site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वोच्चको आदेशपछि गण्डकीका सांसदलाई बाँड्ने ७२ करोड बजेट के हुन्छ ?

पोखरा । चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमा पूर्वाधार विकास कार्यक्रमका लागि गण्डकी सरकारले ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थ विविध शीर्षकमा पूर्वाधार विकास कार्यक्रमका लागि भनेर छुट्याइएको रकम कार्यान्वयनबारे फरकफरक तर्क गरिरहेका छन् । 

आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले वार्षिक विकास कार्यक्रममा राखिसकेको कार्यक्रम कार्यान्वयन हुने र कार्यविधि बनाउने तयारी गरिएको बताए । तर, मन्त्रालयकै कर्मचारीहरू सर्वोच्चले जारी गरेको अन्तरिम आदेश यस्तै प्रकृतिको कार्यक्रमका लागि रहेको बताउँछन् ।

गत बुधबार सर्वोच्च अदालतले संघीय सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरिएका प्रतिनिधि सभा र सबै प्रदेश सभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

"संविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गर्दा विनियोजन ऐन, २०८० को रूपमा पारित आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ४४५ सँग सम्बन्धित व्यवस्था र सातवटै प्रदेशका व्यवस्थापिकाहरूको आर्थिक वर्ष २०८०/८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाकार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू तथा ती व्यवस्थाहरूको लागि विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू/नगराउनू," आदेशमा भनिएको छ । 

सर्वोच्चकको यही अन्तरिम आदेशपछि नै गण्डकीमा पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अन्योलता देखिएको हो ।

 गण्डकीमा यो कार्यक्रमअन्तर्गत यसअघि ३६ वटा निर्वाचन क्षेत्रलाई प्रतिनिर्वाचन क्षेत्र २/२ करोडका योजना वितरण गरिन्थ्यो । त्यही दुई करोडको समयसीमाभित्र रहेर त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसदले ६०/४० प्रतिशतका आधारमा योजना छान्थे । छानिएका योजनाको कार्यान्वयन भने योजनाको प्रकृति हेरेर सम्बन्धित मन्त्रालयका कार्यालयबाट हुने गरेको छ ।

प्रदेश सभाको निर्वाचनपछि पुस २५ गते बनेको नयाँ सरकारले आफूखुसी योजना छान्नकै लागि भनेर कार्यविधि नै संशोधन गरेको थियो । अहिले पनि सोही कार्यविधिलाई परिमार्जन गरेर कार्यक्रम अगाडि बढाउन खोजिएको छ ।

कार्यक्रम कार्यविधि अनुसार सांसदले छान्ने योजनाको न्यूनतम लागत नै २५ लाख रुपैयाँ तोकिएको छ । सांसदहरूले २५ लाखभन्दा कमका योजना छान्न नै पाउँदैनन् ।

यो वर्ष पनि कार्यविधिलाई परिमार्जन गरेर कार्यक्रमलाई अगाडि बढाइने र त्यसमा सर्वोच्चको अन्तरिम आदेश नलाग्ने मन्त्री आलेले बताए ।

“हाम्रो पूर्वाधार विकास कार्यक्रम हो, जुन रूपमा संघले छुट्याएको छ, त्यो होइन । बजेट बनाउने बेलामा अलिक हतार पनि भयो । हामीले एक महिनामा तयार गर्नुपर्ने भएकाले कहिँकतै दुई चारवटा कुराहरू बजेट, नीति तथा कार्यक्रममा उल्लेख गरेका महत्वपूर्ण कार्यक्रम छुट्छन् कि भनेर राखेको हो,” उनले भने ।

०७२ करोड बजेट राखिए तापनि ३६ निर्वाचन क्षेत्रलाई २/२ करोड भन्ने नरहेको उनले बताए । यो कार्यक्रम कार्यान्वयन गर्नका लागि नयाँ कार्यविधि बनाउने र मन्त्रालयले तयारी गरिरहेको उनले बताए ।

तर, मन्त्रालयकै एक अधिकारीले भने सर्वोच्चको अन्तरिम आदेशले पूर्वाधार विकास कार्यक्रमलाई पनि छुने बताउँछन् ।

“सबै प्रदेशमा नाम जे राखे पनि कुरा त्यही हो, जिल्लाबाट योजना आएपछि छनोट गर्ने सांसदहरूले नै हो । सर्वोच्चको गरेको आदेश यही प्रकृतिका कार्यक्रमलाई नै हो, अन्तिम फैसला कुरौँ,” ती अधिकारीले भने ।

सर्वोच्चको आदेशका कारण अन्योलता देखिएकाले कार्यविधि बनाउने प्रक्रिया पनि सुरु नभएको ती अधिकारीले बताए ।

“एउटा निर्वाचन क्षेत्रलाई २ करोडका दरले ७२ करोड हो, अब मन्त्रिपरिषद्ले के निर्णय गर्छ, त्यही हुने हो,” उनले भने ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro