशभित्र उत्पादन हुने विश्व बजारमा सबैभन्दा महँगो तलबमा काम गर्न सक्ने नेपाली म्यानपावरलाई पढ्न बञ्चित गरिन्छ । यो देशमा ५० हजारलाई जागिर दिएको हाम्रो मीनबहादुर गुरुङलाई किन पक्राउ गरेर राखिएको ?
पाँचतारे होटलमा बसेर नेताहरुले निर्णय गर्ने व्यवसायीलाई थुन्ने ?
बाहिर बसेर मुद्दा लड्न दिएको भए अदालतको कुरा त मान्नु हुन्थ्यो हो नि ! यो मुलुकमा म थुनिँदा होस् यहाँ मिनबहादुर थुनिँदा उद्योग वाणिज्य महासंघका साथीहरुले कानमा तेल हालेर बस्नुभएको छ । भोलि तपाइँलाई पर्दा रुने मान्छे पनि पाउनुहुने छैन ख्याल गर्नुहोला ।
३२ सिटको माओवादीले ८९ र ७९ सिटका ठूला खेलाडीलाई तल सडकमा सुताएर यो देश चल्छ ? अहिलेको नेपालमा उद्योग धन्दा गर्ने वातावरण छैन । घुस नखाई नेपालमा केही काम हुँदै हुँदैन । कम्पनी दर्तादेखि नै घुसबाट सुरु हुन्छ । हामी सधैँ यही कुरा सहेर बस्ने हो ?
मनोज ज्ञवाली– डेपुटी सीईओ नबिल बैंक
नेपालका सूचकांक राम्रो देखिँदैन । खतरनाक के कुरा छ भनेर हेर्नुपर्छ ।
मुद्रास्फितीको रेट हेर्नुपर्दा अमेरिकामा समेत उच्च रह्यो भारतमा पनि त्यस्तै रह्यो । त्यो हिसाबले हाम्रो ३.६ बाट लगभग डबलभन्दा बढी भयो तर वार्षिरुपमा हामीले नियन्त्रण नै राखेको देखिन्छ । आयातको कुरा बिग्रेको छ । आयातको वृद्धि भने तीन वर्षमा २८ बाट २४, २४ बाट १६ प्रतिशतमा रोकियो । तर कसरी रोकियो व्यवसायीहरुलाई थाहा छ ।
व्यवसायीले पेट बाँधेर आयात रोकियो, व्यवसायी पलायन हुनुपर्ने अवस्था छ । घरभाडा तिर्न नसक्ने स्थिति आएको छ । अयाात राक्यौं व्यवसायी हतोत्साहित भए । त्यसले आएको पैसाको बचत र रेमिट्यान्सले म्याच गर्याैं फिगर हेर्दा चाहि राम्रो देखियो भित्रि कथा व्यथा फरक छ ।
बैंकरले पनि नाफा बाहेक केही सोचेनौं । उद्यमीले पनि आफुले लिएको ऋणले १० वर्षपछि व्यवसाय कहाँ पुर्याउँछ भन्ने हेर्नु भएन । राजनीतिज्ञको कुरै नगरौं उनीहरुको होराइजन ३ महिना छैन उनीहरुसँग अपेक्षा पनि छैन ।
मनिष झा– सीईओ (फ्याक्ट्स नेपाल तथा सांसद)
हाम्रो अर्थतन्त्रको योगदानकर्ता को को हो ? कुन कुन क्षेत्र छ यो हामी सबैलाई थाहा छ ।
अर्थतन्त्रमा नयाँ योगदानकर्ता आएको देखिँदैन । १० वर्षको अवस्था हेर्दा उस्तै छ । यसको कारण के हो त ? सरकारको तर्फबाट स्रोत साधन पुँजी र इनोभेसनमा धेरै खर्च भएको छैन । हामीकहाँ कता कताबाट पनि आयात हुन थालेको छ । तर हामीले निर्यात चाहिँ के गर्यौं त ? हामीले निर्यात गर्ने देशमा नयाँ बजार पहिचान गर्नै सकेनौँ । सरकारले त्यस क्षेत्रमा लगानी गर्नै सकेन ।
जनार्दन बराल, अध्यक्ष (सेजन)
अहिले बजारको अवस्थाले पनि नेपालको अर्थतन्त्रको बारेमा बताएको छ । हाम्रो माग घटेको छ । बिक्री घटेको छ । अर्काे एउटा डाटाका अनुसार ४२ वर्षपछि नेपालको अर्थतन्त्रमा निजी क्षेत्रमा जाने कर्जा सबभन्दा कमजोर भएको छ ।
माओवादीको चरम द्वन्द्वका बेला पनि यस्तो भएको थिएन । यो तरिकाले बजेट सिस्टमले काम गर्नेवाला छैन ।