site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुन देशमा धेरै नेपाली जान्छन्, ती देशसँग व्यापार घाटा बढ्दो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्ला वर्षहरुमा नयाँ ‘ट्रेन्ड’ देखा परेको छ– जुन देशमा रोजगारी खोज्दै ठूलो संख्यामा नेपाली पुगेका छन्, तिनै देशसँग नेपालको वैदेशिक व्यापार घाटा बढ्दो छ । अर्थात् जुन देशमा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका छन् तिनै देशबाट नेपालमा ठूलो मात्रामा वस्तुहरु आयात हुन थालेका छन् । 

अझ स्पष्ट शब्दमा भन्नुपर्दा नेपालको व्यापार घाटा बढी हुने देशको अग्रसूचीमा ती देश आउन थालेका छन्, जहाँ सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा गएका छन् । 

एकछिन तथ्याङ्क हेरौं । 

भन्सार विभागका अनुसार, गत आर्थिक वर्ष २०७९/८० मा नेपालको सबैभन्दा बढी व्यापार घाटा रहेका प्रमुख १२ देशमा क्रमसः भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई), अर्जेन्टिना, मलेसिया, युक्रेन, अष्ट्रेलिया, कतार, थाइल्याण्ड, ओमान र साउदी अरब छन् ।

यीमध्ये वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली जाने राष्ट्र हुन्, मलेसिया, कतार, यूएई, साउदी अरब र ओमान ।  गत आर्थिक वर्ष सबैभन्दा बढी व्यापार घाटा हुने प्रमुख १२ राष्ट्रमध्ये पाँच वटा वैदेशिक रोजगारीका सिलसिलामा सबैभन्दा बढी नेपाली जाने राष्ट्र पर्छन् । 

आर्थिक वर्ष २०७९/८० मा मात्र यी पाँच देशसँग नेपालको व्यापार घाटा ८७ अर्ब १५ करोड ९४ लाख ५७ हजार रुपैयाँ छ । उक्त अवधिमा नेपालले ती देशबाट ८८ अर्ब ६७ करोड ४२ लाख ३९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो भने ती देशमा मात्र १ अर्ब ५१ करोड ४७ लाख ८१ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको देखिन्छ । 


गत आर्थिक वर्ष नेपालको यूएईसँग ३१ अर्ब १३ करोड १ लाख ५८ हजार रुपैयाँ, मलेसियासँग २२ अर्ब ९ करोड ४५ लाख १८ हजार रुपैयाँ, कतारसँग १३ अर्ब १९ करोड ६२ लाख २८ हजार रुपैयाँ, ओमानसँग १० अर्ब ७० करोड ५ लाख ४४ हजार रुपैयाँ र साउदीसँग १० अर्ब ३ करोड ८० लाख १० हजार रुपैयाँ व्यापार घाटा थियो ।

वैदेशिक रोजगार विभागका अनुसार, गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । उक्त अवधिमा नेपालीहरु रोजगारी खोज्दै १४४ देश पुगेका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार, गत वर्ष वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी नेपाली क्रमसः मलेसिया, कतार, यूएई, साउदी अरब, कुवेत, दक्षिण कोरिया, रोमानिया, जापान, बहराइन, क्रोएसिया, माल्टा, साइप्रस र ओमान पुगेका थिए । 

यीमध्ये यूएई, मलेसिया, कतार, ओमान र साउदी नेपालको बढी व्यापार घाटा भएका राष्ट्र हुन् । गत आर्थिक वर्ष यी पाँच देशमा मात्र ६ लाख २७ हजार ८६ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । अर्थात् वैदेशिक रोजगारीमा जानेमध्ये ८१.२९ प्रतिशत नेपाली यी पाँच देशमा मात्र गएका छन् । गत आर्थिक वर्ष यी देशसँग नेपालको कुलको ५.९९ प्रतिशत व्यापार घाटा थियो । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा २ लाख ५९ हजार ५९५, कतारमा ३३ हजार २६२, यूएईमा एक लाख १६ हजार १५९, साउदी अरबमा एक लाख १२ हजार ७७७ र ओमानमा ५ हजार २९४ जना नेपाली गएका थिए ।

अब अघिल्ला वर्षहरुको तथ्याङ्क हेरौं । 

आर्थिक वर्ष २०७५/७६ मा नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका प्रमुख १५ राष्ट्रमा वैदेशिक रोजगारीमा बढी नेपाली जाने राष्ट्रहरु यूएई र मलेसिया मात्र परेका थिए ।  उक्त वर्ष नेपालको यूएईसँग तेस्रो र मलेसियासँग १० औं ठूलो व्यापार घाटा थियो । सो वर्ष यूएई र मलेसियासँग नेपालको व्यापार घाटा ४७ अर्ब ३७ करोड ६ लाख ६१ रुपैयाँ थियो । 

आर्थिक वर्ष २०७६/७७ मा आउँदा सबैभन्दा बढी व्यापार घाटा रहेको प्रमुख १५ राष्ट्र भित्र पनि यूएई र मलेसिया मात्र थिए । यो वर्ष सबैभन्दा बढी व्यापार घाटा हुने सूचीमा चौथो नम्बरमा यूएई र आठौं नम्बरमा मलेसिया थियो ।

उक्त वर्ष यूएई र मलेसियासँग नेपालको व्यापार घाटा २८ अर्ब २१ करोड २६ लाख ३३ हजार रुपैयाँ थियो ।  आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी व्यापार घाटा रहेका प्रमुख १५ राष्ट्र भित्र यूएई, मलेसिया र साउदी अरब थिए । 

उक्त वर्ष सबैभन्दा बढी व्यापार घाटा हुने सूचीको चौथो नम्बरमा यूएई, १३औं नम्बरमा मलेसिया र १४औं नम्बरमा साउदी थिए ।  सो वर्ष यूएई, मलेसिया र साउदीसँग नेपालको व्यापार घाटा ५४ अर्ब ८५ करोड ३२ लाख ८ हजार रुपैयाँ थियो । 

भन्सार विभागको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा बढी व्यापार घाटा रहेको प्रमुख १५ राष्ट्र भित्र यूएई र मलेसिया थिए । बढी व्यापार घाटा हुने सूचीको चौथो नम्बरमा यूएई र नवौं स्थानमा मलेसिया थिए । उक्त वर्ष यूएई र मलेसियासँग नेपालको व्यापार घाटा ६४ अर्ब ३६ करोड १७ लाख ७० हजार रुपैयाँ थियो । 

गत आर्थिक वर्ष २०७९÷८० मा नेपालको सबैभन्दा बढी व्यापार घाटा हुने प्रमुख १२ राष्ट्रभित्र यूएई, मलेसिया, कतार, ओमान र साउदी अरब गरी वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली जाने पाँच राष्ट्र परेका थिए । 

सूचीमा यूएई चौथो, मलेसिया छैठौं, कतार नवौं, ओमान ११औं र साउदी १२औं नम्बरमा छन् । उक्त वर्ष यी राष्ट्रसँग व्यापार घाटा ८७ अर्ब १५ करोड ९४ लाख ५७ हजार रुपैयाँ छ । 


वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली जाने राष्ट्रको अग्रपंक्तिमा सधैं मलेसिया, कतार, यूएई, साउदी अरब, र ओमान पर्छन् ।  आर्थिक वर्ष २०७८÷७९ मा ५ लाख ३९ हजार ७४६ जना नेपाली वैदेशिक रोजगारीका क्रममा यी पाँच देश गएका थिए । 

यसभन्दा अघिल्ला दुई आर्थिक वर्ष कोरोना महामारीका कारण वैदेशिक रोजगारी लगभग ठप्प अवस्थामा थियो ।  वैदेशिक रोजगार विज्ञ तथा समाजशास्त्री डा. गणेश गुरुङ पछिल्ला यी तथ्याङकले राम्रो संकत नगर्ने बताउँछन् । 

“यो चिन्ताको विषय हो । यसले आगामी दिनमा थप समस्या ल्याउँछ,” डा. गुरुङले बाह्रखरीसँग भने, “एक त ती देशमा नेपाली युवाहरु जाँदा नेपालमा कामदारको अभाव हुने भयो । दोस्रो, नेपाली कामदर प्रयोग गरेर उनीहरुले उत्पादन बढाए र ती उत्पादन नेपाल पठाएर नेपालको व्यापार घाटा बढाए । नेपाल दोहोरो मारमा पर्ने देखिन्छ ।”

नेपालीहरु वैदेशिक रोजगारीमा जानुअघिसम्म यूएई, मलेसिया, कतार, ओमान र साउदी अरबसँग नेपालको खासै व्यापार हुने नगरेको उनी बताउँछन् ।  वैदेशिक रोजगारीमा जानेक्रम बढेपछि ती देशसँग व्यापार बढ्न थालेको उनले जनाए ।

“नेपालमाभन्दा सस्तोमा राम्रो वस्तु ती देशमा पाउन थालेपछि वैदेशिक रोजगारीमा गएकाहरु घर फर्किदा त्यस्ता वस्तु ल्याउन थाले । पछि ती देशले नेपालमा त्यस्ता वस्तुको माग रहेको बुझे र नेपाल पठाउन थाले,” उनले भने ।

वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली जाने राष्ट्रबाट नेपालमा जसरी वस्तुहरु आउँछ त्यसरी नै नेपालले ती देशमा वस्तु पठाउन सकेको छैन ।  अब सरकारले यतातिर ध्यान दिनुपर्ने धारणा समाजशास्त्री डा. गुरुङको छ । नत्र वैदेशिक रोजगारीको ‘साइड इफेक्ट’ बढ्दै जाने तर्क उनको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro