site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भ्रमणमा सकियो ४ अर्ब, तोकिएको भन्दा ७० करोड बढी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारीले स्वदेश तथा विदेश भ्रमण गर्दा तोकिएको बजेटभन्दा ७० करोड रुपैयाँ बढी खर्च गरेका छन् । गत आर्थिक वर्ष २०७९–८० मा उनीहरुले उक्त रकम खर्च गरेको पाइएको हो । 

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार, गत आर्थिक वर्ष प्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारीको अनुगमन, मूल्यांकन र भ्रमण शीर्षकमा ३ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको छ । यस्तो रकमको ठूलो अंश विदेश भ्रमणमा खर्च हुने गरेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा २ हजार ३४० जना सरकारी कर्मचारीले विदेश सयरमा गएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“गत आर्थिक वर्ष २०७९–८० मा २ अर्ब ६९ करोड रुपैयाँ भ्रमणमा र १ अर्ब १७ करोड रुपैयाँ अनुगमन तथा मूल्यांकन शीर्षकमा खर्च भएको छ,” अर्थ मन्त्रालयका प्रवक्ता शर्माले बाह्रखरीलाई जानकारी दिए । 

अर्थ मन्त्रालयका अनुसार, गत आर्थिक वर्ष अनुगमन, मूल्यांकन र भ्रमण खर्च शीर्षकमा ३ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त वर्ष विनियोजन गरिएकोभन्दा अनुगमन, मूल्यांकन र भ्रमण खर्च शिर्षकमा ७० करोड रुपैयाँ बढी खर्च भएको छ । 

Global Ime bank

अनुगमन, मूल्यांकन र भ्रमण खर्चभित्र अनुगमन तथा मूल्यांकन खर्च, भ्रमण खर्च, विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च र अन्य भ्रमण खर्च गरी चार वटा उपशिर्षक राखिएको छ । 

गत आर्थिक वर्ष अनुगमन तथा मूल्यांकनमा १ अर्ब ३९ करोड ३४ लाख र भ्रमणका लागि १ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ छ्ट्याइएको थियो ।

एकातिर देशको अर्थतन्त्र धराशायी अर्कातिर विदेश घुम्ने कर्मचारीको लर्को

गतवर्ष भ्रमणतर्फ बजेटमा व्यवस्थामा गरिएकाभन्दा ९२ करोड रुपैयाँ बढी खर्च भएको छ । यस्तै, अनुगमन तथा मूल्यांकनतर्फ बजेटमा व्यवस्था गरिएभन्दा २२ करोड रुपैयाँ कम खर्च भएको देखिन्छ । 

‘कोरोना महामारीका कारण अघिल्ला वर्षहरुमा भ्रमणहरु कम भएका थिए र खर्च पनि कम भएको थियो । विदेशमा कार्यक्रमहरु हुन थालेका छन् र भ्रमणहरु बढेका छन् । यसैकारण गत आर्थिक वर्ष बजेटमा व्यवस्था गरिएभन्दा बढी खर्च भ्रमणमा भएको देखिन्छ,’ अर्थ मन्त्रालयका प्रवक्ता शर्माको तर्क छ । 

गत आर्थिक वर्षमात्र होइन अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा पनि बजेटमा व्यवस्था गरिएभन्दा बढी खर्च भ्रमणका नाममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारीले गरेका थिए । 

अघिल्लो आर्थिक वर्ष अनुगमन, मूल्यांकन र भ्रमणका लागि ३ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त वर्ष अनुगमन, मूल्यांकन र भ्रमणमा ३ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७८–७९ मा बजेटमा ब्यवस्था गरिएभन्दा ९ करोड रुपैयाँ बढी भ्रमणमा खर्च भएको थियो ।  

चालु आर्थिक वर्ष २०८०–८१ को लागि सरकारले अनुगमन, मूल्यांकन र भ्रमण शीर्षकमा २ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

अनुगमन, मूल्यांकन र भ्रमण शीर्षकमा राखिएको रकम सबैभन्दा बढी विदेश भ्रमणमा खर्च हुने गर्छ ।

वैदेशिक सहयोगबाट प्राप्त रकम पनि भ्रमणमा खर्च  

सरकारी कर्मचारीहरुले वैदेशिक सहयोगबाट प्राप्त रकमबाट पनि स्वदेश भित्र तथा विदेश भ्रमण गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७९–८० मा मात्र वैदेशिक सहयोग मार्फत आएको २३ करोड ७२ लाख रुपैयाँ अनुगमन, मूल्यांकन र भ्रमण शिर्षकमा खर्च भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक सहयोगबाट प्राप्त रकममध्ये १९ करोड १७ लाख रुपैयाँ कर्मचारीले अनुगमन, मूल्यांकन र भ्रमणमा खर्च गरेका थिए । चालु आर्थिक वर्षको लागि पनि वैदेशिक सहयोगबाट आउने रकममध्ये १८ करोड १ लाख रुपैयाँ अनुगमन, मूल्यांकन र भ्रमण शिर्षकमा राखिएको छ। 

कस्ले कति खर्च गरे 

२०८० वैशाख ४ देखि १५ सम्म संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको ‘यूएन–पीएफ ११’ कार्यक्रममा सहभागी भएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र एक जना पदाधिकारीको भ्रमण खर्च १९ लाख ४५ हजार रुपैयाँ रहेको थियो । सोही कार्यक्रममा सहभागी भएका आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले ५ लाख ५२ हजार ४८८ रुपैयाँ खर्च गरेका थिए । 

अर्थ मन्त्रालयले २०८० जेठ महिनामा भ्रमण खर्चको लागि भन्दै सर्वोच्च अदालतलाई १५ लाख रुपैयाँ रकमान्तर निकासा गरेको थियो । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव धनराज ज्ञवालीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल २०७९ फागुन ८ देखि १९ गतेसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा आयोजना भएको बीबीएनजे अन्तर्गत आईजीसी–भीमा सहभागी हुँदा २४ लाख ५४ हजार ७५१ रुपैयाँ खर्च भएको थियो । 

अर्थ मन्त्रालयका अनुसार, क्यानडाको भ्यानकुवरमा २०८० असार २० गतेदेखि साउन ७ गतेसम्म आयोजित ‘एपीजी एनुअल मिटिङ एण्ड टेक्निकल असिस्टेन्स एण्ड ट्रेनिङ फोरम’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको एक टोलीले २१ लाख रुपैयाँ खर्च गरेको थियो । 

क्यानडाको भ्यानकुवरमा आयोजित सोही कार्यक्रममा सहभागी भएको महान्यायाधिवक्ताको कार्यालयको टोलीले १४ लाख रुपैयाँ खर्च गरेको थियो । सोही कार्यक्रममा सहभागी भएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले २१ लाख रुपैयाँ, प्रहरी प्रधान कार्यालयको टोलीले १२ लाख रुपैयाँ र फैसला कार्यन्वयन निर्देशनालयको टोलीले ६ लाख रुपैयाँ खर्च गरेको थियो ।

क्यानडाको भ्यानकुवरमा आयोजित सोही कार्यक्रममा तत्कालीन सचिव धनराज ज्ञवालीसहित चार जनाको टोली सहभागी हुँदा ३१ लाख रुपैयाँ खर्च भएको थियो । 

क्यानडामा आयोजित एउटै कार्यक्रममा सहभागी हुन गएका ६ वटा सरकारी निकायका कर्मचारीले १ करोड ५ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्दा नेपाली प्रतिनिधिमण्डलको खर्च ९५ लाख २७ हजार ३३२ रुपैयाँ रहेको थियो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्दा २ लाख ६४ हजार ८ हजार रुपैयाँ खर्च भएको थियो ।

अर्थ मन्त्रालयका अनुसार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत मार्च ११ देखि १५ सम्म बहराइन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत अप्रिल १९ देखि २४ सम्म रुस, दिगो विकास तथा सु्शासन समितिका सभापति प्रकाश पन्थले गत मार्च २७ देखि ३० सम्म श्रीलंका र गत प्रेब्रुअरी १६ देखि २२ सम्म यूएईको भ्रमण गर्दा ८६ लाख ४ हजार ४९ रुपैयाँ खर्च गरेका थिए । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधिमण्डलले रुवान्डा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डलले पाकिस्तानको भ्रमण गर्दा ७१ लाख ३४ हजार १२७ रुपैयाँ खर्च भएको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव सुमनराज अर्यालले राष्ट्रसंघीय महिला स्थितिसम्बन्धी ६७ औं सम्मेलनमा सहभागी हुँदा ६ लाख ९४ हजार रुपैयाँ खर्च भएको थियो । 

भारतको निर्वाचन आयोगले २०७९ कात्तिक १४ देखि १६ गतेसम्म आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन जाँदा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र उपसचिव कमल भट्टराईले १ लाख ४ हजार खर्च गरेका थिए ।

यस्तै, राष्ट्रिय योजना आयोगको एक टोली इकोसेकको कार्यक्रममा सहभागी हुँदा १९ लाख ८८ हजार १२४ रुपैयाँ खर्च गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको टोली मलेसियामा आयोजित एक कार्यक्रममा सहभागी हुँदा २६ लाख ६८ हजार रुपैयाँ खर्च भएको अर्थले जनाएको छ । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानको भ्रमण गर्दा ७ लाख ४५ हजार ५९ रुपैयाँ खर्च भएको थियो । तत्कालीन परराष्ट्र मन्त्री डा. नारायण खड्काले चीनको भ्रमण गर्दा १ लाख ३४ हजार ६८७ रुपैयाँ खर्च भएको थियो । 
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक टोलीले २०७९ भदौ २० देखि २४ गतेसम्म भुटानको भ्रमण गर्दा ८ लाख ३१ हजार ८२ रुपैयाँ खर्च गरेका थिए ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालको नेतृत्वमा एक टोलीले गत सेप्टेम्बर २६ देखि २८ सम्म भारतको भ्रमण गर्दा ३ लाख ८५ हजार ३९९ रुपैयाँ खर्च भएको थियो । सापकोटाको नेतृत्वमा राष्ट्रसंघको एक कार्यक्रममा सहभागी हुन न्युयोर्क गएको टोलीले १७ लाख ९९ हजार २६८ रुपैयाँ खर्च गरेको थियो । 

गत नोभेम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको तर्फबाट राष्ट्रसंघको कार्यक्रममा सचिव धनराज ज्ञवाली सहभागी हुन जाँदा ७ लाख ७० हजार ७५५ रुपैयाँ खर्च भएको थियो ।  संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा भाग लिन न्युयोर्क गएको नेपाली प्रतिनिधिमण्डलको खर्च २८ लाख ९६ हजार रुपैयाँ रहेको थियो । 

प्रतिनिधि सभाका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले चीनको भ्रमण गर्दा ४१ लाख १३ हजार रुपैयाँ खर्च गरेका थिए ।  तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ कात्तिक २१ देखि २८ गतेसम्म आइसल्याण्डको भ्रमण गर्दा १ करोड ६२ लाख ५ हजार ३६४ रुपैयाँ खर्च भएको थियो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले कम्बोडियाको गत नोभेम्बरमा भ्रमण गर्दा ३४ लाख २३ हजार २५ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव धनराज ज्ञवालीले गत नोभेम्बरमा भारतको भ्रमण गर्दा १ लाख २६ हजार ७५६ रुपैयाँ खर्च भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय