site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमा नर्सिङ कलेज बन्द हुँदा भारत जाने विद्यार्थीको लर्को, सरकार पूरै बेखबर !

काठमाडौं । यतिखेर नर्सिङ शिक्षा अध्यापन गराउने कलेजहरू आन्दोलनमा छन् । चिकित्सा शिक्षा आयोगले मापदण्डको बहानामा योग्य नर्सिङ कलेजहरू पनि बन्द गराएको भन्दै उनीहरू सरकारप्रति रुष्ट छन् । ठूलो संख्यामा नर्सिङ कलेज बन्द हुँदा विद्यार्थी भारत गएर अनुमतिबिना पढ्न गएको दाबी उनीहरूको छ । 

तर, सीमा नजिक कहाँकहाँ कति नर्सिङ कलेज खुले ? कति विद्यार्थी भारत पढ्न गए ? कुन बाटोबाट गए ? यसबारे भने सरकारका कुनै पनि नियामक निकायले खोजी गरेका छैनन् । बरु एक अर्कालाई दोषारोपण गर्दै अभिभावक र विद्यार्थीमा थप भय सिर्जना गरेको देखिन्छ । 

'सीमाका कलेजमा हजारौँ नेपाली विद्यार्थी बिनाअनुमति पढिरहेका छन्'

Argakhachi Cement Island Ad

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले भारतका विभिन्न विश्वविद्यालयअन्तर्गतका कलेजमा हजारौँ नेपाली विद्यार्थी बिनाअनुमति नर्सिङ पढिरहेको दाबी गरेको छ । भारत सरकारका १५७ वटा नर्सिङ कलेजमध्ये अधिकांश नेपाल–भारतको सीमा क्षेत्रमा खोलिएका र सीटीईभीटीको पाठ्यक्रम जस्ताको त्यस्तै डाउनलोड गरी पढाइएको सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी बताउँछन् । 

"भारतका विभिन्न युनिभर्सिटीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई पत्राचार गरेर तिम्रा विद्यार्थीहरू हामीकहाँ पढ्छन् । तिमी भिजिट गर्न आऊ, पछि फेरि रजिस्ट्रेसन गर्नुपर्ला भनेर पत्राचार गरेका छन्," अधिकारी भन्छन् । 

बिचौलियाहरूले नेपाली विद्यार्थीलाई भर्ना गर्ने काम गरिरहेको र ती कलेजले १०० जनाभन्दा बढीको सिटमा पढाइरहेको उनको आरोप छ । “तीमध्ये कतिपयले नेपाली अस्पतालसँग सम्झौता गरेर गरेर समेत नर्सिङ पढाइरहेका छन्,” उनले भने । 

आयोगका अनुसार विदेशमा नर्सिङ पढ्न स्नातक तहमा १४४ र स्नातकोत्तर तहमा ४१ जनाले मात्र अनुमति लिएका छन् ।

७३ नर्सिङ कलेज बन्द : चिकित्सा शिक्षा ऐन बाधक !

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि सरकारले चिकित्सा शिक्षाका प्रिडिप्लोमा तहका कार्यक्रम खारेज गर्ने निर्णय गर्‍यो । जसअन्तर्गत १३७ वटा प्रिडिप्लोमा पढाउने शिक्षण संस्था बन्द भए । प्रिडिप्लोमा र डिप्लोमा कार्यक्रम सँगै चलाइरहेका कलेजहरूमा समेत स्तरोन्नति गर्नुपर्ने व्यवस्था ऐनले गर्‍यो । त्यसयता १० वटा बीएन, आठवटा बीएस्सी नर्सिङ पढाइरहेकासहित ७३ वटा नर्सिङ कलेज बन्द भएको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको तथ्यांक छ । 

ठूलो संख्यामा शिक्षण संस्था बन्द हुँदा वार्षिक तीनहजार नर्सिङ विद्यार्थी प्रभावित भएको र सातहजार ५५ जनाको रोजगारी गुमेको समितिका संयोजक निर्मल सापकोटा बताउँछन् । 

"बन्द भएका १३७ वटामध्ये ४८ वटाको स्तरोन्नति बाँकी छ । अरू आन्दोलनका क्रममा स्तरोन्नति प्रक्रिया अघि बढेको छ । तर, चिकित्सा शिक्षा ऐनको गलत व्याख्या हुँदा चिकित्सा शिक्षामा निजी क्षेत्र तहसनहस भयो," सापकोटा भन्छन् । 

अहिले पनि नर्सिङ शिक्षामा पढ्न चाहने विद्यार्थीको चाप भएको तर चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको अव्यवहारिक ऐनका कारण यो अवस्था आएको समितिको आरोप छ । 

तत्काललाई ऐनसँग नबाझिएका विषयहरूमा छलफल गरेर बन्द कलेजहरू खोल्ने बाटो खोज्नुपर्ने समितिको सुझाव छ । 

दोषारोपणमै व्यस्त नियामक निकाय 

नेपालसँगको भारतीय सीमा क्षेत्रमा ठूलो संख्यामा नर्सिङ कलेज खुलेर अवैध बाटो हुँदै विद्यार्थी बाहिरिएको विषय नयाँ भने होइन । तर, यसबारेमा सरकारका कुनै पनि निकायले अहिलेसम्म अनुगमन र चासो राखेको देखिँदैन । 

चिकित्सा शिक्षाको प्रमुख नियामक निकाय चिकित्सा शिक्षा आयोग यसबारे अनुगमनका लागि शिक्षा मन्त्रालयको मुख ताकिरहेको छ । भारतमा नर्सिङ पढ्न जान नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिनुपर्ने व्यवस्था गर्नुपर्ने आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्री बताउँछन् । 

“अहिले विद्यार्थीहरू सीमा पारी धेरै गएका छन् । हामीले १२ कक्षा भन्दा अगाडिकालाई त एनओसी दिँदैनौँ भनेका छौँ । तर, एनओसी नलिइकन बोर्डर पारी कति विद्यार्थी पढ्न गए, हामीले सूचना जारी गर्न पर्दैन ?,” काप्री प्रश्न गर्छन् ।

देशभन्दा बाहिर पढ्न जान अनिवार्य एनओसी लिनुपर्ने र भारतीय सीमामा नर्सिङ कलेज खुलेकोबारे विवरण संकलन गर्नुपर्ने उनको भनाइ छ । एनओसी नलिएरै विद्यार्थी बाहिर गएमा शैक्षिक प्रमाणपत्रलाई मान्यता नदिने सूचना शिक्षा मन्त्रालयले निकालेर विद्यार्थी र अभिभावकको भ्रम चिर्नुपर्ने उनी बताउँछन् ।

यता शिक्षा मन्त्रालयले भने यसबारे हालसम्म कुनै चसो देखाएको छैन । "भारतले कहाँ कहाँ, कुन कलेज खोल्छ के, के पढाइ हुन्छ । यो त उसकै देशको विषय भयो नि होइन र ? नेपाली विद्यार्थी पो कानुनभन्दा बाहिर गएर विदेश पढ्न जानुभएन," मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्मा भन्छन् । 

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ ले १२ कक्षा वा सो सरहभन्दा माथि अध्ययन गर्न जाने विद्यार्थीले पूर्वस्वीकृति 'नो अब्जेक्सन लेटर' लिनुपर्ने व्यवस्था गरेको छ । चिकित्सा शिक्षाका कार्यक्रममा पढ्न उच्च शिक्षा पढ्न जाने विद्यार्थीले एनओसी लिनुअघि चिकित्सा शिक्षा आयोगबाट 'इलिजिबिलिटी सर्टिफिकेट' लिनुपर्छ ।

स्नातक तहको अध्ययनका लागि आयोगले लिने एकीकृत प्रवेश परीक्षासमेत उत्तीर्ण गर्नुपर्ने प्रावधान छ । यसरी परीक्षा पास गरी स्नातक वा सोभन्दा माथिको नर्सिङ अध्ययनका लागि पछिल्लो वर्ष १८८ जनाले अनुमति लिएको आयोगको तथ्यांक छ ।

तर, सोभन्दा तलको अध्ययनमा बाहिर पढेर आउनेलाई आयोगले समकक्षताको प्रमाणपत्र मात्रै दिने गरेको छ । तर, डिप्लोमा पढ्न जाने विद्यार्थीहरू कुनै पनि निकायको अनुमतिबिना नै भारत पुग्ने गरेको देखिएको छ । 

पीसीएल नर्सिङका लागि अहिले भारत पुगेका विद्यार्थीको शैक्षिक प्रमाणपत्रलाई मान्यता नदिने चेतावनी यतिखेर आयोगले दिइरहेको छ । तर, सरकारका निकायहरूबाट नै नर्सिङ कलेजहरूबारे ठोस निर्णय नहुँदा ठूलो रकम बाहिरिएको त छ नै विद्यार्थीको भविष्य पनि अन्योलमा पर्दै गएको सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्