
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले दुई लाख रुपैयाँसम्मका योजना पनि संघ सरकारअन्तर्गत राखिएको बताएका छन् । शनिबार (जेठ २४) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सरकारले तीन करोड रुपैयाँभन्दा कम बजेटका आयोजना संघअन्तर्गत नराखिएको जिकिर गरिरहेको उनले उल्लेख गरे । तर, सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा दुई लाखसम्मका आयोजना रहेको पाएको उनले दाबी गरे ।
सहरी विकास मन्त्रालयको विनियोजित बजेट एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ छ । यो कुल बजेटको ६.०३ प्रतिशत हो ।
मन्त्रालयको नयाँ बजेट चालु वर्ष २०८१/८२ को तुलनामा २७.७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाख बजेट विनियोजन गरिएको थियो । बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेका पुनले बताए ।
सहरी विकास मन्त्रालय एउटैमा मात्र ३२ अर्ब रुपैयाँ चलखेल भएको देखिने उनले उल्लेख गरे । उहनले योजना आफूखुसी राखेको स्पष्ट देखिएको बताए ।
कार्यक्रममा पुनको भनाइ पढ्नोस्–
यसपटक हिजो सहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यसपटक एक खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर, उसको सिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरू रहेछन् । अनि, किन यो तीन करोडको भनेर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीलाई सोध्दा– होइन, २५ लाखभन्दा मुनिको त हालेको छैन भन्नुभयो । यी दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नु भएन । १७ हजारबाट कटाएको छैन । ससर्तमा झन् अरूअरूतिर सारेको देखिन्छ । ससर्तको रकम गत वर्षको भन्दा बढेको छ । ससर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो । तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यसपटक अलि मनपर्दी गरेको छ । एउटै सहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफूखसी राखेको देखिन्छ । न्युज एजेन्सी नेपाल