
विराटनगर । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टर (एवाईईएफ)को सहकार्यमा ‘मेरो देश, मेरो उत्पादन’ अन्तर्गत ‘सटर्डे मार्केट’ गरिने भएको छ ।
यस क्षेत्रका घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुको बजार प्रर्द्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउने उद्देश्यसाथ भदौदेखि प्रत्येक शनिबार बजार लगाइने भएको हो ।
उद्योग संगठन मोरङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा युवा तथा महिलाहरूमा निहीत सीपलाई प्रयोग गरी स–साना परिणाममा घरमै बसेर उत्पादन गरेको वस्तुहरूका साथै घरेलु तथा कुटिर उद्योगका उत्पादनहरू बजारको अभाव र पहिचानको अवसरबाट बन्चित हुन नपरोस् भनेर कार्यक्रम गर्न लागिएको जानकारी गराइयो ।
संगठनको प्राङगणमा गर्न लागिएको बजारमा १७ देखि २१ वटा स्टल रहने बताइएको छ । प्रतिस्टल तीन सय रुपैयाँ तोकिएको छ ।
बजारमा घरायासी प्रयोजनका सामग्री, ताजा तरकारी तथा फलफूल, मह, अचार, हस्तकलाका सामग्री, दैनिक खाद्य वस्तु, पहाडी जिल्लाका स्थानीय उत्पादन, गार्मेन्ट तथा श्रृंगारका सामग्रीलगायत वस्तु रहने छन् । साप्ताहिक बजारमा विराटनगरलगायत आसपासका घरेलु तथा साना उद्योग, महिला, युवा उद्यमीहरूको सहभागिता रहनेछ ।
आर्थिक एवं औद्यागिक विकास र स्थानीय श्रोत, साधनको प्रयोग गरी बनाईएका वस्तुको ग्राहक पहिचानका साथै स्वरोजगारलाई बढावा दिन प्रारम्भ गरिएको जनाइएको छ । साप्ताहिक बजारले बिक्रीकर्ता र खदिकर्ताको एकै थलोमा भेटघाटका लागि अवसर प्रदान गर्ने महिला उद्यम समितिकी संयोजक प्रतिभा रिजाल ओलीले बताइन ।