
काठमाडौं । मर्जरमा गएका आठ बिमा कम्पनीलाई नेपाल बिमा प्राधिकरणले १२ देखि ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न दिने भएको छ । प्राधिकरणले चार जीवन र चार निर्जीवन बिमा कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय गरेको हो ।
प्राधिकरणले जीवन बिमातर्फ सानिमा रिलायन्स, सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ र एसियन लाइफ इन्स्योरेन्सलाई हकप्रद निष्कासन गर्न दिने प्राधिकरणले निर्णय गरेको छ । त्यस्तै, निर्जीवन बिमातर्फ हिमालयन एभरेष्ट, युनाइटेड अजोड, सानिमा जीआईसी र नेको इन्स्योरेन्सलाई पनि हकप्रद सेयर निष्कासन गर्न दिने गरेको हो ।
यी बिमा कम्पनीहरू मर्जरमा गएका थिए । प्राधिकरणले सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय गरेको छ । यो कम्पनीको चुक्तापँुँजी तीन अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, प्रभु महालक्ष्मीलाई चुक्तापुँजी चार अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत, सूर्यज्योतिलाई चुक्तापुँजी चार अर्ब ५४ करोड ५५ लाख रुपैयाँको १० प्रतिशत र सानिमा रिलायन्स लाइफलाई चुक्तापुँजी चार अर्ब १८ करोड ४० लाख रुपैयाँको २० प्रतिशत हुन आउने हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय भएको हो । जीवन बिमा कम्पनीलाई प्राधिकरणले पाँच अर्ब रुपैयाँ चुक्तापुँजी कायम गर्न निर्देशन दिएको छ ।
निर्जीवन बिमातर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजी दुई अर्ब २३ करोड ९९ लाख रुपैयाँको १२ प्रतिशत हुन आउने रकम बराबरको हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय भएको छ । युनाइटेड अजोडलाई एक अर्ब ९० करोड ४५ लाख रुपैयाँको ३२ प्रतिशत, सानिमा जीआईसीलाई चुक्तापुँजी दुई अर्ब रुपैयाँको २५ प्रतिशत र नेको इन्स्योरेन्सलाई चुक्तापुँजी दुुई अर्ब एक करोड २३ लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने रकम बराबरको हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय प्राधिकरणले गरेको छ ।
निर्जीवन बिमा कम्पनीहरूलाई प्राधिकरणले साढे दुई अर्ब रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
प्राधिकरणले सौद्धान्तिक स्वीकृति दिएपछि बिमा कम्पनीहरू नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनका लागि प्रस्ताव लिएर जानेछन् ।