काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफूहरू सधैँ भ्रष्टाचारको विरुद्धमा रहेको बताएका छन् । आजदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले सरकारलाई पनि भ्रष्टाचारविरोधी अभियानलाई निरन्तर अगाडि बढाउन आग्रह गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष नेपालले पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको बताएका छन् । उनले एकीकृत समाजवादीको महत्त्व दिन प्रतिदिन बढिरहेको पनि दाबी गरे ।
"नेकपा (एकीकृत समाजवादी) समयको माग हो । यसको महत्त्व दिनदिनै बढिरहेको छ । यो नै कम्युनिस्ट विचारधाराभित्रको उत्तम विकल्प हो । पार्टी सधैँ राष्ट्रियताको रक्षा र सम्बर्धन गर्न जनजीविकाका लागि संघर्ष गर्न समाजवादको धेय पूरा गर्न र जनतालाई सुशासन प्रदान गर्न लागि नै रहने छ," नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने ।
आज पहिलो दिन २६ जनाले धारणा राखेका छन् । बैठक भोलि ११ बजे फेरि बस्ने छ ।